स्वस्थ जीवनशैलीका लागि ‘फिजियोथेरापी’

मेचीकाली संवाददाता

११ माघ २०८१, शुक्रबार
59 shares

टेकराज पन्थी

मानव शरीरका नशा, मांसपेसी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार आदि विभिन्न अंग तथा प्रणालीहरुमा आउने समस्यालाई आधुनिक विद्युतीय उपकरण, शारीरिक व्यायाम, जीवनशैली सुधार आदिको प्रयोग गरीबिना असर स्वस्थ्य जीवनशैली वा कार्यशैलीमा फर्काउने, जीवनस्तरमा सुधार ल्याउने कार्यलाई फिजियोथेरापी वा भौतिक चिकित्सा भनिन्छ । यसले समुदायमा स्वस्थ्य शारीरिक पुनःस्थापना गराउने कार्य गर्दछ । औषधीको प्रयोगबिना विभिन्न तरिकाबाट गरिने थेरापीलाई मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने वा पीडा कम गर्न सघाउने उपचार फिजियोथेरापी विधि हो । फिजियोथेरापी विधिबाट मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पुरानै जीवनशैलीमा ल्याउन मद्दत गर्दछ । कतिपय अवस्थामा एउटा रोगको कारणले शरीरका विभिन्न अंगमा असर पारिरहेको हुन्छ । यही असरलाई औषधीको प्रयोगविना रोग निदान गर्ने वैज्ञानिक आधुनिक चिकित्सा पद्धति हो ।

काम गर्ने तरिका नमिलेर मासंपेसी कमजोर भएकोलाई थेरापी विधिबाट उपचार गर्ने, उमेर बढ्दै जादा हड्डी कमजोर भएर हिँडडुल गर्न कठिन भएकाहरूको उपचार, नशा च्यापिएर शारीरिक असर परेकाहरूको थेरापी, क्याल्सियमको कमीका कारण हड्डी बांगिएको, हड्डी कमजोर भएका बिरामीका लागि थेरापी विधि अपनाएर उपचार गर्ने विधि नै थेरापी हो । उमेर, अवस्था र रोगको प्रकृतिअनुसार विभिन्न प्रकारका थेरापीहरू हुन्छन् । हाडजोर्नीसम्बन्धी अर्थोपेडिक फिजियोथेरापी, नशासम्बन्धी न्युरो फिजियोथेरापी, मुटुसँग सम्बन्धित कार्डियो एन्ड पल्मोनरी फिजियोथेरापी जस्ता भौतिक चिकित्सा विज्ञान पद्धतिद्वारा गरिने विभिन्न प्रकारका उपचारलाई फिजियोथेरापी विधि वा उपचार भनिन्छ ।

औषधीको प्रयोग नगरी शरीरका जोर्नीहरूलाई चिसो–तातोको प्रयोग गरेर, मांसपेसीका तन्तुलाई चलाएर उपचार हुन्छ । फिजियोथेरापीले हड्डी खिइएको दुखाइ कम गर्न, कम्मरको दुखाई कम गर्न, विभिन्न भागको मसल टाइट भएर दुखाई हुँदाको समस्याबाट मुक्त हुन र खुट्टा तथा हातका लिगामेन्टका समस्याबाट बिरामी भई समस्यामा परेकाहरूका लागि समाधानका गर्न फिजियोथेरापीबाट उपचार गर्दा शरीरलाई चुस्त दुरूस्त राख्न मद्दत पुराउँदछ । मानिसको ढाड, कम्मर, गर्दन दुख्ने, घुडा दुखेर तलमाथि गर्न समास्या परेको, नशा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बांगो हुनु, प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीका समस्या हुनु, मांसपेसी र श्वासप्रश्वाससम्बन्धी अप्ठ्यारो हुनु, स्त्रीरोग तथा बालबालिकाको ढिलो शारीरिक विकास हुनु, बाथ रोगले असर गरेका, मुखको हड्डी नचल्नु जस्ता विभिन्न समस्याहरूलाई औषधीको प्रयोगविना व्यायाम तथा विद्युतीय उपकरणका माध्यमबाट फिजियोथेरापी गरी उपचार हुने गर्दछ ।

