

कमल पन्थी
वि.सं.२०१३ साल चैत २० गते नेपालमा सहकारी अभियानको औपचारीक थालनी भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गते ‘राष्ट्रिय सहकारी दिवस’ मनाउने गरिन्छ । आर्थिक रुपमा पछाडि परेका नागरिकहरुको जीवनस्तर उकास्ने उद्देश्य रहेको नेपालको सहकारी अभियानले बेलाबखतको शासकीय व्यवस्था परिवर्तन र विभिन्न आरोह अवरोहसँगै ६८ वर्षको लामो संस्थागत अभ्यास गरेको ईतिहास रहेको छ । नागरिकहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयन मार्फत समाजमा आर्थिक सम्वन्ध स्थापित गर्नु नै सहकारी अभियानको मुख्य लक्ष्य रहेको छ ।
विश्वले अहिले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाइरहेको छ । राष्ट्रिय सहकारी महासंघ नेपालले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने आदर्श वाक्य तय गरेको छ । मर्यादा भित्र रहने, अनुशासित र व्यवस्थित सहकारीले मात्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै समुन्न्त समाज निर्माण गर्छ भन्ने सन्देश प्रवाह गर्न खोजेको छ । ६८आँै राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाउन गइरहेको सन्दर्भमा एक सहकारीकर्मीको हैसियतमा प्रस्तुत आदर्श वाक्य र सन्दर्भ सहकारीको बारेमा छोटकरीमा बिश्लेषणात्मक प्रस्तुति सहित सबै सहकारीकर्मीहरुमा हार्दिक शुभकामना !

(१) सहकारीः मर्यादित सहकारी
सामन्यतया स्थानीय सर्वसाधारण नागरिकहरु एक आपसमा संङ्गठित भएर सामुदायिकताको भावनाले आफना आर्थिक तथा सामाजिक आवश्यकताहरु पुरा गर्नकालागि राज्य संरचना भन्दा पर, नाफामुखी ब्यवसाय भन्दा फरक किसिमले सञ्चालन गरिने मर्यादित ब्यवसाय नै सहकारी हो ।
सहकारी संस्था अविछिन्न, उत्तराधिकारवाला, स्वशासित र संगठित संस्था हो । शेयरसदस्यद्वारा, शेयरसदस्यको लागि, शेयरसदस्यको सकृय सहभागितामा, शेयरसदस्यसँगै भएको श्रोत साधन र सीपलाइ परिचालन गरेर संचालन गरिने आर्थिक कृयाकलाप नै सहकारी हो । नेपालको संविधान २०७२ ले तीन खम्बे अर्थनीति मध्ये सहकारीलाई एक मुख्य खम्वा स्वीकारेको छ । बचत संस्कार, सामाजिक रुपान्तरण, नेतृत्व विकास, महिला तथा विपन्न वर्गको आर्थिक अधिकारलाई प्रोत्साहित गरेको छ ।
नियम, प्रकृया, पारदर्शिता, उत्तरदायित्व, समानता, समावेशीकरण र सामाजिक जिम्मेवारी वहन गर्दै सञ्चालन हुनु नै मर्यादित सहकारीका विशेषता हुन् । मर्यादित सहकारीले सदस्यको आर्थिक र सामाजिक उन्नति मात्र होईन समाजको सम्वृद्धिमा समेत योगदान पुर्याउँछन् । सहकारी प्रतिपादित सिद्धान्त, मूल्य, मान्यताका आधारमा संचालन गरिनु पर्छ । संस्थाले आफैले बनाई स्वीकृत नियम, विनियम तथा सञ्चालक समितिका निर्णयहरुका आधारमा आफैले अनुगमन गरी ठीक किसिमवाट संस्था अगाडी वढाउनुलाई स्वनियमन भनिन्छ।स्वनियमनमा चल्ने सहकारीमा सुशासन हुन्छ र सुशासन कायम भएपछि मर्यादित हुन्छन् । मर्यादाको सीमा नाँघे पछि व्यक्तिमा मात्र होईन जहाँ पनि बिचलन देखिनु स्वाभाविक नै हो ।
