बुद्धशिक्षामा लोक कल्याणकारी राज्य र यसको महत्व

मेचीकाली संवाददाता

४ असार २०८२, बुधबार
57 shares

पोमनारायण पौडेल

गौतमबुद्धले आफ्नो उमेरको ३५ वर्षदेखि ८० वर्षको उमेर अवधिसम्म समाज रहेका विभेद, अन्याय तथा राज्यका सेवाहरुको प्रभावमा प्रभावकारीता ल्याई नागरिकहरुलाई दुःख मुक्त गर्ने उद्देश्यले राजाहरुलाई राज्य कसरी संञ्चालन गर्ने, राज्य संञ्चालकहरुको चरित्र, भूमिका र योग्यता कस्तो हुनु पर्छ भन्ने विषयमा उपदेश गर्नु भएको थियो । त्यसवेलाका राजाहरुले पनि बुद्धले प्रदान गर्नु भएको उपदेशका आधारमा राज्य सञ्चालन गरेका थिए । त्यसले नागरिकहरुमा खुसी थपिदै गयो र राज्य लोक कल्याणकारी हुदै गए ।

नेपालको वर्तमान सन्दर्भमा पनि बुद्धको उपदेश उत्तिकै सान्दर्भिक देखिन्छ । वडा देखि केन्द्रसम्म जनताको सेवाका लागि काम गरीरहेका व्यक्तिहरुले बुद्धको शिक्षालाई आधार मानी काम गर्नु भयो भने नागरिक खुसी हुन्छन्, देश समृद्ध बन्छ र शासन सत्तामा रहनेहरुको पुस्तौ पुस्तासम्म यस बृद्धि हुने छ । लोक कल्याणकारी राज्य निमार्णका लागि बुद्धले मगधका राजा बिम्बिसारलाई दिएको देशनामा निम्न उपदेशहरु प्रदान गर्नु भएको थियो । यो शिक्षा नेपालको वर्तमान सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक देखिएकाले प्रस्तुत गरिएको छ,

क) विद्यावान (विद्धान)हरूको सम्मान
जुन देशमा विद्यावानहरूको सम्मान हुदैन त्यस देशको शासन लोक कल्याणकारी हुन सक्दैन । मानिसको सम्मान उसको क्षमता तथा गुणहरूको आधारमा हुनु पर्ने बौद्ध शिक्षाको जोड हो । मानिसहरुलाई बुद्धले विद्या र अविद्या गरी दुई वर्गमा विभाजन गर्नु भएको छ । लोभ, द्वैष र अहंकारी गुण भएको ब्यक्ति अविद्या भएको ब्यक्ति र मैत्री, करुणा, र सामाजिकता युक्त चिन्तन विद्यावान हो भनी उल्लेख गरिएको छ । अविद्यायुक्त व्यक्ति राज्य सञ्चालनमा रहन्छ भने त्यस देशको उन्नतीको सट्टा अवनति हुन्छ भने विद्यावान व्यक्ति राज्य संचालनको भूमिका भएमा लोक र लोकबाँसीको कल्याण हुन्छ । त्यसैले नागरिकहरुले राज्य सञ्चालन लागि विद्यावान व्यक्तिहरुको छनौट गर्नु पर्दछ । विद्यावान ब्यक्तिहरुको समूहबाट मात्र लोक कल्याणकारी राज्यको निर्माण सम्भव छ ।

ख) धर्मको संरक्षण
लोक कल्याणकारी राज्यमा धर्मको संरक्षण तथा प्रवर्धन गरिन्छ । सजग, क्लेशमुक्त, जीवन सफल पार्नु हो नै मानव जीवनको सफलता हो । व्यक्तिले आफ्नो ब्यवहारमा सकरात्मक कुराहरुको धारण गर्दछ भने त्यो धर्म हो । नकरात्मक कुराहरु व्यवहारमा धारण गर्नु अधर्म हो । धर्मले नै न्याय र अन्याय छुट्टाउँदछ । समाजको प्रगति, शान्ति र समृद्धिका लागि धर्मवान व्यक्तिहरुको रक्षा जरुरी हुने कुरा बौद्धशिक्षामा उल्लेख भएको पाईन्छ ।

