टेकराज पन्थी
ज्योतिष शास्त्र भनेको ग्रह नक्षत्रको अध्ययन अनुसन्धान गर्ने शास्त्रमात्र नभएर आधुनिक विज्ञानको पनि जननी हो । ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई शूक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको छ । वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको विषय पश्चिमा विद्वान्हरूले पनि स्वीकार गरेका छन् । त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर, दूरबिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएका छन् ।
शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिषशास्त्रलाई वेदको अङ्ग मानिन्छ । वेदका ६ अंगमा ज्योतिष शास्त्र नेत्र भएका कारण सर्व श्रेष्ठ रहेको छ । श्रृष्टिको प्रारंभबाट नै प्रचलित रहि आएको सत्य विज्ञानको रूपमा मानिन्छ । ज्योतिष विद्या जसलाई ज्योतिष शास्त्र पनि भनिएको छ । ज्योतिष शास्त्रको पौराणिक ग्रन्थ भृगु संहिता, वृहद ज्योतिष सार, मुहुर्त चिन्तामणि, शिघ्रबेध आदि पर्दछन् । ज्योतिष शास्त्रलाई आधुनिक विज्ञान पनि भनिन्छ । यो विज्ञान १२ राशि, २७ नक्षत्र, १६ तिथि र ९ ग्रह आदि वस्तुहरूमा आधारित छ । ज्योतिष शास्त्रका वास्तु शास्त्र, सामुन्द्रिक शास्त्रलगायत विभिन्न भागहरू छन् । ज्योतिष शास्त्रलाई भविष्य बताउने कला पनि भनिन्छ ।
ज्योतिष शास्त्रमा मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मिन गरी १२ प्रकारका राशि र २७ नक्षत्रहरु छन् । नेपालमा जन्मेका बच्चाहरुको जति पनि नाम राखिन्छ त्यो यिनै नक्षत्रको चरणका आधारमा राखिन्छ र राशि जुन १२ प्रकारका छन ति यिनै नक्षत्रहरुको संयोगले बनेका हुन्छन् । १) अश्विनि नक्षेत्रमा चु, चे, चो, ला, २) भरणिमा लि, लु, ले, लो, ३) कृतिका नक्षेत्रमा अ, ई, उ, ए, ४) रोहिणिमा ओ, वा, वी, वू, ५) मृगशिरामा वे, वो, का, कि, ६) आद्रामा कु, घ, ङ, छ ७) पुनरवशुमा के, को, हा, ही, ८) तिष्य नक्षेत्रमा हु, हे, हो, डा, ९) अश्लेशामा डि, डु, डे, डो, १०) मघामा मा, मी, मु, मे, ११ पूर्फाल्गुनी नक्षेत्रमा मो, टा, टि, टु, १२ उत्तरफÞाल्गुनिमा टे, टो, पा, पी, १३ हस्तामा पु, ष, ण, ठ, १४ चित्रा नक्षेत्रमा पे, पो, रा, री १५ स्वातिमा रु, रे, रो, ता, १६ बिशखामा ति, तु, ते, तो, १७ अनुराधामा ना, नि, नु, ने, १८ ज्येष्ठामा नो, या, यी, यु, १९ मूल नक्षेत्रमा ये, यो, भा, भी, २०) पूर्वषाढामा भु, धा, फÞा, ढा, २१ उत्तरषाढामा भे, भो, जा, जी, २२ श्रवण नक्षेत्रमा खि, खु, खे, खो, २३ धनिष्ठामा गा, गि, गु, गे, २४ शतभिषामा गो, शा, सि, सु, २५ पुर्वभाद्रामा से, सो, दा, दी, २६ उत्तरभाद्रापदमा दु, थ, झ, ञ, २७ रेवति नक्षेत्रमा दे दो चा ची यिनै २७ नक्षेत्रका आफ््ना स्वरुपहरू हुन् ।
