शिव समताका देवता हुन् !

मेचीकाली संवाददाता

१४ फाल्गुन २०८१, बुधबार
283 shares

घनश्याम कोइराला
आज महाशिवरात्रि पर्व हो । प्रत्येक वर्ष आउने फागुन कृष्ण पक्षको चतुर्दशीको रात्रिलाई शिवरात्रि वा महाशिवरात्रि भन्ने गरिन्छ । महाशिवरात्रि पर्व सनातन संस्कृतिका अनुयायीहरू र विशेषतः शैवमार्गीहरूका लागि सबैभन्दा ठूलो पर्व हो । त्यसैले यसलाई महापर्व पनि भन्ने गरिएको छ । शिवका ४८ नाम छन् । शिवका सबै नामहरू शिवको भूमिका, पौरख र घटनासँग जोडिएका छन् । यिनै ४८ वटा नाममध्ये पशुपति, महादेव, रुद्र, शङ्कर, रुद्र, पिनाकी आदि हुन् । त्यसैले महाशिवरात्रि र पशुपतिको सारभूत सम्बन्ध रहेको छ । कतिपयलाई यी सबैमा भिन्नता र एकरूपताको पक्षमा जानकारी नहुन पनि सक्दछ । हामीले हाम्रा धार्मिक, आध्यात्मिक, सांस्कृतिक पर्व, उत्सवहरू मनाउँदा तत्तत् देवीदेवता तथा स्थानहरूका विषयमा जानकारी राख्नु उचित हुन्छ ।

हाम्रो समाजमा धेरै पर्व, उत्सव, महोत्सव छन् । यी सबैले मानिसहरूलाई शान्ति, सन्तुष्टि र चेतना प्रवाह गर्दछन् । धेरैजसो आध्यात्मिक तथा लौकिक पर्वहरू दिन—दिवसका रूपमा मनाइन्छ । तर केही पर्वहरू छन्, जसलाई रात्रिमा मनाउने मात्र गरिँदैन, अपितु नाम नै ‘रात्रि’ छन् । यद्यपि, उत्सवको रमाइलोका कारण रात्रि हुनु, जागरण बसेर रात बिताउनु, दिउँसोमा समय अभावका कारण रात्रिमा आजा—पूजा, कथाश्रवण आदि भने गर्ने गरिन्छ । तर केही खास पर्वहरू रात्रिमा मात्र मनाउने गरिन्छ र तिनीहरूको नाम र प्रसंग नै रात्रिको रहेको छ । त्यस्ता पर्व हुन्ः कालरात्रि, सुखरात्रि र मोहरात्रि । नवदुर्गाको कालरात्रि, लक्ष्मीपूजाको सुखरात्रि, कृष्णजन्मको मोहरात्रि र शिव प्रकट भएको र कतिपयले शिवको विवाह भएको मानिएको महाशिवरात्रि ।

शिव पुराणमा समेत प्रसिद्ध वैदिक देवता हुन् । शिवको महिमा समेटिएको २४ हजार श्लोक भएको शिवमहापुराण नै छ । शिवलाई कल्याणस्वरूप मानिएको छ । शिव कल्याणका—कल्याणकारी देवता हुन् । शिवका धेरै नाम छन् । एउटै देवताको धेरै नाम किन हुन्छ ? मानिसहरूका मनमा यस्तो जिज्ञासा हुन्छ । नाम बोलाउने मात्र विषयका रूपमा बुझ्दै आएका लौकिक नका लागि एउटै व्यक्तिको धेरै नाम हुनु अनौठो पनि हो । तर, देवताहरू नामका कारणले चिनिँदैनन्, उनीहरू व्यक्ति होइनन्, व्यक्तित्व हुन्, उनीहरूका सबै नामहरू खास घटना प्रसङ्ग र उनीहरूका पौरखसँग जोडिएका हुन्छन् ।

