सामुदायिकतर्फ कान्ति माविलाई लोक नृत्य प्रतियोगिताको उपाधि

मेचीकाली संवाददाता

११ फाल्गुन २०८१, आईतवार
58 shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि ‘ख’ समुहले उपाधि हात पारेको छ । झुमडा नाचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा रहेका अन्य २७ समुहलाई पछि पार्दै विजेता बन्न सफल भएको हो ।

उपाधिसँगै उक्त समुहले नगद ७५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भएको छ । साकेला नाच प्रस्तुत गरेको उक्त विद्यालयले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा कौडा नाच प्रस्तुत गरेको नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख“ समुहले तृतीय स्थान हासिल गर्दै नगद ३५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । प्रतियोगितामा सहभागी भवानी मावि र नवीन औद्योगिक कदरबहादुर रिता मावि ‘क’ समुहले सान्त्वना स्थान हासिल गर्दै समान २५ हजार नगद राशी पुस्कार प्राप्त गरेका छन् । यी दुबै समुहले झुमडा नाच प्रस्तुत गरेका थिए ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोमबार संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको समुद्घाटन गर्दै उपमहानगरका प्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरबाटै लोक सँस्कृति र कलाको बिकासका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । उपमहानगरले लोक सँस्कृति र खेलकुदको बिकासका लागि विद्यालय स्तरमा हुने गतिविधिलाई प्राथमिकता दिएको बताए ।

उपप्रमुख सावित्रा अर्यालले बुटवलको शैक्षिक बिकासका लागि सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षालाई समेत जोड दिइएको उल्लेख गरिन । सोमबार २६ वटा संस्थागत विद्यालयहरु बीच प्रतिस्पर्धा हुने सामाजिक बिकास महाशाखा प्रमुख तथा कार्यक्रम संयोजक दामोदर ज्ञवालीले जानकारी दिए । प्रतियोगितामा कलाकारहरु नारायण रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका छन् ।