

कमल पन्थी
श्रीपञ्चमी ! माघ शुक्ल पञ्चमी अर्थात् वशन्तपञ्चमी ! विद्याकी अधिष्ठात्री सरस्वतीको जन्म दिन । बालबालिकाहरुलार्ई अक्षराम्भ गराउने, नयाँ कार्यको शुरुवात गर्ने दिन। वालवालिकाको पहिलोपटक नाक कान छेड्ने पनि प्रचलन । जाडो कम हुँदै जाने र वसन्त ऋतु आगमनको सूचक पनि हो ।
खास गरेर सरस्वतीलाई विद्या, कला र संगितकी देवी मानिन्छ । विद्यालय,कलेज लगायत शिक्षण संस्थाहरुमा भव्यरुपमा सरस्वतीको पूजाआरधना गरिन्छ । नयाँ काम र आर्थिक योजनाको सुरुवातकालागि यो दिन अत्यन्तै शुभ मानिने गरिन्छ । यसरी धार्मिक, सांस्कृतिक र आर्थिक दृष्टिकोणले महत्वपूर्ण पर्व हो श्रीपञ्चमी ।

यस आलेखमा श्रीपञ्चमीमा हुने गरेका आर्थिक कारोबार र सोसँग सम्बन्धित विगतको तत्कालीन सामाजिक अभ्यासलाई स्मृतिका पानावाट लिपिबद्ध गर्न खोजिएको छ । अहिलेको युवा पुस्तालाई समाजका विगतका प्रथा, परम्परा, प्रचलन, संस्कृति र तत्कालिन परिवेशको जानकारी नहुन पनि सक्छ किनभने यो कालखण्डको समाज विकास क्रममा राजनैतिक, वौद्धिक, आर्थिक, शैक्षिक, पूर्वधार सूचना र प्रविधिमा त बाढी नै आयो । यसले विगतका धेरै कुराहरुलाई विस्थापित गरि दियो ।
बिर्सिएको वा पुरानो कुरा सम्झना गराउँदा हुने एक सञ्चारी भाव स्मृति हो । महर्षि पातञ्जली योग दर्शनमा लेख्छन् अनुभूत विषया सम्प्रोषःस्मृति अर्थात् अनुभव गरिएका विषय प्रकट हुनु नै स्मृति हो । सम्झिराख्ने मानसिक शक्ति नै स्मृति हो,मेमोरी हो । हाम्रा पाँचवटा ज्ञानेन्द्रियहरु आँखा, कान, नाक, जिब्रो र छालामार्फत मनमष्तिष्कले ग्रहण गरेका जति पनि विषय वा अनुभवहरु छन् ती सबै स्मृति हुन् ।
‘स्मृति विना संस्कृति, सभ्यता, समाज र भविष्य केही पनि हुदैन । आफ्नो अतितको इतिहास उत्पति र संस्कृतिबारे जो अनभिज्ञ हुन्छन् ती जराविहीन रुखहरु हुन् ।’ (रोमानियालि अमेरिकि लेखक एली विशेल)
सन्दर्भ आर्थिक फरफारख
मनिसले समाजमा वस्दा लेनदेन गर्न व्यवहारिक जीवनको नियमित प्रकृया हो । आवश्यकता तथा आर्थिक हैसियतका आधारमा धेरथोर लेनदेन हिजो पनि हुन्थ्ये आज पनि हुन्छन् । आजभन्दा करिव अढाइ÷तीन दशक अगाडिसम्म श्रीपञ्चमी पर्वलाइ अर्घाखाँची, गुल्मी, पाल्पा स्याङ्जालगायतका धेरै जिल्लाहरुमा आर्थिक वर्षको अन्त्य (सालतमामी) मा हिसाब मिलान गर्ने अन्तिम दिनको रुपमा लिइन्थ्यो । माघे औशीबाट लेनदेनको हिसाब बुझाउन जनाउ घण्टी बज्दथ्थो भने श्रीपञ्चमीको दिन अन्तिम घण्टी ।
त्यतिबेला वैक, वित्तीय संस्था, सहकारी तथा विभिन्न समूहहरु संचालनमा आइसकेका थिएनन् । वर्षदिन भरीका घर खर्च ,लत्ताकपडा, गरगहना,पशुचौपाय, जग्गा खरिद÷ विक्री र सावा, व्याज भुक्तानीको अन्तीम दिन श्रीपञ्चमीलाई तोकिन्थ्यो । यस दिनभरिमा असामीहरुले धनिक (ऋण दिने व्यक्ति साहू; महाजन) लाई अनिवार्य भेटेर कारोबार मिलाउनु पर्ने कथंकदाचित नसक्ने भएमा मुखसम्म भए पनि मिलाइ विश्वास जित्नु पर्ने वाध्यता थियो । यस दिन भुक्तानी नगरेमा चक्र वृद्धि (व्याजव्याजको पनि व्याजसमेत तिर्नु पर्ने) लाग्ने र समाजमा पनि आर्थिक विश्वास गुमाएको पात्रको रुपमा चित्रण गरिन्थ्यो ।