हाम्रो नेपाली समाजमा शिवलाई महादेव, शङ्कर त भनिन्छ नै, खासगरी ‘पशुपति’का रूपमा मानेर पूज्दैआएको यथार्थ छ । शिव कसरी पशुपति भए ? शिव र पशुपति कसरी एउटै हुन् ? धेरैका मनमा यस्ता प्रश्नहरू हुन सक्दछन् । धेरै मानिसहरूलाई शिवका धेरै नाम र रूपका विषयमा जानकारी नहुन पनि सक्दछ । शिव सहस्रनामबारे धेरैलाई थाहा होला । यस हिसाबले शिवका हजार नाम भए । शिवसहस्रनाममा ‘पशुपति’को नाम शिवकै नामको रूपमा उल्लेख गरिएको छ ः दम्भो ह्यदम्भो वैदम्भो वश्यो वशकरः कलिः । लोककर्ता पशुपतिर्महाकर्ता ह्यनौषधः ।।

विश्वप्रसिद्ध कोषग्रन्थ ‘अमरकोष’मा शिवका ४८ नाम भनिएको छ । यिनै नामहरूमध्ये एउटा नाम ‘पशुपति’ हो । सामान्यतया सबै मानिसलाई यी र यति धेरै नाम छन् भन्ने थाहा हुँदैन । कति नाम छन् भन्ने विषय त्यति महत्वको नहुन सक्दछ, तर शिवका यी नामहरू उनका ‘गुण—विशेषता’ हुन् । हरेक नाममा उनका काम, उनका विशेषता, कुनै खास अर्थ र क्षमताको अर्थ प्रकट हुन्छ । सबै नाम शिवका गुण, विशेषता र सामथ्र्य हुन् । यी सामथ्र्य र यी नामको प्रसङ्ग खोज्नु र जनसमक्ष ल्याउनु आवश्यक छ ।
विशेषतः शैवमार्गी र आमरूपमा हिन्दु सनातनीहरूले शिवरात्रिलाई ‘महाशिवरात्रि’ भनेर शिवको आराधना गरी मनाउने प्रचलन रहेको छ । देशका शिव मन्दिरहरूमा यस दिनलाई महापर्वको रूपमा मनाइने गरिन्छ । शिवलाई देवहरूका पनि देव मानेर देवाधिदेव, महादेवका रूपमा सम्मान गरिन्छ । हाम्रो देशमा पशुपतिनाथ मन्दिरमा महाशिवरात्रि पर्व अत्यन्त श्रद्धापूर्वक मनाउने गरिन्छ । यहाँ एकै दिनमा लाखौँ श्रद्धालुहरू विभिन्न ढंगले सहभागी भई पशुपतिनाथको दर्शन गर्दछन् ।

मेला, पर्वहरू, उत्सवहरू बाहिरी रूप पक्ष हुन् । हामीले यी रूप वा आवरणसँग जोडिएको सारतर्फ पनि ध्यान दिन आवश्यक हुन्छ । को हुन् त शिव ? के हुन् पशुपति ? यी विषयलाई विशेष महत्व दिन आवश्यक छ ।
पशुपतिलाई पशुपतिनाथ पनि भनिन्छ । नेपालमा केही समय अघिसम्म पशुपतिनाथलाई राष्ट्रदेव पनि भनिन्थ्यो । राजनीतिक व्यवस्था परिवर्तन भई राजतन्त्रको अन्त्य तथा ‘धर्मनिरपेक्षता’सँगै पशुपतिनाथलाई राष्ट्रदेव मान्ने विषय पनि छुट्यो र धार्मिक सन्दर्भमा नजानिदो गरी राजनीतिक प्रभाव प¥यो । तर जेसुकै भनिएको भए पनि संसारका हिन्दूहरू मात्र नभई सम्पूर्ण ओंकार परिवारका मानिसहरू महाशिवरात्रि पर्व र अन्य दिनमा समेत अत्यन्त श्रद्धाभक्तिपूर्वक पशुपतिनाथको आजा—पूजा तथा दर्शन गर्दछन् ।

शिवलाई नीलकण्ठ भनिएको छ । शिवको कण्ठ किन नीलो भयो ? देवासुर संग्रामका क्रममा निस्केको कालकूट नामको विष पिएर त्यसलाई कण्ठमा राखेको हुनाले उनको कण्ठ नीलो भयो भन्ने वर्णन पुराणहरूमा पढ्न पाइन्छ । यसको तात्पर्य हो, सामूहिक लोककल्याणकारी कामको क्रममा आइपर्ने जस्तोसुकै कठिनाइ वहन गर्ने महानता शिवमा थियो । यसबाट हामीले के शिक्षा पाउँछौँ र जीवनमा लागू गर्दछौँ भन्ने विषय सारभूत विषय हो । यो एउटा उदाहरण मात्र हो । शिवका सबै नामका गूढार्थ छन्, यी सबै मानिसका लागि जान्न—बुझ्न योग्य छन्, मननीय छन् ।

