

बुटवल । बुटवल सुख्खानगरस्थित दशरथ टोल विकास संस्थाले नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलबहादुर सारू, संस्थाका अध्यक्ष गेहेन्द्रराज न्यौपानेलगायतले भित्तेपात्रो विमोचन गरे ।

सोही अवसरमा बोल्दै वडाध्यक्ष सारुले आधारभूत आवश्यकताको विकासका लागि टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै वडासँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरे । आफ्नो टोललाई सफा र हरियाली बनाउन सबै सदस्यहरु एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए । दशरथ टोल विकास संस्थाले वडामै उत्कृष्ट काम गरेको बताउँदै उनले टोललाई अझै नमुना बनाएर अगाडि बढ्ने कार्यक्रमका योजना ल्याउन आग्रह गरे । नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै वडाध्यक्ष सारुले टोलविकास संस्थाले सञ्चालन गर्ने बिभिन्न सामाजिक काममा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाका अध्यक्ष न्यौपानेले स्वास्थ्य, शिक्षा, सरसफाइ, सुरक्षालगायतका क्षेत्रमा संस्थाले निरन्तर काम गर्दै आएको बताए । कार्यक्रममा संस्थाका सल्लाहकार, पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव ज्योति थापा मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।