एक नक्षेत्र ६० घडी अथवा २४ घण्टाको हुन्छ । यिनैका आधारमा नेपालमा नाम राखिन्छ । सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु गरी ९ वटा ग्रहहरू छन र तिथिहरू प्रतिपदा, द्वितीया, त्रितीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, पूर्णिमा र औशी गरी १६ तिथि पर्दछन् । त्यसैले सामान्य आँखाले देख्न नसकिने विषय ज्योतिष विज्ञानद्वारा देखिन्छ । आधुनिक विज्ञानले पदार्थको विश्लेषण राम्ररी गरे पनि समय विज्ञानको बारेमा आधुनिक विज्ञानको पहुँच छैन । नक्षेत्र, राशि, ग्रह, तिथि, घडी, पला, मिनट, घण्टा, दिन, महिना, बर्ष सम्पूर्ण जीवन र जीवनका विभिन्न पक्ष जस्तै स्वास्थ्य, शिक्षा, सम्पत्ति, प्रेम, परिवार, सन्तान, रोग, शत्रु, मित्र, आदि राम्रो, नराम्रो हुने कुराको विचार गर्ने र पत्ता लगाउने एकमात्र विज्ञान नै ज्योतिष विज्ञान हो ।
सौर्यमण्डलमा धेरै तारा, नक्षत्रहरूको समूह छ । केही प्रमुख तथा ठुला आकार भएका र सूर्यको वरिपरी एक निश्चित घेरा बनाएर परिक्रमा गर्ने पिण्डहरूको समूहलाई खगोलशास्त्रीहरूले ग्रहको नाम दिएका छन् । प्राचिनकालका विद्वानहरूले ७ वटा ग्रहहरू सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनि मात्र भएको प्रमाणिकरण गरेका थिए । पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ । यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन् । भौतिक ग्रहहरू होइनन् । त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन् । ज्योतिषशास्त्रले राशि र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ । राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ । खगोलशास्त्रीहरूको मतानुसार पृथ्वीलाई ग्रहमा राखिएको छैन । पछि आएर ज्योतिषहरूले ९ वटा ग्रहहरू भएको प्रमाणित गरेका छन् । त्यस्तै खगोलविद्हरूले पनि ९ वटा ग्रहहरू भएको प्रमाणित गरे । तर हिन्दू ज्योतिषविद् र पाश्चात्य विद्वानहरूको मतानुशार ग्रहहरूको बारेमा फरक मत देखिएको पाइन्छ । खगोलविदहरूका अनुसार ग्रहको संख्या बढ्ने सम्भावना देखिएको छ । अन्तरिक्ष सम्बन्धको खोज कार्यमा संलग्न नासाका खगोलवीदहरू अन्तरिक्षमा अरु ग्रहहरू हुन सक्ने सम्भावना बताउँदै ग्रह खोज कार्यमा जुटेका छन् ।
चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । चन्द्रमालाई पृथ्वीको परिक्रमा गर्न करिब एक महिनाको समय लाग्छ । यसै क्रममा कहिल्यै सूर्य तथा पृथ्वीको सन्मुख दिशा त कहिल्यै विपरीत दिशामा पर्ने भएकाले कहिले पूर्ण रूपमा, कहिले देखिँदै देखिँदैन, कहिल्यै आधा, कहिल्यै सानो अथवा ठूलो आकारको देखिन्छ । यसरी चन्द्रमा कहिले दृष्य कहिल्यै अदृष्य हुने क्रियालाई चन्द्रमाको कला भनिन्छ । चन्द्रमाको कलाको आधारमा चन्द्रमा पूरा देखिएको दिनलाई पूर्णिमा र अदृष्य भएको दिनलाई औँशी भनिन्छ । औँशीदेखि पूर्णिमासम्म पुग्न चन्द्रमाले १६ दिन लगाउँछ । यिनै १६ दिनको अलग अलग नाम दिएको छ । जसलाई तिथि भनिन्छ ।
वास्तु शास्त्र, सामुद्रिक शास्त्र, अंक ज्योतिष, प्रश्न ज्योतिष, सकुन विचार, स्वप्न विचार, फलादेश जस्ता ज्योतिष शास्त्रका हागाहरू पर्दछन् । विशेष गरी जन्म कुण्डली र लग्न कुण्डली दुई प्रकारका कुण्डली हून्छन् । यिनै नक्षेत्र, राशि, तिथि, ग्रहहरूका आधारमा कुण्डली तयार भएको हुन्छ । सबै आधार लिएर हेर्दा २१८७ वटासम्म कुण्डलीसम्म निर्माण गर्न सकिन्छ । जन्म समयको ग्रहस्थिति देखाउने तस्वीर नै जन्म कुण्डली हो । मान्छे जन्मदाको समय उसको पृथ्वीमा प्रथम उपस्थित हुँदाको समय के कस्तो छ र त्यसले जीवनमा कुन कुन पक्षमा सफल र कुन कुन