पशुपति प्रतिका धार्मिक निष्ठा आ—आफ्ना छन् । यिनको पूजा गर्नेहरूमध्ये नियमित रूपमा गर्ने, नैमित्तिक वा पितृउद्धार आदि विशेष कारणले गर्ने र काम्य वा मनमा विशिष्ट फल प्राप्तिको कामना राखेर गर्ने गरी तीनै भावका श्रद्धालुहरू रहेका छन् ।
बद्धोकहं विविधैः पाशैः संसारभवबन्धनैः । पतितं मोहजालं मां त्वं समुद्धर शंकर ।।

अर्थात् हे शंकर ! म संसारसागरका विविध पाशहरूद्वारा बाँधिएको छु । यसरी मोहपाशमा बाँधिएको मलाई तपार्इँले उद्धार गर्नुहोस् । यसबाट पशुपतिको अर्थ स्पष्ट हुन्छ ।
विद्वान्हरूबाट ‘पशुपति’ शब्दको व्युत्पत्ति यसरी पनि गरिएको पाइन्छः
पशूनां—पाशबद्धानां जीवानां पतनात्, पाति— रक्षतीति = पशुपतिः । पशूनां—पाशबद्धानां जीवानां (बन्धनमा बाँधिएका जीवहरूलाई) पतनात् (पतन हुनबाट) पाति (रक्षा गर्दछ जसले) पशुपतिः(ती पशुपति हुन्) ।
यसरी म पाश अर्थात् बन्धनमा बाँधिएको छु, म बन्धनबाट मुक्त हुन पाउँ भन्ने अभिलाषा राख्ने सचेत प्राणी त मानिस नै हो । मानिस लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष आदिको बन्धनले जकडिएको छ । मानिसले बुझेको छ, यी सबै बन्धनहरूले क्षणिक भौतिक सफलता दिइरहेको भए पनि मानसिक शान्ति र आनन्द दिन सक्दैन । मात्रामा तलमाथि होला, तर सबै मानिसहरू यस्ता बन्धनमा बाँधिएका छौँ । त्यसैले यहाँ पशुपतिनाथको मन्दिरमा आएर आफ्ना बन्धनहरूबाट मुक्तिको भावना वा कामना राखेर, मानसिक शान्ति र आनन्दको भाव विकास गर्न खोज्दछन् । आपूmहरू पतन हुनबाट जोगिने आध्यात्मिक उपायको खोजी गर्दछन् ।

संसारले जतिजति भौतिक प्रगति गरेको छ, यो मानवजीवनको सहजता र सुविधाको लागि साह्रै महत्वपूर्ण छ, आविष्कार र आविष्कारकहरू महान् छन्, तर यी सब विषयको भोगको लालसाले मानिसलाई कस्तो बनाएको छ ? कति लुछाचुँडीमा संलग्न गराएको छ ? यसको प्राप्तिको लागि मानिसले आपूmलाई कसरी अघि बढाएको छ ? यही पाशले बाँधेर मानिसलाई मानवीयताभन्दा तलतल झार्दैछ । जीवनका मानवीय पक्ष इमान, जमान, सद्भाव, समभाव आदिबाट मानिस गिर्दो छ । हामीले ‘पशुपति’को यो आसय ‘पशूनां—पाशबद्धानां जीवानां पतनात्, पाति— रक्षतीति = पशुपतिः’लाई जागृत गर्नुपर्छ । अन्यथा अरु मेला र महाशिवरात्रि पर्वोत्सवमा केही भिन्नता शेष रहनेछैन ।

