

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा मंगलबारदेखि खेलकुद सप्ताह सुरु भएको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले ‘गार्गी स्पोर्टस् मिट’ आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

खेलकुद सप्ताहको बुटवल उपमहानगरपालिका यूवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप शाखा प्रमुख कोपिला ज्ञवालीले उद्घाटन गगर्दै उनले विद्यार्थीहरूको समग्र विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहने बताइन् । खेलकुदले विद्यार्थीहरूमा अनुशासन र सृजनशीलताको विकास गर्ने बताउँदै उनले शैक्षिक उत्कृष्टताको साथै अतिरिक्त क्रियाकलापमा पनि गार्गी एकेडेमीले देखाएको सक्रियताको प्रशंसा व्यक्त गरिन । विद्यार्थीहरुको प्रतिभा प्रस्फूटन तथा विकासका लागि उपमहानगरपालिकाले हरेक वर्ष विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उनले बताइन् । समग्र खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरले लगानी बढाउँदै गएको उनको भनाई थियो ।

उद्घाटन सत्रमा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थीको समग्र क्षेत्रको विकासको लागि खेलकूद सप्ताह आयोजना गरिएको बताए । उनले विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गरेको स्मरण गर्दै खेलकुद कार्यक्रमले प्रदेश तथा राष्ट्रिय स्तरमा हुने प्रदेश तथा राष्ट्रिय स्तरका खेलकुदका कार्यक्रममा सहभागी हुन कोशेढुंगा सावित हुने दावी गरे । विभिन्न प्रतियोगिताहरुमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरूले सहभागिता जनाउने बताउँदै प्राचार्य अधिकारीले बिभिन्न बिधामा उत्कृष्ट हुने ८ सय बिद्यार्थीहरुलाई मेडल प्रदान गरिने जानकारी दिए ।

विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले विद्यालयले खेलकुद अध्ययन सँगसँगै खेलकुद र अन्य बिधालाई समेत प्राथमिकतामा राखेर आफ्नो योजना अघि बढाएको बताए । अभिभावक, शिक्षक र कर्मचारीको मेहेनतले विद्यालयले सफलता हासिल गरेको उनले बताए । कार्यक्रममा विद्यालयका सन्चालकद्धय जीवन अधिकारी र लोकराज शर्मा, निवर्तमान अध्यक्ष रणबहादुर थापा, सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक न्यृत्य प्रस्तुत गरेका थिए ।

खेल सप्ताहको पहिलो दिन तहगत रुपमा बेलुन ब्रस्ट, कबड्डी, टेक्वान्दो, भलिबल लगायतका प्रतियोगिताहरु सम्पन्न भएको विद्यालयका इसिए इन्चार्ज भीमबहादुर चौधरीले जानकारी दिए । खेल सप्ताहमा इनआउट, ज्याबलिङ थ्रो, ट्रफी बाइट, म्युजिकल चियर, क्रिकेट, सर्ट फुट, कराते, टेवल टेनिस लगायत एथलेटिक्स बिभागका सम्पूर्ण खेलहरु आयोजना हुने विद्यालयले जनाएको छ । यस क्षेत्रमा छोटो समयमै उत्कृष्ट नतिजा दिएर अभिभावक र विद्यार्थीको रोजाइँमा परेको विद्यालयमा २ हजार २०० विद्यार्थी अध्ययनरत छन् । कार्यक्रमको सञ्चालन विद्यालयका मावि संयोजक समिर अधिकारीले गरेका थिए ।
