

दिपेश पछाईं
भैरहवा । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी संगै बुद्धसंग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रर्बधनका लागि आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सुभारम्भ भएको छ ।
एक कार्यक्रमकाबीच उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपालको झण्डा फहराएर साईकल यात्राको सुभारम्भ गरेका हुन् ।

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षिय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षिया आस्वानी खरेल सहभागी छन् । त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षिया बिस्हु दिमन सहभागी छन् । यात्रामा बिश्व साईकल यात्री पुस्कर शाहसहित नेपाल, भारत र जर्मनका १३० जना साईकल यात्री सहभागी रहेका छन् ।
साईकल सिटी भैरहवाको आयोजनामा हरेक बर्ष हुने ‘बुद्ध ज्ञान साईकल यात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए । बुद्ध ज्ञान साईकल यात्रामा सहभागीता जनाउन नेपाल भारत लगायत बिभिन्न स्थानहरुबाट साईकल यात्रीहरु बिहिवार भैरहवा आईपुगेका थिए । उनिहरुलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो ।
लुम्बिनीको पर्यटन प्रबर्द्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धीका लागी गत बर्षदेखी साईकल सिटी भैरहवाले ‘बुद्ध ज्ञान साईकल यात्रा’ गर्न लागेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले ति क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साईकिलिष्टहरुलाई सहभागीता गराएर साईकल यात्रा आयोजना गरीएको हो ।
हरेक वर्ष हुने बुद्ध ज्ञान साईकल यात्राले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरुको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी, ज्ञान प्राप्त र लुम्बिनीबाहेक बुद्धसँग जोडिएका स्थानहरुको प्रचारप्रसारमा पनि सहयोग पुग्ने साईकल सिटि भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए ।
सहभागी साईकिलिष्टहरुले पहिलो दिन करिव ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन् ।
शुक्रबार भैरहवाबाट सुरु भएको साईकल यात्रा नवलपरासीको रामग्राम, हुदै रुपन्देही देबदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख हुदै तिलोतमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगढी किल्ला हुँदै साँझ भैरहवा आईपुग्ने छ ।

त्यसैगरी दोस्रो दिन शनिबार भैरहवाको बसडिलवास्थित शिव मन्दीरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दिर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हँुदै कपिलवस्तुको मानव निर्मीत जगदिसपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट, कुछन्द बुद्धले ज्ञानप्राप्त गरेको स्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान बुद्ध र उनको छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुदै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।