भनिन्छ, हरेक महिनाको कृष्ण चतुर्दशी ‘शिवरात्री’ हुन्छ, तर फागुन कृष्ण चतुर्दशीको रात्रि ‘महाशिवरात्रि’ हुन्छ । महाशिवरात्रिलाई शिव प्रकट भएको रात्रि भनेर मानिन्छ । शिवपुराणमा यससम्बन्धी उल्लेख गरिएको छ । यसै रात्रिमा देवी पार्वती र शिवको विवाह भएको पनि मानिन्छ । अध्यात्ममा यस्ता अनेकौँ विषय त छँदैछन्, लौकिक रूपमा पनि शिवको प्राकट्य र दाम्पत्य जीवनसँग जोडिएको यो दिन÷रात्रि साह्रै महत्वपूर्ण छ ।
यसले देव, महादेव, देवी, महादेवी पनि जीवन लीलामा रहेको स्पष्ट हुन्छ । यस्ता अवसरहरूले जीवनलाई उल्लासमय बनाइरहन, काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष आदि बन्धनहरू र तिनीहरूका कारण हुन सक्ने पतनबाट जोगिने संकल्पका लागि शिवरात्रि र पशुपतिको महत्व छ । यसको आयोजन र व्यवस्थापनमा यो र यस्ता पक्षहरूमा ध्यान दिन आवश्यक छ ।

शिवका मातापिता को हुन् ? थाहा छैन । शिव कुन जाति समुदायका हुन् ? थाहा छैन । शिव कहाँका शासक थिए ? थिएनन् । तर सबैले कल्याणकारी देवता महादेवका रूपमा उनलाई पूजा गर्दछन् । यो विषय आफैमा महत्वपूर्ण विषय हो । महादेव वा शिव सबैका साझा हुन् ।
उनको पारिवारिक बनोट कस्तो छ ? शिव नन्दी(गोरु)मा सबारी गर्छन् । उनी आप्mनो घाँटीमा सर्पको माला लगाउँछन् । शिव परिवारमा उनकी अर्धाङ्गिनी पार्वतीलाई भगवती दुर्गाको रूपमा मानिन्छ । उनको वाहन सिंह छ । उनका जेठा छोरा कुमार कार्तिकेय छन्, जसलाई स्कन्द पनि भनिन्छ । उनको वाहन मयुर छ । उनका कान्छा छोरा गणेश हुन्, जसको वाहन मुसो छ । उनीहरूको बसोवास कहाँ छ ? हिमालय पर्वतमा । प्रतिकूल भूगोल, शत्रुभावका वाहन ! यसरी शिव समन्वयका प्रतीक हुन् र महादेव भएका हुन् ।

उनको जीवन नै पाशमुक्त छ, कुनै बन्धनमा छैन । त्यसैले उनी पशुपति कहलिएका हुन् । मानिस अनेकौँ पाशहरू र तिनको बन्धनमा बाँधिएको छ । पशुपति नामले पाशबद्धताबाट मुक्ति भन्ने जनाउँछ । शब्द, शब्दको अर्थ र मर्म बुझेर गरिने व्यवहार सार्थक हुन्छ । त्यसो नगरी लहैलहैमा लागेर गरिने कर्म फगत अन्धविश्वास मात्र हुन्छ । पाशुपत दर्शन यस्तो दर्शन हो, जहाँ जात, धर्म, वर्ण, लिङ्गमा आधारित भेद नहुने दृष्टिकोण प्रतिपादन छ । हाम्रो नेपालमा नै पशुपतिनाथको मन्दिर हुनु हामी सबैका लागि गौरवको विषय हो । अनेकौँ विभेद तथा पाशयुक्त जीवनबाट मुक्त भई जीवनलाई सहज बनाउन पाशुपतदर्शन अध्ययन तथा अनुपालन गर्न आवश्यक छ । थोरै पनि मनन् गर्ने हो भने पशुपतिनाथको रूप दर्शनबाट सारतर्फको यात्राका लागि महाशिवरात्रिपर्व सबैका लागि कल्याणकारी हुन सक्दछ । जाति, समुदायभन्दा पर, शासन प्रशासनभन्दा पर रहेर संसारको कल्याणका लागि विषपान गर्ने शिव र उनको सम्मानमा मनाइने शिवरात्रिको महत्व उच्च छ । त्यसैले भनौँ— तन्मे मनः शिव सङ्कल्प मस्तु ! (लेखकः कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)