बुटवल, कार्तिक १७ । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तालाइ जानकारी गराउने उद्देश्यसहित बुटवलमा वृहत शिक्षामूलक अभिमुखीकरण शुक्रबार सम्म भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा आयोजित अभिमूखीकरणमा रुपन्देहीसहित विभिन्न जिल्लाका विद्यालयबाट सहभागी युवा विद्यार्थीहरुलाई राष्ट्रियता, भौगोलिक अखण्डता, वीर पूर्खाहरुको योगदान र युवाहरुको भूमिका बारेमा अभिमुखीकरण गरिएको हो ।
सुस्ता बचाउ युवा अभियानको आयोजनामा गरिएको अभिमुखीकरणमा सीमाविद बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी राष्ट्रिय रक्षाविद डा. पूर्णबहादुर सिलवालले विद्यार्थीहरुलाई नेपालको ईतिहास, भौगोलिक तथा राजनीतिक अवस्था र युवाहरुको भूमिका बारे जानकारी गराएका थिए । यसैगरी नेपाली भूमि सुस्ताको ईतिहास, वर्तमान र त्यहाँको जनजीवनसँग सम्बन्धित पत्रकार स्वस्तिक श्रेष्ठले तयार पारेको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो । रुपन्देहीसहित नवलपरासी, कपिलवस्तु र पाल्पाका युवा विद्यार्थीहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी १ हजार बढीको सहभागितामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले राष्ट्रियतासँग सम्बन्धित नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । यसैगरी चर्चित राष्ट्रिय कलाकार तथा सर्जक बीबी अनुरागीले राष्ट्रियतासँग सम्बन्धित साँगेतिक प्रस्तुती दिएका थिए । सामाज विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमको अध्यक्षता तथा पत्रकार शरण कर्माचार्यको सञ्चालनमा अभिमुखीकरण सम्पन्न भएको थियो ।
