

बुटवल । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बालबालिको प्रतिभा उजागर गर्न मंगलबार किड्स फेस्टिबल सम्पन्न गरेको छ । विद्यालयको १५ औं वार्षिकउत्सवको पूर्वसन्ध्यामा विद्यार्थीको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदै हरेक विद्यार्थीलाई मञ्चमा पु¥याउने गरी विद्यालयले बच्चाहरूको उत्सव गरेको हो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका बाल आधारभूत शिक्षा शाखा प्रमुख कमला चुदाँलीले यस्ता कार्यक्रमले बालबालिकाको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउन महत्पूर्ण हुने बताइन् । उनले बुटवलको शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका बलियो रहेको बताइन् । बुटवलले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्दै अघि बढेको बताइन् ।
कार्यक्रममा निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रूपन्देहीका अध्यक्ष दीपक खनालले यस्ता उत्सवहरूले बालप्रतिभा उजागर गर्न उपलब्धीमूलक सावित हुने बताए । अध्यक्ष खनालले बालबालिकाको प्रतिभा पहिचान गर्दै प्रोत्साहन गर्ने विद्यालयलको विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुने बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले हरेक विद्यार्थीमा रहेको कुनै न कुनै प्रतिभाको उजागर गर्न विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । बाल उत्सवमा नर्सरीदेखि कक्षा ३ सम्मका १ हजार २०० जना विद्यार्थीहरू सहभागी भएको प्राचार्य अधिकारीले जानकारी दिए । किड्स उत्सवमा बालबालिकाहरुले नृत्य, गायन, नाटक, स्पिचलगायतका प्रस्तुती प्रस्तुत गरेका थिए ।
विद्यालयले समय–समय विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सो अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा विद्यालयका सञ्चालक जीवन अधिकारी, कार्यक्रम संयोजक सिन्धु पौडेल लगायतले बोलेका थिए । विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा शिक्षक समिर अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वि.सं.२०६८ सालमा स्थापित विद्यालयमा अहिले २ हजार २०० विद्यार्थीहरू अध्ययनरत छन् । विद्यालयले आफ्नो १५ औं वार्षिक उत्सव यहीँ फागुन १५ गते बिहीबार मनाउँदै छ ।