सहकारी सिद्धान्त र मान्यता विपरित सञ्चालित सीमित ठूला सहकारीले अविश्वास पैदा गरेका छन् । सहर बजार र सहरउन्मुख क्षेत्रका केही सहकारीको मनोमालिन्य व्यवहारले समग्र सहकारी क्षेत्र नै संकटमा रहेको नकारात्मक भाष्य सिर्जना गरिएको छ । नेपालको सहकारी अभियानमा देखिएको वर्तमान समस्या सहकारीको असफलताको कारण नभएर यसको गलत प्रयोग र सहकारी सिद्धान्त विपरितको अभ्यासको नतिजा हो । विशेष गरेर आजको आलेख यसैको सेरोफेरोमा केन्द्रीत हुने छ ।
(२) वर्तमान परिदृश्य
सहकारीका सकारात्मक पक्षहरु अहिले ओझेलमा परिरहेका छन् । वेलायती अर्थशास्त्री सर थोमस ग्रेसमले Bad Money Drives Out Good भने झै अहिले सहकारीका अशल अभ्यास र पक्षहरु बजारवाट विस्थापित भै रहेका हुन कि भन्ने आभास यी विषयवस्तुले समेत थप बल दिइरहेका छन् ।
मौरी, मह र सहकारी
सहकारी क्षेत्रको बर्तमान अवस्थालई मौरी, मह र सहकारीसंग जोडेर हेर्न सकिन्छ । सहकारी मौरीको घार हो । मौरीको सामूहिक परिश्रम नै मौरीको घार हो । मौरीले एक चम्चा मह जम्मा गर्न एक हजार भन्दा बढी फूलवाट रस लिएर आफनो जीवन (सामान्यतया दुई देखि तीन हप्ता) लगाएका हुन्छन् । सहकारीकर्मीहरुले दुःखजिलो गरेर कमाएको सानोतिनो रकम गाँस कटाएर आईपर्ने गर्जो टार्ने र सुखद भविष्यको कल्पनामा बचत गरिरहेका हुन्छन् । तरअहिले मौरीको घारमा अरिङ्गाल आएर भुभु…गर्दै भन्की रहेका छन् । अरिङ्गाललाई देखेर कर्मशील मौरीहरु थरथर काँपी रहेका छन।अरिङ्गालहरु कुचोले हानेर नियन्त्रण हुनेवाला छैनन् ।
राजनीति कोपभाजनमा सहकारी
राजनैतिक नेतृत्वको कोपभाजनमा सहकारी क्षेत्र छ । साँढेको जुधाई छ तर मिचाईमा सहकारी क्षेत्र परेको छ । सहकारी माथि चारैतिरवाट राजनैतिक भीषणआक्रमण भै रहेको छ । नकारात्मक भाष्य सिर्जना गरिएको छ । जसरी असिनाले बालीनालीलाई सखाप पारेपछि अन्त्यमा आफै पग्लिएर समाप्त हुन्छ ठिक त्यसैगरी सहकारीका काम र किर्तीहरुलाई बिगार्न भरमग्दुर लागि परेको जस्तो देखिन्छ ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने दर्शनबाट ओतप्रोत भै सञ्चालन हुने सहकारी अहिले सर्वसाधारण बचतकर्ताले कनीकुथी गरी जम्मा गरेको रकम सीमित व्यक्तिले राजनैतिक आडमा अपचलन गरि सुरक्षाकवचमा रहने होडवाजी गरीरहेको आभास हुदैछ । सहकारीरुपी गुलावको बोटबाट सुन्दर फूल टिप्न लुछाँचुडी गर्दै फगत काँडामात्र छाड्न उद्यत देखिन्छन् । अहिले राजनैतिक वृत्तमा एकले अर्कोलाई हिलोछ्याप्दै सिद्धाउने रणभूमि बनेको छ सहकारी । चक्रव्यूह मात्र होईन, आयुध चक्रव्यूह बनाईदै छ । सहकारीका समस्याहरु थप पेचिलो बन्दै गइरहेका छन् ।
तथ्यांकीय भयावह अवस्था
अर्थतन्त्रका तीन खम्वा सरकारी,निजी र सहकारी सवैको अवस्था कमजोर देखिन्छ । व्यावसायिक गतिविधि निकै कम भै रहेकाछन।नियमित अर्थतन्त्र आशातीतरुपमा चलायमान छैन।सिथिल जस्तै छ । सरकारले लक्ष अनुसारको राजश्व संकलन र पूँजीगत खर्च गर्न सकिरहेको छैन । निजीक्षेत्र थप लगानी गर्न उत्साहित छैन । बैकमा ६ खर्व बढी रकम ऋण दिन मिल्ने पूँजी थुप्रिएको छ । ऋणको व्याजदर पनि एकल अंकमा झरेको छ तर कर्जा प्रवाह हुन सकिरहेको छैन । सहकारीमा बचतकर्ताहरुको अरवौँ रकम डुबेको छ । कर्जा अशुलीमा चुनौति देखिएको छ । बैंक तथा वित्तिय संस्थाहरुमा मात्र होईन सहकारीमा खराव कर्जाको ग्राफ उकालो चढ्दो छ ।
