बौद्ध शिक्षाले पहिल्याएका असफलताका कारणहरू

मेचीकाली संवाददाता

१९ असार २०८२, बिहीबार
13 shares

पोमनारायण पौडेल

(अघिल्लो अङ्कको बाँकी भाग) …पराभव भनेको असफल, पतन, नाश, हानि वा विनाश हो । मानिसहरू किन पराभव वा पराजय वा पतन वा असफल हुन्छ भन्ने सन्दर्भमा बुद्धले प्रदान गरेको महत्वपूर्ण शिक्षा हो । मानिस पराभवका हुनु पर्ने कारणहरूका वारेमा पवित्र बौद्धग्रन्थ सुत्र निपात अट्ठकथामा उल्लेख गरिएको छ । पराभवका १२ कारणहरूका बारेमा गत अङ्कहरू देखि पराभव सुत्रलाई प्रस्तुत गरिएको छ । यस अङ्कमा बाँकी कारणहरूलाई प्रस्तुत गरिएको छ ।

६. मिठो खानेकुरा एक्लै खाएमा पतन हुन्छ
बुद्धले मानिसको पतन हुने अर्को कारण भनेको मिठो खानेकुरामा केन्द्रीत भई एक्लै खाएमा उसको पतन हुन्छ भन्नु भएको छ । यस बारेमा बुद्धले निम्न गाथा प्रस्तुत गर्नु भएको छ,
पहूतवित्तो पुरिसो, सहिरञ्ञो सभोजनो ।
एको भूञ्जति सादुनि, तं पराभवतो मुखं ।।
जो व्यक्ति जोसँग प्रशस्त्र मात्रामा सुन, चाँदी, मणिहरू छन्, जोसँग प्रशस्त मात्रामा खाद्य पदार्थ छ तर अरुलाई बाड्दैन र एक्लै आफूमात्रै उपयोग गर्दछ वा अरुलाई नदिई एक्लै खान्छ, त्यस व्यक्तिको परावभ वा असफलता निश्चित छ । यस गाथामा पहुतवित्तो भन्नाले मानिससँग आवश्यकता भन्दा बढि सून, चादीको संग्रह गर्नु, सहिरञ्ञो भन्नाले प्रशस्त मात्रामा खाद्य सामाग्री जम्मा गर्नु र एको भूञ्जति सादुनि भनेको स्वादिष्ट भोजन आफ्ना छोराछोरीहरूलाई पनि नदिई लुकार एक्लै खानु भन्ने हो ।
यस गाथामा बुद्धले भन्न खोजेको कुरा के हो भने व्यक्तिसँग प्रशस्त धन सम्पत्ति रहेको छ तर त्यसको उपयोग एक्लै गर्दछ । त्यस सम्पत्तिको उपयोग अरुका लागि भन्दा पनि आफ्नै खानाका लागि प्रयोग गर्दछ, त्यस प्रकारका मानिसहरूको पतन निश्चित भनिएको हो । जुन व्यक्तिले आफूलाई मिठा मिठा खाने कुराहरूको खोजीमा लाग्छ उसको जीवन यस्तै काममा समाप्त हुन्छ । अरुलाई दान गर्ने वा आफूसँग भएको खानेकुरा अरुलाई पनि बाडेर खाने संस्कार नै रहदैन । यस्ता प्रकारका चरित्र भएका व्यक्तिको चिन्ता खाने कुरामा मात्रै केन्द्रीत हुन जान्छ । यस्ता खन्चुवाहरूलाई समाजका कसैले पनि विश्वास गर्दैनन् किन कि उसलाई खानको लोभि छ भन्दछन् । वर्तमान हाम्रो समाजको सन्दर्भमा भ्रष्टाचार, अनियमितता, शोषण, दमन जस्ता व्यवहारहरू यसकै उपज हुन् । त्यसैले यस्ता नकात्मक स्वभाव र व्यहारहरूलाई त्याग्नुपर्दछ । सबै मैले नै खाऊँ मै लाउँ भन्ने स्वभाव भएका व्यक्तिहरूको पतन वा जीवनको असफलता निश्चित छ भनिएको हो । जीवनलाई सफल बनाउने हो भने आफूसँग भएको सम्पत्ति आफूलाई मिठा खाने कुरामा केन्द्रीत नगरी सबैलाई बाँडिचुडी खानुपर्दछ भन्ने कुरामा विश्वास गर्नुपर्दछ ।

