बढ्दो सवारी दुर्घटना: सबैभन्दा धेरै मोटरसाइकल

मेचीकाली संवाददाता

१० माघ २०८१, बिहीबार
25 shares

–७८७ दुर्घटनामा २६१ जनाको मृत्यु, १३४८ घाइते
–रुपन्देहीमा मात्रै १४३ दुर्घटनामा ५३ मृत्यु

अमृत गिरी

बुटवल । सवारी दुर्घटना र त्यसबाट हुने क्षतिको दर दिनदिनै बढ्दै गएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चिन्ता व्यक्त गर्दै नागरिक समुदायसंग सहकार्यको आग्रह गरेको छ । दुर्घटना न्यूनीकरण र अपराध नियन्त्रणमा विशेष सुरक्षा रणनीतिसहितको अभियान सञ्चालन गरेको प्रहरीले थप प्रभावकारी कार्यका लागि नागरिक समुदायसंग यस्तो आग्रह गरेको हो ।
आव ०८१÷८२ को पुस मसान्तसम्म लुम्बिनी प्रदेशमा ७८७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनाहरुमा संलग्न सवारी साधनको संख्या भने १३३७ रहेको छ । जसमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । मोटरसाइकल मात्रै यो अवधिमा सबैभन्दा धेरै ७३७ वटा दुर्घटना भएका छन् ।

ती दुर्घटनाहरुमा २६१ जनाको मृत्यु भएको छ । जसमा १३४८ जना घाइते भएका छन् । जिल्लागत दुर्घटनामा सबैभन्दा धेरै रुपन्देहीमा रहेको छ । रुपन्देहीमा मात्रै यो अवधिमा १४३ दुर्घटनामा ५३ जनाको मृत्यु भइसकेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा कम रुकुमपूर्वमा ३ वटा दुर्घटना भए जसमा २ जनाको मृत्यु र एकजना घाइते भएका छन् । प्रहरीले प्रदेशका सबै जिल्लाको जिल्लागत विवरण सार्वजनिक गरेको छ ।

आव ०८१/८२ को दाङमा १४० दुर्घटनामा ४८ मृत्यु, १९५ जना घाइते भएका छन । यस्तै कपिलवस्तुमा १७० दुर्घटनामा ३३ जनाको मृत्यु र २०७ जना घाइते भए । बाँकेमा १२५ दुर्घटनामा ४० जनाको मृत्यु र २०९ जना घाइते, नवलपरासी (बसुप) मा १०४ दुर्घटनामा ३० जनाको मृत्यु १४६ घाइते, बर्दियामा ९५ दुर्घटनामा २० जनाको मृत्यु, १०८ घाइते भए । पहाडी जिल्ला पाल्पामा यो अवधिमा २६ दुर्घटनामा ११ जनाको मृत्यु, २५जना घाइते, गुल्मीमा १६ दुर्घटनामा ५ जनाको मृत्यु ७४ घाइते, अर्घाखाँची ११ दुर्घटनामा ६ जनाको मृत्यु, ५७ घाइते भए । यसैगरी रोल्पामा २२ दुर्घटनामा ८ जनाको मृत्यु र २३ जना घाइते, प्युठानमा २६ दुर्घटनामा ५ जनाको मृत्यु ४८ जना घाइते भए । सबैभन्दा कम रुकुमपूर्व ३ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र ८ जना घाइते भएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरि प्रदेशको समग्र सुरक्षा व्यवस्था, सवारी दुर्घटनाको तथ्यांक र अपराध नियन्त्रण तथा दुर्घटना न्यूनीकरणमा प्रहरीले गरेका अपरेशनको फेहरिस्त सार्वजनिक गरेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी दानबहादुर कार्की, प्रहरी तालिम केन्द्रका समावेदक माधवप्रसाद श्रेष्ठलगायतका प्रहरी अधिकारँीको उपस्थितिमा रुपन्देहीका सञ्चारकर्मीहरु र अन्य जिल्लाका सञ्चारकर्मीहरुसंंग भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरि फेहरिस्त सार्वजनिक गरिएको थियो ।