आर्थिक सर्भेक्षण २०८० अनुसार ४ खर्व ७८ अर्व ११ करोड बचत परिचालन, ४ खर्व ५ अर्व ३ करोड ऋण परिचालन भएको तथ्यांकले देखाउँछ । ऋण लगानीको ५० प्रतिशत भन्दा वढी अर्थात २ खर्व ५० अर्व भन्दा वढी रकम बिचलन भएको अनुमान छ।यो नेपालको कूल ग्राहस्थ उत्पादनको झण्डै पाँच प्रतिशत र प्रतिव्यक्ति करिव नौ हजार पर्न आउँछ । (रुप खड्का कान्तिपुर २०८१÷०७÷०९) यो निश्चय पनि राम्रो सन्देश होईन ।
सहकारीमा स्थानीयपन हुन्छ । स्थानीय साधनको परिचालन गर्दै स्थानीयलाई एक आपसमा आवद्द गर्नु सहकारीको धर्म हो, कर्म हो तर स्थानीयपालिका भन्दा प्रदेश र मुलुकभरी कार्यक्षेत्र रहेको सहकारीमा बढी समस्या देखिएको छ किनभने सहकारी सदस्यहरुको दूरी निकट हुन नसक्दा शेयर सदस्यहरुको सम्पर्क र निगरानी कमजोर हुन्छ । जसले गर्दा संचालकको मनोमालिन्य बढ्दो छ । अहिले सहकारी क्षेत्र सुशासनका दृष्टीले अत्यन्त कमजोर देखिन्छ । सहकारी वारे कमजोर सरकारी दृष्टिकोण, सहकारी संस्थाहरु संस्थागत हुन नसक्नु, सञ्चालक पेशेवर हुन नसक्नुका अलावा यी नीतिगत कुराहरुलाई यहाँ जस्ताको तस्तै पस्कने जमर्को गरे ।
एउटै व्यक्ति/समितिको निरन्तरताको जोखिम
सहकारीको नेतृत्व एउटै व्यक्तिमा मात्र निर्भर छ भने सहकारी दिगो हुन सक्दैन । नेतृत्वको विविधिकरण र विकास नै संस्थाको क्षमता वृद्धीको परिसूचक हो । एउटै व्यक्तिलाई अध्यक्ष पदमा र समितिलाई निरन्तरता दिँदा सीमित व्यक्तिको हालीमुहाली हुने,वित्तिय अपचलन लुकाउने, दोहनकारी संस्कृति र संस्कारको विकास हुने संभावना प्रवल रहन्छ। संस्था विधि, प्रणालीवाट चल्नु पर्छ नकि व्यक्तिबाट । प्रणाली यस्तो संरचना हो जहाँ अमुक व्यक्ति भए पनि नभए केही फरक पार्दैन, संस्था पारदर्शीरुपमा चल्छ,चलिरहन्छ । संस्थामा आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी हुनु पर्छ ।
वित्तिय जोखिमको विश्लेषण नगरी ऋण प्रवाह
ऋण प्रवाह गर्दा उसको वित्तिय हैसियत, सम्पति वा आम्दानीको श्रोत, कर्जा वहन गर्न सामथ्र्य कमजोर भए नभएको, नगदप्रवाहको अवस्था सुक्ष्मरुपमा निजको ईतिहासको अध्ययन गर्ने नगरेकोले पनि समस्या उत्पन्न भएको हो । वित्तिय जोखिमको विश्लेषण नगरी एकपटक लिएको ऋण चुक्ता नभै पटक–पटक र गैर सदस्य तथा कार्यक्षेत्र बाहिरकालाई समेत ऋण दिदा वेथिति बढेको हो ।
प्रोक्सी ऋणको गलत अभ्यास
एक व्यक्तिको नाममा वा तिनको तर्फवाट वोलवालाले ऋण लिने गलत अभ्यास कानून विपरित हो । साथै गैर सदस्यको कारोवारले ऋणको जिम्मेवारीको विषयमा विवाद उत्पन्न भै ऋण अशुलीमा समस्या आउन सक्छ । ऋण लगानी फर्जी, ऋणी खोज्दा नभेटिने, सम्पर्कमा नआउने, तमसुकमा जमानी बस्ने कृत्रिम खडा जस्ता धेरै व्यवहारिक समस्याहरु देखिने र अशुलीमा कानूनी अड्चन आउने हुन्छ ।
दायित्व व्यवस्थापनमा महत्व नदिइनु
