रास्वपा गुल्मी–रुपन्देही सम्पर्क कार्यालय स्थापना

मेचीकाली संवाददाता

८ असार २०८२, आईतवार
91 shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गुल्मी–रुपन्देही सम्पर्क विभागको कार्यालय बुटवलमा स्थापना भएको छ । रास्वपाको स्थापना दिवसका अवसमा बुटवलको ट्राफिक चोकमा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क विभागले पार्टी संगठनलाई अगाडि बढाउन पुलको रुपमा काम गर्ने बताए ।

यसैगरी रुपन्देही सभापति डा.वुद्धि शर्माले संगठन निर्माण गर्दै समाजमा रहेका विकृति विसंगति र अन्यायका विरुद्धमा अगाडि वढ्न आग्रह गरे । केन्द्रिय मानव अधिकार सदस्य गणेश पौडेलले आगामी चुनावलाई मध्यनजर गर्दै चुनावी कार्यक्रमको बारेमा पनि योजना बनाएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रचारप्रसार विभाग संयोजक महेन्द्र उपाध्याय, नगर सभापति राजन पाण्डेलगायतले आआफ्नो भनाइ राखेका थिए । यस्तै सम्पर्क विभाग संयोजक चेतबहादुर बस्नेतले यस विभागले पार्टी संगठन विस्तारको कामसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाए । विभागकी सहसंयोजक फुलमति रिजालको स्वागत तथा सदस्य गोकर्णराज गिरीको सञ्चालनमा कार्यक्रम भएको थियो ।