रुपैया पैसा व्याज लगाउने स्थानीय साहु महाजनहरुको घरमा असामीहरुको आतेजाते चहलपहल हेर्न लायक हुन्थ्यो । साहूहरुले मनपरी चर्को व्याजदरमा शर्तसहित रुपैयाँ व्याज लगाउने गर्दथे । व्यवहारीकरुपमा असामी र साहुका बीचको लेनदेनसम्वन्धी प्रमाणको लिखत (तमसुक) लेख्दा समेत मैले लिएको रकम आगामी श्रीपञ्चमीका दिन साँवाव्याज एकमुष्ठ हिसाब गरी बुझाउने छु भनी उल्लेख गरिन्थ्यो ।
तत्कालिन अवस्थामा निजी क्षेत्र सकृय नभएको, आम्दानीका अन्य कुनै बैकल्पिक श्रोत नभएको र केवल परम्परागत कृषि प्रणालिमा आधारित ग्रामिण अर्थतन्त्र थियो । नेपाली समाजमा पहिला देखि नै भारतीय र वेलायती सैनिक पृष्ठभूमीका अवकाश प्राप्त धेरै नेपाली दाजुभाइहरुले पेन्सन प्राप्त गर्दथे।बैदेशिक रोजगारीमा भारतवाट मात्र रेमिट्यान्स(विप्रेषण)आउने गर्दथ्यो । भारतका विभिन्न स्थानमा रोजगारी गर्न जाने प्रचलनलाइ लाहुर जाने भनिन्थो।खुला सिमाना, समाजिक र सांस्कृतिक रोटिवेटिको सम्वन्ध, सस्तो यात्राले भारत नेपालीहरुको रोजगारीको महत्वपुर्ण गन्तव्य थियो र अहिले पनि छदैछ ।
लाहुर गएका लाहुरेहरुले समय समयमा व्यक्ति हस्ते पठाएको नगद र श्रीपन्चमीमा घर आउँदा ल्याएको नगदले परिवारको जीवनस्तर सुधारका साथै ग्रामिण अर्थतन्त्र चलायमान हुने गर्दथ्यो । लाहुरेले नगद मात्र होईन, नयाँ विचार र संस्कार पनि लिएर आए । जसबाट समाजमा आधुनिकताको भाव जागृत भयो । ग्रामिण परिवेशमा नगदको अभावले गर्दा घरव्यवहार गर्न समेत हम्मे हम्मे हुने गर्दथ्यो । यसै सन्दर्भमा घरजग्गा, गरगहना वेचविखन गरेर भए पनि साहुको ऋण तिर्ने र वर्ष दिनभरिका घरखर्च भुक्तानी गर्ने दवावमा धरमूलीहरु रहन्थे ।
ऋण अशुलीका नाममा साहू महाजनहरुले ऋणीको जबर्जस्ती घरवास समेत उठाउने गरेको सुन्नमा आउथ्यो । जसरी अहिले वैंक तथा वित्तिय संस्थाहरुमा तरलताको अभावको कुरा आउछ त्यो समयमा भारतवाट लाहुरेले रकम नपठाउँदा गाउँभरी लगानीयोग्य रकमको अभाव खट्किन्थ्यो ।
बर्तमान सन्दर्भ
हाल विश्वव्यापीकरणले करिव पैचालिस लाख नेपालीहरु बिभिन्न मुलुकहरुमा रहेको सरकारी तथ्यांक छ । आव २०६०÷६१ भन्दा अगाडी नगण्य मात्रमा र तत्पश्चाच प्रयाप्त मात्रमा विप्रेषण भित्रिएको छ । अर्थतन्त्रको एक तिहाइ र कुल ग्राहस्थ उत्पादनको २२ प्रतिशत विप्रेषणको हिस्सा रहेको छ ।
सुविधा र अवसरको खोजिमा तराइ तथा सहर वजारमा तीव्र गतिको बसाइ सराइले गाउँघरहरु पहिला जस्तो गुलजार छैनन तथापि वित्तिय कारोवार गर्ने संघसंस्थाहरुले दैनिक, साप्ताहिक, पाक्षिक, मासिक रुपमा नै नगदको कारोवार गरिरहेका हुन्छन् । बैक तथा वित्तिय संस्था,सहकारी र विभिन्न प्रकृतिका समूहहरुले श्रीपन्चमीको विगतको परम्परालाइ प्रतिस्थापन गरिदिएका छन् । साहुको घरदैलोमा पुगी ऋणको जोहो गर्नुपर्ने विगतको परम्पराको सट्टा संस्थागतरुपमा, सहुलियत दरमा, आत्मसम्मानकासाथ आर्थिक कारोबार भै रहेका छन् ।