कुनै पनि शेयर सदस्यले चाहेको वखत शेयर/बचत निक्षेप फिर्ता लिएर सदस्यता त्याग्न सक्ने कानूनले व्यवस्था गरेको छ । जम्मा गरिएको शेयर र बचत निक्षेप रकम संस्थाको दायित्व हो । रकम मागेकै अवस्थामा फिर्ता दिन सक्नु दायित्व परिपक्व हुनु हो । वित्तिय कारोवार गर्ने सहकारीको मुख्य दायित्व बचत निक्षेपकोआकार वासलातमा ८० प्रतिशतको हाराहारीमा हुन्छ । तर सहकारीहरुले दायित्व व्यवस्थापनलाई खासै महत्व दिएको पाईदैन । सबै सदस्यहरु एकैपटक फिर्ता माग्न आउने संभवना नभए पनि माग्न आउनेलाइ ससम्मान फिर्ता दिन सक्नु पर्छ । अन्यथा संस्थाको विश्वसनियतामा कमी आउन सक्छ । जसरी हामीले व्यावसाय वा व्यवहारमा जगेडाको व्यवस्था गरेका हुन्छौ त्यसरी नै सहकारीमा पनि गर्नु पर्ने हुन्छ ।
वित्तिय खुलासा नहुनु
सहकारीहरुले आफ्नो वास्तविक आर्थिक अवस्थाको वित्तिय खुलासा सदस्यहरु तथा सरोकारवाला समक्ष नियमित प्रस्तुत गर्नु पर्छ । सो नगर्दा आउने कतिपय साना समस्याहरु भयावह देखिन्छन।सहकारीको वास्तविक अवस्था नै नवुझी सम्पूर्ण प्रणाली प्रति नै आक्रोश व्यक्त गरिन्छ । जसको प्रत्यक्ष प्रभाव अन्य सहकारीमा परी मर्यादित सहकारीहरु पनि चपेटामा परेको पाईन्छ ।
सञ्चालकमा युवा सहभागिता नहुनु
युवाको सहभागिता न्यून हुँदा विशेषत सहकारीले पुस्तान्तरणको समस्या भोग्नु पर्ने हुन सक्छ । युवाहरुको परिचालनकोलागि अनिवार्यरुपमा युवालाई समेट्ने प्रकृतिको युवा उपसमिति पनि गठन गरिनु उपयुक्त हुन्छ । सहकारी अभियानमा युवा सहभागिताले युवा सामाजिकीकरण तर्फ उन्मुख हुने र सहकारीको पनि भविष्य सुरक्षित हुनेमा दुई मत छैन ।
सहकारी पारपाचुके र नक्कली अंशवण्डा
पहुँचवालाहरुले सहकारीवाट गलत मनसायले कर्जा लिने, रकम अपचलन गर्ने र कानूनी कारबाहीवाट बच्न नक्कली सम्वन्धविच्छेद र अंशवण्डा समेत गर्ने गरेको अनुसन्धानवाट खुल्न आएको छ । यसले राजनैतिकवृत्तमा पनि तहल्का मच्चाईदिएको छ । सहकारी पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेपछि अनुसन्धानको क्रममा बाहिर आएको यो नौलो विषय हो ।
(३) समुन्नत समाज
हाल ३१ हजार जति सहकारी संस्थामा करिव ७४ लाख सदस्य आवद्ध छन भने करिव ९४ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । सहकारी मार्फत सञ्चालन हुने सीपमूलक तालिमले आत्मनिर्भर वन्न सिकाउँछ । स्वावलम्वन प्रवद्र्धन गर्छ । आय आर्जन गरी नियमित बचत गर्न उत्प्रेरित गर्छ । स्थानीय सीप एवं छरिएर रहेको पूँजीलाई एकिकृत गर्छ । पूँजीको अभाव भै निष्कृय अवस्थामा रहेको जनशक्तिलाई आयमूलक, व्यवसायमूलक कार्यमा कर्जा प्रवाह गरेर सहयोग पुर्याउँछ । जसवाट स्वाभिमानपनको विकास हुन्छ । वेरोजगारी समस्या कम हुदै गई गरिवी निवारण कार्यक्रममा पनि सहयोग पुर्याउँछ । जहाँ सामाजिक, आर्थिक, सांस्कृतिक विकासको लागि वातावरण र अवसर प्राप्त हुन्छ त्यो समाज नै समुन्नत समाज हुन सक्छ ।
‘समृद्ध नेपाल सुखी नेपाली’नेपाल सरकारको प्रमुख लक्ष्य र नीति रहेको छ । यो महान राष्ट्रिय सोच सहितको विकासका लक्ष्यहरु हासिल गर्नका लागि सहकारी क्षेत्रको अग्रणी भुमिका रहन्छ । आफ्ना सदस्यहरुसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धी र सदस्य केन्द्रीत सेवा प्रवाह मार्फत सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुनु पर्छ । समय सन्दर्भ अनुसार नीति, विधि र प्रविधिमा आधारित सहकारी भन्ने मूल नाराका साथ सञ्चालन गर्ने असल अभ्यासको थालनी गरिएमा सहकारीमा सुशासन कायम भइ सहकारीहरु चिरकाल पर्यन्त दिगोरुपमा चलिरहन्छन् । जय सहकारी ।