७. जाती, धन, गोत्रको अभिमान पनि पतनको कारण हुन्छ
भगवान् गौतम बुद्धले यस पराभव सूत्रमा देवताहरूलाई देशना गर्दा भनिएको सातौँ गाथा हो । जुन व्यक्तिले आफूलाई जाती, धन र गोत्रको अभिमान गर्दछ , त्यस्ता व्यक्तिहरूको पनत अनिवार्य हुन्छ भनी निम्न गाथा प्रस्तुत गर्नु भएको छ,
जातीत्थद्वो, धनत्थद्वो, गोत्तत्थद्वो, च यो नरो ।
सञ्ञांति अतिमञ्ञेति, तं पारभवो मुखं ।।
माथिको गाथाको अर्थ हो, यदि कुनै व्यक्ति आफ्नो जाति (जन्म), धन सम्पत्ति र आफ्नो गोत्रप्रति घमण्ड गर्दछ र यसैका आधारमा अरुको निन्दा गर्दछ भने त्यस प्रकारका मानिसहरूको पतन अनिवार्य छ भनिएको हो । मानिसको पतन हुने वा उसको असफलताको कारण जातिय अभिमान गरी आफूलाई उच्च कूलको सम्झने र अरुलाई निच कूलको सम्झने गर्दछ, त्यस्ता मानिसहरू कहिल्लै सफल हँुदैनन् । मानिस सबै समान छन् त्यस मध्येको एक म पनि हुँ भनेर सोच्नुपर्दछ । तब मात्रै उसलाई सबै जातिहरूले समान रुपमा सम्मान गर्दछन् र उसको जीवन सफल हुन्छ ।

जुन व्यक्तिले धन सम्पत्ति प्रति अभिमान गर्दछ । धन सम्पत्ति भएकै कारण अरु प्रति विभेद तथा शोषण गर्दछ त्यस्ता मानिसहरूको पतन वा पराभव अनिवार्य हुन्छ । किनकि त्यस सम्पत्तिले समाजमा रहेका अन्य व्यक्तिहरूलाई त्यसले कुनै सहयोग गर्दैन भने त्यसको के काम । त्यसैले कहिले पनि आफ्नो सम्पत्तिको अभिमान गर्नु हुँदैन । सम्पत्ति भनेको साधन मात्र हो अरु होइन भन्ने कुरा जान्न जरुरी छ । जुन व्यक्तिले आफ्नो गोत्रप्रति अभिमान गर्दछ । म उच्च गोत्रको अरु नीच गोत्रको भनेर विभेद गर्दछ त्यसलाई पनि पराभव हुनु अनिवार्य हुन्छ । गोत्र उसको वंशानुगत पहिचान त होला तर त्यही उसको अभिमानको विषय बनाउनुहुँदैन ।
बुद्धको जीवन कालमै कपिलवस्तुको पतन भयो हज्जारौँ शाक्यहरू मरे भने अन्य संरचनाहरू पनि ध्वस्त भए । यस्तो हुनु पनि मुख्य कारण भनेको जातिय, गोत्रीय र सम्पत्ति कै अभिमान प्रमुख थियो । शाक्यहरूले जाति तथा गोत्रको अभिमानकै कारण कोशल नरेश प्रसेनजीतलाई राजकन्या भनि दासी कन्या विवाह गरिदिएका थिए । त्यही कारण कोशल राजा विडुडभले आफ्नै मावली खानदान सहित प्राचीन कपिलवस्तुको ध्वंश भएको इतिहास हाम्रासामु रहेको छ । त्यसैले यस्ता कुराहरूको अभिमान नगरौँ ।

८. जुवाडे, सरावी र स्त्रीगमन गर्नेहरूको पतन हुन्छ
भगवान् बुद्धले मानिस पराभव हुने अर्को आठांै कारण भनेको लागुपदार्थको सेवन गर्ने, जुवा तास खेल्ने र कामवासना लागि स्त्री वा पूरुष गमन गर्ने स्वभावका मानिसहरूको असफल वा पतन निश्चित हुन्छ भनिएको छ । यस बारेमा बुद्धले निम्न गाथाद्वारा देवताहरूलाई मानिसहरूको असफलताको अर्को कारणका वारेमा देशना गर्नुभएको थियो,
यत्थिधुत्तो सुराधुत्तो, अक्खधुत्तो च यो नरो ।
लद्घं लद्घं विनासेति तं पराभवतो मुखं ।।
माथि उल्लेख गरिएको गाथाअनुसार यदि कुनै व्यक्ति यौन वासनाका लागि तल्लिन रहन्छ । त्यस्तो व्यक्ति जसले मादकजन्य पदार्थ (नशालु पदार्थको सेवन नित्य गरिरहन्छ) र जुवा तास खेली धन सम्पत्तिको नोक्सान गराउदछ अनि कमाएको धन सबै गुमाउँछ भने यस्ता स्वभाव र विचार भएका मानिसहरूको पतन र जीवनको असफलता अवश्य हुन्छ भनि बुद्धले बताउनुभएको छ । यत्थिधुत्तो भन्नाले स्त्रीप्रतिको लत लागेको अवस्था हो । यस्ता लतमा लागेका मानिसहरू एक स्त्रीपछि अर्को स्त्रीको पछि लागि रहन्छन् । यिनीहरू एक मात्र स्त्रीमा चित्त बुझाउन सक्दैनन् । एकपछि अर्कोको खोजीमा लागि रहन्छन् । यस्ता मानिसहरूको जीवन सुखमय हुन सक्दैन । पारिवारिकझैं झगडा तथा बेमेल भइरहन्छ । यस्ता चरित्र भएका व्यक्तिहरूलाई सामाजिक रुपले पनि पत्याउदैनन् ।

