एकदेव आले स्मृति प्रतिष्ठानको अध्यक्षमा भण्डारी

मेचीकाली संवाददाता

१७ कार्तिक २०८२, आईतवार
59 shares

बुटवल। एकदेव आले स्मृति प्रतिष्ठान नेपालको दोस्रो अधिवेशनबाट लोकनाथ भण्डारीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । यसअघि भण्डारी वरिष्ठ उपाध्यक्ष थिए । यस्तै नयाँ समितिको वरिष्ठ उपाध्यक्ष मोहनलाल पाण्डे, उपाध्यक्षहरू खड्कबहादुर क्षेत्री, सीता पौडेल र खड्कबहादुर कौशल, महासचिव दिनेश भुषाल, सचिवहरू लोकनाथ पाण्डे, लिलाधर खनाल र खगेश्वर काफ्ले, तथा कोषाध्यक्ष नारायण पौडेल रहेका छन् ।

त्यस्तै, सदस्यहरूमा बिमला भट्टराई, सरस्वती घिमिरे कणेल, डोलबहादुर कुँवर, डोलबहादुर रेश्मी, गोपाल रेश्मी, भिमप्रसाद बस्याल, रिषिराम शर्मा, भोजबहादुर खड्का, खगेन्द्र पौडेल, बालुराम भण्डारी, भिमलाल घिमिरे, प्रकाश पौडेल र ईश्वरी भण्डारी रहेका छन् । लेखा समितिको प्रमुखमा रवि तिमिल्सिना, सदस्यहरूमा कृष्ण पालुवा र दिलु शाही केसी चयन भएका छन् । साथै, नेत्र पोख्रेलको नेतृत्वमा सल्लाहकार समिति गठन गरिएको छ, जसमा प्रतिष्ठान र प्रवासी आन्दोलनमा सक्रिय वरिष्ठ व्यक्तिहरू समावेश गरिएका छन् ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गुरुप्रसाद शर्माले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सो अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपाल, दमौली–तनहुँका संरक्षक प्रतापलाल श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्लै लुम्बिनी प्रदेशका भूमि तथा सहकारी मन्त्री दिनेश पन्थीले भारतमा रहँदा एकदेव आलेले गरेका अधिकार प्राप्तिका आन्दोलनको स्मरण गर्दै प्रवासी नेपालीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रवासी नेपालीहरूको आन्दोलनले नेपालमा भएका राजनीतिक परिवर्तनमा समेत महत्वपूर्ण योगदान पु¥याएको बताए ।
त्यसैगरी, माओवादी नेता बामदेव क्षेत्रीले भारतमा रहेका नेपालीहरूलाई विभिन्न बहानामा दुःख दिने प्रवृत्ति अझै कायम रहेको बताउँदै त्यसको विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सल्लाहकार लक्ष्मण रायमाझी, एमाले नेता कुमार थापा, विष्णुहरि शर्मासहित विष्णुभक्त सिग्देल, एमाले नेता गिरधारी न्यौपाने र पीएल श्रेष्ठलगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।

वक्ताहरूले तनहुँको माडीमा जन्मिएका स्व.एकदेव आलेले भारतमा रहँदै नेपालका तर्फबाट भारतीय स्वतन्त्रता संग्राम र राणा शासनविरुद्ध संघर्ष गर्नुका साथै पाल्पाको जेल ब्रेक र किसान आन्दोलनको नेतृत्व गरेका उल्लेख गर्दै उनले ‘जसको जोत उसकै भोग’ जस्ता जनपक्षीय नारा दिएर आम जनताको पक्षमा ऐतिहासिक योगदान गरेको स्मरण गरेका थिए । वरिष्ठ उपाध्यक्ष लोकनाथ भण्डारीको स्वागत तथा महासचिव दिनेश भुषालको सञ्चालन मा कार्यक्रम भएको थियो ।