गएको पुस महिनामा मात्रै ३६५ दुर्घटना भएको जम्मा ५७ जनाको मृत्यु र ५९२ जना घाइते भएको प्रहरीको तथ्यांकमा छ । यो अवधिमा भने प्रदेशमा सबैभन्दा धेरै दुर्घटना दाङमा भएका छन् । जसमा ११ जनाको मृत्यु भएको छ । पुस महिनामा मात्रै ३१७ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यो समग्र दुर्घटनाको झण्डै ६१ प्रतिशत हो । ०८१/८२ को पुस मसान्तसम्म भएका १२३७ दुर्घटनामध्ये ७३७ दुर्घटना त मोटरसाइकल मात्रै रहेका छन् । दुर्घटनामा मृत्यु भएकामा अधिकांश मोटरसाइकलका रहेको प्रहरीको तथ्यांकमा छ ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कार्कीको नेतृत्वमा प्रदेशका सबै जिल्ला र मातहका प्रहरी कार्यालयमा रहेका अधिकारीहरुलाई विशेष तालिम दिएर अभियानमा खटाइएको छ ।
दिनप्रतिदिन दुर्घटनाको संख्या र त्यसले निम्त्याउने मानवीय तथा भौतिक क्षतिका कारण प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा रणनीतिसहितको अभियान सञ्चालन गरेको डिआइजी कार्कीले बताए । उनले लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको उच्च दरले सबैको ध्यान आकर्षित गरेको उल्लेख गरे ।

मातहतका प्रहरी अधिकारीहरूलाई विशेष तालिम प्रदान गरिएको, मुख्य सडक र घना ट्राफिक क्षेत्रहरूमा नियमित चेकजाँच र निगरानी गरिएको, स्थानीय बासिन्दा, विद्यार्थी र सवारी चालकहरूलाई लक्षित सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सार्वजनिक यातायातका सवारीमा ‘चालकसँग एक मिनेट र यात्रुसंग दुई मिनेट’ को विशेष अभियान पनि सुरु गरेको बताएको छ । चालको स्वास्थ्य अवस्था, मदिरा र लागुपदार्थ सेवन गरे÷नगरेको अवस्था र लामो दुरीमा दुई जना चालक भए नभएको र यात्रुहरुका संकास्पद गतिविधिबारे जानकारी लिनेगरि सोधपुछ गर्ने र यात्रुसंग समग्र यात्राको सुरक्षाका बारेमा जानकारी लिनेगरी अभियान चलाइएको हो ।

प्रहरीले अभियानलाई सफल बनाउन सबै नागरिकको सहयोग अत्यावश्यक रहेको बताएको छ । सजगता, सुरक्षा र जिम्मेवारीबोधको भावना विकास गर्दै नागरिकसंग हातेमालो गरेर अभियान सफल बनाउने ध्येय रहेको प्रहरीले बताएको छ । तीव्र गतिमा सवारी चलाउनु, ट्राफिक नियमको उल्लंघन गर्नु, अपर्याप्त सवारी चालक तालिम, सडक संरचनाको कमी र राजमार्गको अतिक्रमणका कारण दुर्घटनाको दर बढेको प्रहरीको आँकलन छ ।

प्रदेश प्रहरीले अगाडि सारेका केही योजना
सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरणका लागि ‘थ्री इ’ (इन्जीनीयरिङ, इजुकेशन र इम्फोर्समेन्ट) प्रविधि, शिक्षा र प्रवद्र्धनको नीति लिइएको प्रहरीले जनाएको छ । सवारी साधनको इन्जिनको अवस्था, हालको अवस्थालगायतलाई विशेष चेकजाँच गरिने भएको छ । ‘सुरक्षित सडक, अनुशासित सडक प्रयोगकर्ता’ अभियान, प्रविधि एवं प्रमाणमुखी अनुसन्धानमा जोड, प्रहरी कर्मचारीको ब्यावसायिकता, जवाफदेहिता र आन्तरिक शुद्धिकरणमा जोड र सिमावर्ती अपराध नियन्त्रणमा विशेष जोड दिएर अभियान केन्द्रित गरिएको डीआइजी कार्कीले जानकारी दिए ।

अपराध नियन्त्रण गर्न ‘ग्रामीण गस्ती गाईड’ कार्ययोजना तयार गरी सबै मातहतहरुलाई पठाइएको र दैनिक गस्ती परिणाम आउने गरी प्रतिवेदनको व्यवस्था गरिएको साथै दैनिक अभिलेखीकरण र अनुगमन गर्ने गरिएको बताइएको छ । प्रहरीले आत्महत्या न्यूनीकरण कार्ययोजना–२०८१, विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना–२०८१, लैंगिक हिंसासम्बन्धी १६ दिने कार्ययोजना, अपराध न्यूनीकरण कार्ययोजना–२०८१, कारागार सुरक्षा तथा हिरासत व्यवस्थापन कार्ययोजना–२०८१, जघन्य, संगठित प्रकृतिका अपराध अनुसन्धान कार्ययोजना–२०८१, सिमावर्ती अपराध, चोरी निकासी पैठारी नियन्त्रणसम्बन्धी कार्ययोजना–२०८१ मार्फत् सुरक्षा प्रबन्धका अभियान तीब्र बनाएको बताएको छ ।