सुराधुत्ता अर्थात् मादक पदार्थ (सबै प्रकारका नशालु पदार्थ) हरूको सेवन कर्तालाई पनि सुख हुँदैन । किनकि यस प्रकारका पदार्थहरूको सेवनले शरीरमा सकरात्मक ऊर्जालाई क्रमशः नष्ट गर्दै नकरात्मक ऊर्जाहरूलाई बढावा दिइरहेको हुन्छ । यसले मानसिक स्वास्थ्यलाई समेत नकरात्मक असर गरिरहेको हुन्छ र धनसम्पत्तिको पनि नाश भइरहेको हुन्छ । यस्ता मानिसहरूलाई समाजले पनि जड्याहा भनी विश्वास गर्दैनन् । त्यसैले उसको पतन निश्चित हुन्छ भनिएको हो । त्यसै गरी अक्खधुत्तो अर्थात् जुवा खेल्नेहरू पनि कहिल्लै सफल हुन सक्दैनन् । किनकि जुवाडेहरूले आफूले लगाएको कपडासमेत दाउमा राख्दछन् भने यस्ता स्वभाव भएकाहरू कसरी सुखी तथा खुसी हुन सक्लान् । त्यसैले स्त्रीप्रतिको आशक्ति भएकाहरू, लागुपदार्थको सेवन कर्ताहरू र जुवाडेहरू कहिल्यै सफल हुन सक्दैनन् भन्ने कुरा पराभव वा पतन हुनुको आठौं कारण हो भनि बुद्धले देसना गर्नुभएको छ ।

९. आफ्नी पत्नीलाई हेला गर्नेहरूको पतन हुन्छ
पराभव सुत्रको नवौ विषयमा आफ्नी श्रीमतीबाट सन्तुष्ट नभई हेला गर्ने पुरुष कहिल्यै सफल नहुने कुरा उल्लेख गरिएको छ । आफ्नी श्रीमतिलाई हेला गर्ने र अरुका श्रीमती वा बेश्यालाई माया गर्नेहरू असफल हुनु पर्ने कारणका बारेमा पराभव सुत्रमा बुद्धले देवताहरूलाई निम्न गाथा प्रस्तुत गर्नुभयो,
सेहि दारेहि असन्तुट्ठो, बेसियासु, पदुस्सति
दुस्सति परदारेसु, तं पराभवतो मुखं ।।
यस गाथाअनुसार आफ्नी पत्नीबाट असन्तुष्ट भई बेश्यागमन वा अरुको पत्नि प्रति सम्बन्ध राख्दछ भने त्यस्ता मासिनहरूको पतन वा पराभवको कारण बन्दछ । जब आफ्नी पत्निबाट असन्तुष्ट भई बेश्यालयमा जब जान्छ त्यहाँ पनि सन्तुष्ट हुन सक्दैन । त्यस पछि ऊ परस्त्रीतर्फ लाग्दछ । यस्तो क्रम भइरहन्छ । बेश्यालयमा गएर सम्पत्ति सकाउँछ । परस्त्री जाँदा त्यहाँको कानूनी सजाय भोग्नुपर्दछ । सामाजिक प्रतिष्ठाको साथसाथै आर्थिक तथा सामाजिक रुपले ऊ कमजोर हँुदै जान्छ । अर्थात् उसको पनत अनिवार्य रहेको छ भनी बुद्धले मानिस पराभव हुनुको अर्को कारणका बारेमा देवताहरूलाई देशना गर्नुभएको थियो भनि पराभव सूत्रमा उल्लेख गरिएको छ ।