ग) आचरणको सम्मान
खराव आचरणको व्यक्ति नीच हो भने असल आचरण भएको व्यक्ति महान हो । समाजमा गलत आचरण भएका व्यक्तिहरूको निन्दा हुने र असल आचरण भएका व्यक्तिहरूको सम्मान हुने संस्कृति राज्यले स्थापित गर्नु पर्दछ र फलस्वरुप लोक कल्याणकारी राज्य निमार्णमा योगदान पुग्ने कुरा लोककल्याणकारी राज्यको

घ) आर्थिक समानता
लोककल्याणकारी राज्यको महत्वपूर्ण विशेषता मध्येको आर्थिक समानता महत्वपूर्ण हो । आर्थिक समानताका लागि राज्यका सबै साधन तथा स्रोतहरूको पारदर्शि र प्रभावकारी वितरण प्रकृया आवश्यक पर्दछ । राज्यले कहिल्लै पनि विभेद गर्नु हुदैन भन्ने सिद्धान्त बुद्ध शिक्षाको महत्वपूर्ण सिद्धान्त हो । सबै नागरिक बीच आर्थिक समानता हुनु लोक कल्याणकारी हो । सिमित व्यक्ति धनीहरु र अधिकांश व्यक्ति गरिब हुुनु लोककल्याणकारी राज्यको विशेषता होइन । त्यसका लागि सबैलाई रोजगारी र उद्यमशीलता (सम्यक आजिविका) प्रदान गर्नुे कुरालाई बौद्धशिक्षाले जोड दिएको छ ।

ङ) इमान्दारीताको कदर
राजनीतिमा इमान्दारीता महत्वपूर्ण पक्ष हो । राज्य सञ्चालनकर्ताहरूमा यदि इमान्दारिता भएन भने लोक कल्याणकारी राज्यको परिकल्पना गर्न सकिदैन । राजनैतिक घोषणापत्रहरूमा नागरिक बीच एक कुरा गर्ने व्यवहारमा त्यसको उल्टो देखियो भने कहिल्लै लोककल्याणकारी हुन सक्दैन । त्यसैले बुद्ध शिक्षाको महत्वपूर्ण पक्ष शीलहरूको पालना र सोको व्यवहारिक प्रयोग हो । पञ्चशीलको पहिलो तत्व नै सत्य बचन हो ।

च) न्यायलयको गरिमा
कानूनको नजरमा सबै समान हुनु पर्दछ । कानूनको पालना नगर्ने व्यक्तिले कानूनद्धारा सजाय पाउनु पर्दछ । गल्ती कस्ले गरेको हो भन्ने कुरा जान्नका लागि न्यायलयहरूको स्थापना राज्यले गरेको हुन्छ । न्यायलयले दोषिको पहिचान गरी कानूनको आधारमा न्याय गर्नु पर्दछ । यसै प्रशङ्गमा बुद्ध कपिलवस्तु आएको वेला बुद्धकी अर्की आमा प्रजापति गौतमीले एउटा चीवर दान गर्न खोजेकी थिईन । बुद्धलाई उक्त चीवर लिन आग्रह गरिन तर बुद्धले चीवर लिन अस्विकार गरे । बुद्धले उक्त चिवर गौतमीलाई मलाई नदिई संघलाई दिन आग्रह गरे । गौतमीले जिद्दी गरिन र भिक्षुहरूले चिवर लिन बुद्धलाई आग्रह गरे । तर बुद्धले भिक्षुहरूको विनयमा त्यसो नभएकाले विनयमा शंसोधन भए मात्र लिने भने पनि भिक्षु संघले विनयमा शंसोधन गरी शिरानी बनाउन सकिने भनी अनुमती पाए पछि बुद्धले आमावाट चीवर लिनु भएको दृष्टान्त विनय पिटकमा चर्चा गरिएको छ । निष्पक्ष न्यायले न्यायलयको गरिमालाई उच्च राख्दछ ।

अन्त्यमाः असल समाजका लागि असल नागरिक आवश्यक पर्दछ असल नागरिक भए मात्र असल नेतृत्व प्राप्त हुन्छ । असल नेतृत्वले मात्रै लोक कल्याणकारी राज्य निर्माण गर्न सक्छन् । त्यसैले बुद्धका शिक्षाहरुलाई ग्रहण गरौँ । सबैको मंगल होस् ।।