

बुटवल । तिलोत्तमा नगरपालिका–२ योगिकुटीस्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारि संस्थाले पाँचौँ वार्षिकोत्सव तथा स्थापना दिवस मनाएको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता तथा तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सोही अवसरमा बोल्दै वडाध्यक्ष भट्टराईले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले शेयर सदस्यको शेयर तथा बचत रकम हिनामिना हुन नदिई संस्थालाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सरहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, सम्मान, वृक्षरोपणलगायतका सामाजिक कामहरु गर्दै आइरहेको बताए । पाँचौँ स्थापना दिवसको अवसरमा ७० वर्ष उमेर पुगेका ३० जना ज्येष्ठ नागरिक शेयर सदस्य तथा शेयर सदस्यहरुका बुआआमाहरुलाई सम्मानसमेत गरिएको थियो । यस्तै संस्थाले वार्षिकोत्सवका अवसरमा रामचन्द्र मैनादेवि अनाथ आश्रममा आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा पूर्वअध्यक्ष उमाकान्त शर्मा चापागाईं, पूर्व सल्लाहकार डिलुराम तिवारी, सल्लाहकार टंकप्रसाद पौडेल, बेलप्रसाद शर्मा लगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति सदस्य, शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष तोलाकान्त डुम्रेको स्वागत तथा सचिव रामप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।