बुटवल । अर्घाखाँची भूमिकास्थान–रुपन्देही सम्पर्क समाजको आयोजनामा शनिवार बुटवलमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बेलवासस्थित अर्घाखाँची पाटी प्यालेसमा आयोजना गरीएको रक्तदान कार्यक्रममा १०७ जनाले रक्तदान गरेका थिए ।
बुटवल उपमहानगरपालिका–१३ का कार्यवाहक वडाध्यक्ष लालबहादुर गुरुङले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अबसरमा बोल्दै उनले रक्तदान जस्तो मानविय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गर्दै सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरे ।
समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले अस्पतालहरुमा बेलाबेला रगत अभाव भइरहने हुँदा समयमै रगत नपाएर कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्तो मानवीय कार्यलाई समाजले आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष रामप्रसाद भुसाल, संस्थाका सदस्य विष्णुप्रसाद गैरे लगायतले बोल्दै अझै पनि रक्तदान गरे कमजोर भइन्छ भन्ने मानसिकता समाजमा रहेकाले त्यसलाई चिर्न जरुरी रहेको बताउँदै ‘रक्तदान जीवनदान’ भएकाले युवाहरुले अभियानका रुपमा रक्तदान गर्न अभिप्रेरित गर्ने, रक्तदान गर्दा हुने फाइदाबारे समाजमा जनचेतना फैलाउने काम गर्नुपर्ने बताए । साथै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सबैले सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो । भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने बुटवल उपमहानगर वडा नं १३, बाबुराम बेलबासे, नविन बञ्जाडे, अर्घाखाँची पार्टी प्यालेसका सञ्चालक ज्ञानप्रसाद खनाल तथा आर्थिक सहयोग गर्ने संस्थाका २४ जना सदस्यहरुलार्ई सम्मानसमेत गरीएको थियो ।
सोही अवसरमा समाजको पहिलो अधिवेशन सम्पन्न गर्न सहयोग पु¥याएका निर्वाचन संयोजक कमल खनाल, अर्जुन गैरे, उमलाल बञ्जाडे, डी.आर बञ्जाडे र वसन्त पोखरेललाई कदर पत्र प्रदान गरीएको थियो । संस्थाका सचिव यमप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।