कुनै रोगको लागि औषधी खाएर उपचार गर्दा औषधीको साइडइफेक्ट (नकारात्मक असर) ले शरीरको अन्य अंगलाई असर गरेको पाइन्छ । जसले गर्दा मानिसको जीवनशैलीमा नकारात्मक असर परेको हुन्छ । तर फिजियोथेरापीमा औषधीको प्रयोग नगरी उपचार हुने हुँदा यसले मानिसमा त्यस्ता असर देखिँदैन र असर कम गरी सक्रिय जीवनशैलीमा फर्काउन फिजियोथेरापीले मद्दत गर्दछ । फिजियोथेरापीले मानसिक स्वास्थ्यलाई राम्रो गर्दछ । फिजियो गर्नाले खुसी, आनन्द र स्वस्थ्य महसुस गराउँछ । फिजियोथेरापीले शरीरका अंगहरू मजबुत बनाउँछ । हृदयको चाल र फोक्सोको क्षमता अभिवृद्धि गर्दछ । शारीरिक कसरत गर्दा मस्तिस्कमा आराम दिलाउछ र नकारात्मक विचारलाई हटाउँछ । बिना औषधीको प्रयोगले नै स्वास्थ्य समस्याबाट मुक्ति मिल्छ । रोगसँग लड्ने क्षमता बढाइ सरुवा रोगको जोखिम घटाउनमा मद्दत पनि गर्दछ । धेरै औषधी खाँदा पनि निको नभएको कुनै रोगलाई फिजियोथेरापीका माध्यमबाट उपचार हुने विशेषज्ञहरूको भनाइ रहेको छ । त्यतिमात्र होइन मानसिक स्वास्थ्यमा सुधार र आत्मबलमा वृद्धि ल्याई सधैँ फुर्तिलो बनाउछ ।

हाम्रो शरीरमा लागेका कतिपय रोग धेरै औषधी खाँदा पनि निको नहुने हुन्छन् । कुनै रोगलाई औषधीभन्दा पनि व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । औषधी नखाई व्यायाम गरेर, हातले गर्ने उपचार गरेर, पानीमा गरिने व्यायाम वा विद्युतीय उपकरणको माध्यमबाट पनि उपचार गर्न सकिन्छ । आधुनिक स्वास्थ्य विज्ञानमा औषधी सेवन र विभिन्न खालका शल्यक्रियाबाट बिरामीलाई उपचार गरिएको अवस्थामा बिना औषधी सेवन र शल्यक्रियाबिना नै यस्ता विभिन्न वैकल्पिक विधि अपनाएर बिरामीको उपचार गर्ने पद्धति नै फिजियोथेरापी हो । हरेक वर्षको सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस विभिन्न कार्यक्रम गरेर विश्वभर मनाइन्छ ।

प्रशिक्षित फिजियोथेरापिस्टद्वारा व्यायामको माध्यमबाट शरीरको मांसपेशीहरुको सही अनुपातमा सक्रिय गर्ने विधा नै भौतिक चिकित्सा विधि अर्थात् फिजियोथेरापी हो । त्यसैले हामी सबैले फिजियोथेरापीका माध्यमबाट स्वस्थ्य, निरोगी, शारीरिक पुनःस्थापन गर्न एवं शारीरिक विभिन्न समस्या आउन नदिन सजग रहनका लागि फिजियोथेरापी आवश्यक रहेको छ । बिरामीको शारीरिक क्षमता अभिवृद्धि गराउन र अपाङ्गता वा अशक्तता कम गरी स्वतन्त्र कार्यशैलीमा ल्याउन सकिने एकमात्र विधि फिजियोथेरापी हो । त्यसैले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट पनि आफ्ना बार्षिक कार्यक्रममा फिजियोथेरापीलाई प्राथमिकताका साथ समावेश गरी सवैलाई बिना औषधीको प्रयोगले नै स्वास्थ्य समस्याबाट मुक्ति दिलाउन सकेमा स्वस्थ्य समाजका माध्यमबाट आर्थिक सामाजिक रूपान्तरण गर्न सकिने विश्वास गर्न सकिन्छ । फिजियोथेरापीको महत्वलाई विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार गरी समाज रूपान्तरण गर्नु जरूरी पनि रहेको छ । विशेषज्ञ थेरापिष्टहरूबाट पनि समाजमा सहि ढंगले यसको प्रयोग र समाजमा थप प्रचार प्रसार हुन सकेमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन सकिनेमा विश्वास गर्न सकिन्छ । (नोटः अध्ययन, अनुभव र विशेषज्ञहरूको विचारका आधारमा यो लेख तयार गरिएको हो ।)