मायादेवीमा एच.पि.भि. खोप सम्बन्धि अभिमुखिकरण

मेचीकाली संवाददाता

१५ माघ २०८१, मंगलवार
69 shares


मायादेवी ,माघ १५

रुपन्देहीको मायादेवी गाउपालिकामा तीन हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइदै छ । आज मंगलबार मायादेवी गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी. खोप अभियान २०८१ ,रुको लागी अभिमुखीकरण तथा पत्रकार एवम संचारकर्मीहरु बिच भएको अन्तरक्रिया गोष्ठीमा मायादेवी गाउपालिकामा माघ २२ गतेदेखि २६ गतेसम्म खोप लगाइने मायादेवी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ चौधरी जानकारी दिनु भएको छ । उहाले कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
गाउपालिकामा रहेका ३२ बिद्यालयमा खोप केन्द्र संचालन गरी बिद्यालयका छात्राहरु २ हजार, ७ सय ८० जना र बिद्यालय नजाने अन्दाजी २ सय २० जना गरी तीन हजार जना किशोरीहरुलाई एच.पि.भी.खोप लगाइदैछ । एच.पि.भी.खोप अभियान–२०८१ अन्तर्गत मायादेवी गाउपालिकामा स्वास्थ्यकर्मी ३२ जना र आवश्यकता अनुसार पालिका तथा वडाका जनप्रतिनिधीहरुलाई समेत खटाइने चौधरीले बताउनु भयो ।
जसका लागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतसंग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको मायादेवी गाउपालिकाका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भईरहेको मायादेवी गाउपालिका अध्यक्ष ध्रुब नारायण चौधरीले जानकारी दिनु भएको छ ।
कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेलले बोल्दै एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले खोपबारे अभिभावकलाई समेत सचेतना प्रदान गर्नुपर्नेमा बताउदै नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेकोले यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै वर्र्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा मायादेवी गाउपालिका खोप समन्वय समिती सदस्य अगनु यादव, तेज नारायण पाल, अवधराज यादव, शैलेन्द्र कुमार पाण्डे, कनैया प्रसाद लोध, , अरुण कुमार तिवारी, सोहन प्रसाद रजक, शुशिला बि.क., मायादेवी गाउवालिका वडा नम्बर ८ का वडाध्यक्ष चोक बहादुर थापा, लगायत सरोकारवाला निकाय तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन मायादेवी गाउपालिकाको नर्सिंङ निरीक्षक शर्मिला शर्माले गर्नु भएको थियो ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध ०.५ मि.ली खोप किशोरीहरुको बाँया पाखुराको माथिल्लो भागमा लगाईन्छ । खोपले कसैकसैलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने भएपनि अन्य समस्या नदेखिने बताईएको छ । चितवन र कास्कीमा नौ वर्ष अगाडी नै लगाईएको उक्त खोप अन्य जिल्लामा माघ २२ गते देखी अभियानको रुपमा लगाउन लागिएको हो ।

नेपालमा हरेक बर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जस अनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताइएको छ ।