फागुन ९ गतेदेखि वालिङ महोत्सव हुने

मेचीकाली संवाददाता

१० माघ २०८१, बिहीबार
111 shares

मुक्ति न्यौपाने

वालिङ । स्याङ्जाको वालिङमा चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म प्रथम वालिङ सिटि महोत्सव–२०८१ आयोजना गर्ने भएको छ । कमर्सले पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने (किरण) ले ‘सम्पन्न समाज समृद्ध वालिङ’ भन्ने मूल उद्देश्यका साथ वालिङ खेलमैदानमा महोत्सवको आयोजना गरिने बताए ।

महोत्सवले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने, स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवद्र्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षा रहेको संयोजक न्यौपानेले बताए ।

महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवद्र्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराईने बताए । वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने जमर्को गर्ने संस्थाका महासचिव गणेश राउतले जानकारी दिए । महोत्सवमा कृषि प्रदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन लगायतका २ सय स्टलहरु रहनेछन् ।

महोत्सवमा ६६ लाख आम्दानी, ६० लाख खर्च हुने र ६ लाख बचत गरिने अनुमान गरिएको छ । स्थानीय व्यापारीलाई प्रोत्साहन गर्नका लागी निश्चित प्रतिशत छुटमा यहीँका व्यापारी व्यवसायीहरुलाई महोत्सवमा सहभागि बनाईने चेम्बरले जनाएको छ ।

वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पुष्पा अर्यालले स्वागत र महासचिव गणेश राउतले संचालन गरेका थिए ।