

टोपलाल अर्याल
गुल्मी। गुल्मी अस्पताल तम्घासमा धुर्कोटकी ३२ वर्षीया युवतीले १६ माघमा छोरी जन्माइन् । उनी विवाहित थिइन् । तर, अर्कै युवकको गर्भाधारणबाट बच्चा जन्मिएको थियो । उनी तीन दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् । माइती र घर दुवैतिर सुत्केरी आमा र छोरीको जाने अवस्था देखिएन । उनलाई प्रसव पीडामाथि अनेक प्रसंग र कुराले बिक्षिप्त बनायो । कतै जान ठाउँ नभएपछि अमरकल्याण बहुउदेश्यीय सहकारी संस्थाले आश्रय दियो ।
माघ १९ गतेबाट आमाछोरी अमरकल्याणको अस्थायी आश्रय केन्द्रमा बसेकी छन् । बच्चा जन्मिएको ११ औँ दिनमा धार्मिक कारण नामकरण हुने दिन हो । तर, न्वारन हुनसमेत सकेको थिएन । सोमबार १९ दिनमा संस्थाले बच्चाको न्वारन गरिदिएको व्यावस्थापक अन्जु पन्थीले बताइन् । माघ १९ गतेबाट सबै सुत्केरी स्याहारको काम अमरकल्याणले गरेको छ । उनको लागि एक जना सुसारेको व्यावस्थापन गरिएको पन्थीले बताइन् । खानपान, लुगा धुने, बच्चा हेर्ने, चिसोतातो सबै व्यावस्थापन आश्रय स्थलमा छ । तर, अब के गर्ने संस्था निकै अप्ठ्यारोमा परेको छ किनकि संस्थासंग छुट्टै कुनै आर्थिक स्रोत छैन ।
संस्थाले अस्पतालमा अलपत्र रहेकी सुत्केरी र बच्चाको उद्धार गरेर आजसम्म व्यवस्थापन गरेपनि अब आफुहरुसंग आर्थिक स्रोत नभएकाले अप्ठ्यारो परेको अमरकल्याण बहुउदेश्यीय सहकारी संस्थाकी संस्थापक सदस्य लक्ष्मी पाण्डेयले बताइन् । उनले विभिन्न चरणमा संस्थाको आश्रय केन्द्रलाई स्रोत साधनको जोहो गर्न जिल्ला स्तरमा छलफल गरेपनि कसैले चासो नदिएको बताइन् । ‘निस्वार्थ संस्थाको आफ्नै लगानीमा आश्रय केन्द्र चलाएका छौँ । सहयोग र हौसला कतैबाट छैन बरु आलोचना खेपेका छौँ,’उनले भनिन्,‘बिना स्रोत साधन राज्यको सबै काम सधै गर्न सकिने रहेन्छ ।’
पीडित पक्षले जिल्ला प्रहरी कार्यालय गुल्मीमा आरोपित जिसीविरुद्ध बलात्कार मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किरण दाहालले जानकारी दिए । दाहालले आरोपितकै बच्चा भएनभएको ठूलो भएपछि डिएनए परीक्षणबाट प्रमाणित भएपछि मात्रै आवश्यक अधिकार प्राप्त हुने बताए । ‘मुद्दाकै कारण उसकै बच्चा भन्ने कुरा भएन । ठूलो भएपछि डिएनए गरेर प्रमाणित भए बुबा स्थापित हुने र कानुनअनुसार सवै पाउँछ,’उनले भने,‘अहिले आमाबच्चाको व्यावस्थापन गर्नुपर्छ ।’
नौ वर्षदेखि हिंसापीडितलाई मलम लगाउँदै अमरकल्याण
जिल्लामा संरक्षण गृह (सेफ हाउस) छैन । अमरकल्याणले घरेलु हिंसामा परेका, बलात्कार पीडित, अंश मुद्दा, व्याबरिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई आश्रय र उचित मार्ग प्रदान गर्ने काम गरिरहेको छ । इस्मा गाउँपालिकाकी २२ वर्षीया घरेलु हिंसापीडित युवती दुईपटक अमरकल्याणको आश्रयमा बसिन् । प्रेम सम्बन्धबाट बिहे भएको केही समयमै घरमा खटपट भयो । श्रीमान्को हिंसा सहन नसकेर पीडितले प्रहरीमा उजुरी गरिन्, अमरकल्याणको आश्रयमा चार दिन बसिन् । मिलापत्र भएपछि घर गएर छोराछोरी पनि भए । फेरि हिंसा भएपछि अहिले कानुनी उपचारको काम अगाडि बढेको छ ।
त्यस्तै मुसिकोट नगरपालिकाकी ३८ वर्षीया महिलाका दुई छोरा र एक छोरी छन् । श्रीमान्को कोभिडको बेला ज्यान गयो । उनको नागरिकता छैन । तर, परिवारले अर्कैसंग बिहे गरेको आरोप लगाएर नागरिकता दिँदैनन् । ०८१ पुस १२ गतेदेखि १५ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर कानुनी उपचार खोजेपनि केही टुङ्गो लागेन । धुर्कोट गाउँपालिकाकी २५ वर्षीया युवतीका दुई बच्चा छन् । श्रीमान्ले अर्कैसँग सम्बन्ध राखेर आफूहरुको कुनै वास्था गर्दैनन् ।
कैयौपटक छलफलको प्रयास असफल भए । उनलाई माइतमै बसेर छोराछोरीको व्यावस्थापन गर्न मुस्किल परिरहेको छ । ०८१ असोज १६ देखि २२ गतेसम्म अमरकल्याणको आश्रयमा बसेर प्रहरीमा कानुनी उपचारको बिकल्पहरु खोजिन् । तर, अहिले पालिकास्तरमा मिलापत्रको प्रयास भइरहेको छ । आफूहरुको काम अस्थायी रुपमा व्यावस्थापन गर्ने र न्यायको उचित मार्गमा सहजीकरण भएपनि महिनौँ हिंसा पीडितको पछि कुद्न पर्ने अवस्था रहेको अमरकल्याण बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष गीता पाण्डेयले बताइन् ।