१०. स्त्री वा पुरुषप्रति इष्र्या राख्नेहरूको पनत वा नाश हुन्छ
यस सुत्रअनुसार पर पत्नी तथा पर पुरुषप्रति आकर्षित हुने स्वभावका मानिसहरूको पतन वा नाश हुन्छ । यस्ता स्वभाव भएका नर वन नारीको जीवनको असफलता निश्चित हुन्छ भन्ने विषयमा बुद्धले यस पराभवको दशौँ कारणको गाथा बताउनुभएको छ ।
अतितयोब्बनो पोसो, आनेती तिम्बरुत्थनी ।
तस्सा इस्सा न सुपति, तं पराभवतो मुखं ।।
माथिको गाथामा उमेरले पनि बुढो भैसक्यो पत्नि संग्रह गरिरहन्छ । एक श्रीमती वा श्रीमान्सँग सन्तुष्ट हुँदैन फेरि अर्को विहे गर्छ । श्रीमान् तथा श्रीमतीहरूको खोजी गर्दछ । नयाँ श्रीमान् वा श्रीमतीबिना आरामसंग रात बिताउनदैन यस्ता मानिसहरूको पनत वा नाश हुन्छ भन्ने कुरा बुद्धले बताउनुभएको छ ।
कतिपय मासनिसहरू उमेरले असी पार गरिसक्यो तर उसलाई यौनको मोहबाट मुक्त हुन सकेको छैन । यस्ता स्वभावका मानिसहरू आफू त निश्चित रुपमा असफल हुन्छन् यिनीहरूले समाजलाई पनि नकरात्मक असर पारी राखेका हुन्छन् ।

११. अयोग्यलाई मालिक बनाउँदा पतन हुन्छ
बुद्धले मानिसहरू पतन हुुने एघारौँ कारण भनेको अयोग्लाई मालिक बनाइयो भने पतन निश्चित छ भनी निम्न गाथाको देशना देवताहरूलाई प्रदान गर्नुभएको थियो ।
इत्थिं सोण्डिं विकिरणिं, पुरिसं वापि तादिसं ।
इस्सरियस्मिं ठपेति, तं पराभवतो मुखं ।।
यस गाथाको भाव भनेको जुन मानिस माछामासु खानका लागि निकै लोभी छ, अथवा माछा मासु पाउनका लागि धनलाई धुलो जस्तै उडाउँदछ । खानाकै लागि धन सम्पत्तिलाई पानी जस्तै गराउँदछ त्यस्ता मानिसहरूलाई देश सञ्चालन गर्न जिम्मा प्रदान गरियो भने यस्ता मानिसहरूको पराजय वा नाश निश्चित छ । वर्तमान समयलाई नियालेर हेर्ने हो भने हाम्रो समाज अपेक्षाअनुसार विकास तथा समृद्धिको बाधक बनिरहेको देख्दछौँ ।

१२. अयोग्यले उच्च पदको कामना गर्नु पतनको कारण
यस पराभव सुत्रमा मानिस पतन वा नाश हुनुको अन्तिम वा बाह्रौँ कारणको रुपमा अयोग्य व्यक्तिलाई उच्च पदको जिम्मा दिनुहुँदैन । यदि क्षमता वा नैतिकता नभएका व्यक्तिलाई उच्च पदको जिम्मेवारी प्रदान गर्नु पनि पराभव वा पतनको कारण भएको कुरा निम्न गाथामार्फत बुद्धले देवताहरूलाई बताउनुभएको थियो ।
अप्पभोगो महातन्हो, खत्तिये जायते कुले ।
सोचरज्जं पत्थयति, तं पराभवतो मुखं ।।
माथिको गाथामा कम धन र बुद्धिवाला तर धनको निकै तिष्णा राख्ने स्वभाव भएका क्षत्रिय कुलमा जन्म लिन्छ र उसले राजा बन्न चाहना राख्दछ भने यो पनि पराजय वा असफलताको कारण बन्दछ । अर्थात् आर्थिक तथा सामाजिक हिसावले क्षमतावान व्यक्तिले मात्रै देश जोगाउन र नागरिकका समस्या हल गर्न सक्दछन् । यदि यस प्रकारका क्षमताहीन व्यक्तिले देश वा समाज चलाउँछु भन्यो भने त्यसको पराजय अनिवार्य रहेको कुरा बुद्धले बताउनुभएको थियो । जुन कुरा बुद्धले २६०० वर्ष पहिले भनेको कुरा अहिले पनि महत्वपूर्ण देखिन्छ । त्यसैले राज काज वा समाज सञ्चालन गर्ने भनेको सम्बन्धी विषयको ज्ञाता भएको व्यक्तिले मात्रै देश र समाजलाई सही नेतृत्व गर्न सक्छ । नेपालको सामाजिक रुपान्तरणको बाधक पनि सही जिम्मेवारीमा सही व्यक्तिको छनौट हुन नसक्नु हो । सबैको मंगल होस् ।