नमुना बन्दैछ बुटवल रामनगर बस्ती

–दुई राजमार्ग जोड्ने हरियाली सडक स्तरोन्नति हुँदै –बस्तीमा नालीसहितका सडक धमाधम पिच

मेचीकाली संवाददाता

१३ जेष्ठ २०८२, सोमबार
305 shares

रमेश पराजुली

बुटवल। बुटवल उपमहानगरपालिका–१० अन्तर्गत रामनगर क्षेत्रको शहरी विकासको गति तीव्र बन्दै गएको छ । बस्तीलाई थप व्यवस्थित, सुन्दर र हरित बनाउन संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा एकीकृत प्रयास सुरु भएको छ । हाल रामनगर क्षेत्रमा १३ करोड ३५ लाख रुपैयाँ बराबरको बजेटमा नालीसहितका सडक निर्माण र दुई राजमार्ग जोड्ने हरियाली पथको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।

हरियाली पथले पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गलाई जोड्छ । यो सडक रामनगर अन्तर्राष्ट्रिय सभा हलको छेउँबाट योगीकुटी विद्युत् स्टेशनसम्म पुग्नेछ । यसले दुई राजमार्ग, बस्ती र पालिकालाई समेत जोड्नेछ । जंगल छेउको वाइपास भएकाले यसलाई हरियाली पथ भनिएको हो । रामनगर बस्तीका आन्तरिक सडकहरुमा नाली निर्माणका साथै स्तरोन्नति कार्य भइरहेको छ भने, मुलुकका दुई मुख्य राजमार्ग (पूर्व–पश्चिम र सिद्धार्थ राजमार्ग) जोड्ने रणनीतिक महत्वको ‘आन्तरिक वाइपास’ सडकको रुपमा रहेको हरियाली पथको २५ सय मिटर खण्डमा कालोपत्रे (पिच) गर्न बजेट विनियोजन गरिएको हो ।

सांसदहरूको अगुवाई, स्थानीयको अपनत्व
योजनाको सफल कार्यान्वयनका लागि संघीय सांसद विष्णु पौडेल र लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद लिला गिरीको विशेष पहल र अगुवाईमा बजेट विनियोजन भई अहिले कार्यान्वयन भइरहेको एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेलले बताए । यता बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तथा युवा नेता बलबहादुर पुनले स्थानीय बस्तीलाई नमुना बनाउने, हरियाली प्रवद्र्धन गर्ने र योजना निर्माणमा स्थानीयको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रयास गरिएको बताए । उनले भने, ‘वडाका बस्तीलाई सुन्दर र व्यवस्थित बनाउने, तीनै तहका सरकारसँग समन्वय गर्दै योजना छनोट गरिएको हो ।’

स्थलगत निरीक्षण, गुणस्तरमा जोड
पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद लिला गिरीले प्राविधिक टोलीसहित आइतबार निर्माणस्थलको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सांसद गिरीले निर्माणकार्य गुणस्तरीय र प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धितलाई निर्देशन पनि दिएका छन् । उनले भने, ‘विकास निर्माणका काममा नागरिकको निगरानी र अपनत्व जरुरी छ । जबसम्म नागरिकले निगरानी गर्दैनन्, तबसम्म निर्माणमा गुणस्तर कायम रहन सक्दैन ।’

विकास निर्माणमा समन्वय गर्दै आएका एमाले जिल्ला सदस्य तथा नगरयोजना आयोगका पूर्वसचिव मेघराज भट्टराईले समेत सांसद पौडेल, गिरी र अर्का संसाद भोजप्रसाद श्रेष्ठको अगुवाईमा भइरहेको योजनाको कार्यान्वयन स्थिति, बजेटको सदुपयोग र नागरिक अपनत्वको विषयमा निरीक्षण भएको जानकारी दिए । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इञ्जिनियर महेश्वर लम्सालले निर्माण व्यवसायीलाई तोकिएको समय (आगामी असार मसान्त) भित्रै निर्माण सक्नेगरी काम भइरहेको बताए । सडक निर्माण भएपछि मुख्य राजमार्गको बैकल्पीक सडकका रुपमासमेत प्रयोग गर्न मिल्ने गरी निर्माणको काम भइरहेको उनले बताए ।

स्थलगत निरीक्षणमा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल नगर इन्चार्ज गोपाल राना, बुटवल–१० का वडाध्यक्ष बलबहादुर पुन, एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष शोभाखर पोखरेल, क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक ऋषिराम पाण्डे, सह–संयोजक राजेन्द्र ढकाल, बिभिन्न टोल विकास संस्थाका अध्यक्ष, स्थानिय बासिन्दाहरु लगायतको सहभागीता रहेको थियो ।

समृद्ध बुटवलका लागि एकीकृत प्रयास
यो परियोजना बुटवलको नगर विकासको नमुना बन्ने दिशामा अघि बढेको छ । जनप्रतिनिधिहरुको समर्पण, प्राविधिक टोलीको संलग्नता र स्थानीय नागरिकको सक्रिय सहभागितामार्फत रामनगर अब एक ‘व्यवस्थित, सुरक्षित र हरित बस्तीको पहिचान’ बन्ने बाटोमा अग्रसर रहेको वडाअध्यक्ष पुनको दाबी छ ।

अध्यक्ष पुनले चालू आवमा अन्य विभिन्न योजनाहरु पनि कार्यान्वयन भइरहेको र आगामी आवका लागि संघीय र प्रदेश सरकारमा समेत थप योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरिएको बताए । संघ, प्रदेश र स्थानीय सरकारको बजेटमा भइरहेका काममा वडाका सबै जनप्रतिनिधिहरु, टोलविकास संस्था र नागरिक अगुवाहरुको समन्वयमा कार्यान्वयन भइरहेको उनले बताए ।