

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ बाङ्गलालाई पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा घोषणा गरिएको छ । उक्त वडालाई जिल्लाको चौथो वडाको रूपमा पुर्ण संस्थागत प्रसुति वडा घोषणा गरिएको हो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताए । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले काम गरीरहेको बताए । प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइने पनि उनले बताए ।
पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेपछि त्यहि मापदण्डका आधारमा लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा भएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताए ।
कार्यक्रममा वडा सदस्य चोपनारायण श्रेष्ठ, पत्रकार अनिल नेपाली, समाजसेवी मुत्तिराम भण्डारी लगायतले आआपरनो धारणा राखेका थिए । कार्यक्रममा पुर्ण प्रसुति वडा घोषणा गराउन योगदान गर्ने स्वास्थ्यकर्मी महिला स्वयमसेविका लगायतलाई सम्मान गरिएको थियोे । कार्यक्रम बाङ्गला स्वास्थ्य चौकीका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, स्वास्थ्य चौकी प्रमुख मिनराज पौडेललको स्वागत तथा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, महिला स्वयमसेविका लगायतको सहभागीता रहेको थियोे । कार्यक्रममा सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिकयुक्त आहार समेत वितरण गरिएको थियोे ।