पक्षमा असफल बनाउँछ भन्ने कुरा कुण्डलीले स्पस्ट देखाउँछ । ज्योतिष शास्त्रअनुसार जो व्यक्ति स्थानअनुसार जुन समयमा जन्म्यो त्यस समयमा कुन ग्रह कहाँ के कस्तो अवस्थामा थिए र ती संकेतअनुसार कुन कुन पक्ष कति सबल वा दुर्बल छन भन्ने कुरा जन्म कुण्डलीले देखाउँछ । तिनै कुण्डलीभित्र बाह्र कोठा हुन्छन । आकाशमा सबै ग्रह आआफ्नै कक्षमा निरन्तर चलायमान हुन्छन् । यी आकाशीय क्षेत्रमा ग्रहहरू घुम्दै जाँदा अनेक प्रकारका चुम्बकीय प्रभाव उत्पन्न हुने गर्छ । एउटै ग्रह भिन्नभिन्न ठाउँमा भिन्नभिन्न प्रकारको गुरुत्वाकर्षणको प्रभावमा पर्छ र भिन्नभिन्न प्रकारको सुखद, दुःखद वा सम अवस्थाको अनुभव गर्छ र सोहीअनुसारको प्रभाव दिन थाल्छ ।
सूर्यग्रह मेष राशि वैशाख महिनामा हुँदा सुख अनुभव गर्छ र त्यसमा रहेर निकÞै राम्रो प्रभाव उत्पन्न गर्छ । पृथ्वीमा वैशाख महिनामा सूर्यले राम्रो प्रभाव पारेको हुन्छ । दोस्रो बृष राशिमा चन्द्रमाले सुखद अनुभव गर्छ । जहाँ सुखद अनुभव गर्छन त्यसको विपरीत सातौं राशिमा दुःखद अनुभव गर्छन् । त्यसैले सूर्य मेष राशिमा उँचा र तुला राशिमा नीच मानिन्छ । चन्द्रमा वृष राशिमा उँचा र वृश्चिक राशिमा नीच मानिन्छ । त्यसैगरी मंगल ग्रह मकर राशिमा उँचा र कर्कट राशिमा नीच मानिन्छ । उँचा हुँदा सुखद अनुभव र सुखद परिणाम दिए झैं नीच हुँदा दुखद अनुभव र दुखद परिणाम दिने गर्छन । यी दुईथरि मात्र अवस्था हुँदैन । आफ्नो राशिमा हुँदा, शत्रुको राशिमा हुँदा, मित्रको राशिमा हुँदा, सम सम्बन्ध भएका ग्रहको राशिमा हुँदा, सोहीअनुसार फरक फरक फल दिने गर्छन । प्रत्यक्ष उपस्थित भएर फल दिएझै दृष्टिले पनि फल फलित हुने गर्छ । सबै ग्रहले आफू बसेको राशिबाट सातौं राशिमा पूर्ण दृष्टिले प्रभाव पारेको हुन्छ ।
त्यसबाहेक मंगलले चौथो र आठौंमा, गुरुले पाँचौं र नवौं राशिमा, शनिले तेस्रो र दशौं राशिमा पूर्ण प्रभाव पार्छन् । ग्रह अवस्थाको सम्पूर्ण ग्रह, दशा विचार गरेर चिना हेर्ने ज्योतिषीले फल बताउने गर्छन् । वर्तमानमा आकाशमा चलिरहेका ग्रहहरूको बस्तुस्थिति, जन्मसमयको ग्रहस्थिति र वर्तमानमा चलेका दशाका आधारमा भविष्यफल भन्ने गरिन्छ जुन ८० देखि १०० प्रतिशतसम्म मिल्ने गर्छ । यसरी चिनामा कुण्डली हेरेर जुन जुन विषयमा राम्रो हुने संकेत देखिन्छ ती विषयमा प्रयास गरेमा राम्रो सफलता प्राप्त हुने गर्छ र जुन विषयमा ग्रहको संकेत राम्रो हुँदैन त्यस्ता विषयमा सफल हुन निकÞै गाह्रो हुन्छ । ग्रह नक्षत्रले देखाएको संकेत अनुसार व्यक्तिको वस्तुस्थिति अथवा भविष्य बताउन सकिन्छ । यसरी ग्रह र तिनिहरूले पार्ने प्रभावको अध्ययन अनुसन्धान गर्न आज संसारभरिका विश्वविद्यालयमा ज्योतिष शास्त्र पढ़ने पढ़ाउने गरिन्छ ।
आगामी विसं. २०८२ सालमा ग्रहराजा सूर्य, ग्रहमन्त्री चन्द्रमा र सिद्धार्थ नाम सम्बत्सर रहेकोले राम्रो वर्षा हुने, मानिसमा ज्ञान र वैराग्य उत्पन्न हुनेछ । कृषिमा नयाँ रोगहरूले गर्दा उत्पादनमा कमी हुने देखिएकोले खाद्भान्नमा मूल्य वृद्धि हुने छ । ग्रहराजा सूर्य भएको हुनाले शीर्ष शासकहरूको ग्रह त्यति उत्तम नदेखिएको हुदा उत्तम महिनामा ग्रह शान्ति र रूद्राभिषेक गर्दा राम्रो हुनेछ ।