झण्डै दशकदेखि अलपत्र चौराहा–गोलपार्क सडक नमुना बन्दै

–कफी स्टल, पार्किङसहितका सर्भिस लेन र टायल बिछ्याइएका फुटपाथ

मेचीकाली संवाददाता

२० असार २०८२, शुक्रबार
46 shares

अमृत गिरी

बुटवल । झण्डै एक दशकदेखि अलपत्र परेको बुटवलको चौराहा–गोलपार्क सडक खण्ड अन्ततः आधुनिक शहरी स्वरूपमा रूपान्तरण हुँदैछ । सडक डिभिजन कार्यालय बुटवलले पुरानो ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरी नयाँ डिजाइनसहित निर्माण कार्यलाई तीव्रता दिएको छ । अब यो सडकखण्ड आकर्षक सहरी विश्राम केन्द्रको अवधारणामा अघि बढाइएको छ ।

कुल ३.२५ किलोमिटर लम्बाइको यस खण्डमा अहिले करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी काम पनि धमाधम भइरहेको छ । तोकिएको समयभित्रै निर्माणकार्य सकिने र बुटवलको मुख्य भागको मुहार फेरिने गरी नतिजा आउने साइट इन्जिनियर महेश्वर लम्सालको विश्वास छ । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारीसमेत रहेका इन्जिनियर लम्सालले गोलपार्कबाट पवित्र धार्मिक स्थल सिद्धबाबा जाने, रामापिथेकश पार्क जाने सडकको चिडियाखोलासम्म रेलिङसहितको टायल बिछ्याइएको फुटपाथ बन्ने छ । यो खण्डलाई सिद्धबाबा सुरुङ मार्गको प्रवेश बिन्दुका रुपमा स्तरीय बनाउन लागिएको उनको भनाइ छ ।

नयाँ ठेक्का, नयाँ डिजाइन
यसअघि कन्चनजङ्घा बिरुवा जेभीसँग गरिएको २०७३ चैत १७ गतेको ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँको ठेक्का सम्झौता बारम्बार म्याद थप्दा पनि काम सम्पन्न नहुँदा ८ वर्ष बित्यो । अन्ततः सम्झौता रद्द गरी नयाँ निर्माण कम्पनी बाबुल दर्शन मालिका जेभी भैरहवासँग ३३ करोड रुपैयाँमा नयाँ ठेक्का गरिएको छ । गत असोज १८ गते ठेक्का सम्झौता भई आगामी २०८२ असोज मसान्तभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सिटी अवधारणाअनुसार सडक रूपान्तरण
अहिले विस्तार भइरहेको सडकलाई यहाँको रात्रिकालीन बजारको अवधारणालाई समेत मिट गर्नेगरी डिजाइन गरिएको छ । सडक विभाग बुटवलका सूचना अधिकारी तथा साइट इन्जिनियर लम्सालका अनुसार नयाँ डिजाइनले बुटवलको मुख्य सहर क्षेत्रलाई आधुनिक सहरको ढाँचामा रूपान्तरण गर्ने सोच राखिएको छ । सडक विस्तारको मुख्य कामसँगै शहरी सौन्दर्य, ट्राफिक व्यवस्थापन, सर्भिस लेन, हरियाली क्षेत्र, पार्किङ, रात्रीकालीन कफी स्टल निर्माण जस्ता सुविधालाई समेटेर काम भइरहेको छ ।
सडक संरचनाहरु फुटपाथ ३ मिटरको, सर्भिस लेन ७ मिटरको, ग्रीन बेल्ट तथा स्टल क्षेत्र २.५ मिटरको र मुख्य लेन ११ मिटरको हुनेछ । सौन्दर्यकरण गरिएका क्षेत्रले मुख्य लेनमा कुनै डिस्टभए गर्ने छैनन् भने जोखिममुक्त बनाइने छ ।

सर्भिस लेन र मुख्य लेनको बिचमा सुरक्षित क्षेत्र बनाई २४ वटा कफी स्टल निर्माण गरिनेछ । कफी सपहरुको डिजाइन र क्षेत्रफल सबै एकनाशको बनाइने छ आवश्यक मापदण्ड बुटवल उपमहानगरले तय गर्नेछ । यसले बुटवलको मुख्य सडकलाई रात्रीकालीन सिटीको अवधारणासहितको नयाँ ‘ह्याङ्गआउट जोन’ बनाउने योजना सडक डिभिजन कार्यालयले बनाएको छ ।
सर्भिस लेनमा रेखाङ्कन गरी एकातर्फ पार्किङको व्यवस्था मिलाइने छ भने अर्को छेउ एकतर्फी गाडी आवागमन हुने बनाइनेछ । बसपार्कदेखि चौराहासम्मका मिलनचोक आसपास हरियाली जोन निर्माण गरिनेछ ।

गोलपार्क–चिडियाखोला डेडिकेटेड सडक
गोलपार्कदेखि चिडियाखोलासम्मको करिब ८०० मिटर सडक खण्ड पनि बुटवल–पोखरा डेडिकेटेड राजमार्गको मापदण्डअनुसार स्तरीकरण हुने भएको छ । साँघुरो, अतिक्रमित र असुरक्षित यो खण्डमा स्तरीय फुटपाथसहितको डेडिकेटेड सडक निर्माण हुँदैछ । यसका लागि करिब ४ करोड रुपैयाँमा तिरुपती निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको साइट इन्जिनियर लम्सालले जानकारी दिए ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग दुवैको संगमस्थल रहेको बुटवलको यो सडक खण्ड लामो समयसम्म जाम, धुलो, अराजक पार्किङ र अव्यवस्थित यातायातको प्रतीक जस्तै बनिरहेको थियो । अब भने यो क्षेत्रलाई शहरी शान्ति क्षेत्र, विश्राम स्थल, सुरक्षित र व्यवस्थित सडक सञ्जालका रूपमा विकास गर्न सडक डिभिजन कार्यालयले बुटवल उपमहानगरपालिकासंग सहकार्य गरेको छ ।

सडकको निर्माणले बुटवलको शहरी जीवनशैलीमा सकारात्मक प्रभाव पार्नुका साथै सहरको सौन्दर्य, पर्यटन र व्यवसायिक गतिविधिलाई समेत उत्साहजनक ढंगले उचाल्ने विश्वास लिइएको सडकको निर्माणकार्यको अनुगमनमा पुगेका एमाले नेता ऋषिराम पाण्डेयको भनाइ छ ।