गहन गुरूका ज्ञानले सुगठित जगत

मेचीकाली संवाददाता

२६ असार २०८२, बिहीबार
61 shares

मुक्तिनाथ गैह्रे

“गुरूर्बह्मा गुरूर्विष्णुः गुरूदेवो महेश्वरः,
गुरू साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।”
अर्थात् गुरू ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ ।

कस्तो व्यक्ति कसैको ‘गुरू’ बन्न सक्छ होला ?
‘गुरू’ शब्द उच्चारण गर्दा अधिक व्यक्तिको मष्तिष्कमा कस्तो आकृति आउला ! यहाँको मष्तिष्कमा कसको आकृति आइरहेछ ? कस्ता व्यक्ति ‘अब्बल र दिग्गज गुरू’ बन्न सक्लान् ? यो धर्तीमा एकै व्यक्तिका पनि कैयौं गुरूहरू भएका दृष्टान्त पाइन्छ । एउटा क्षेत्रका गुरूका उत्प्रेरणाले अर्कै क्षेत्रमा सफलता हासिल गरेका प्रमाण पनि पाइन्छ । समग्रमा “जीवनको ज्योतिर्गमय पथ अनावरण गरिदिने” जो कोही व्यक्ति गुरू हुन वा बन्न सक्ने पाइन्छ ।

गायत्री मन्त्र दान गर्ने, गुरूकुलमा दीक्षित गर्ने वा सिधै शिक्षा प्रदान गर्ने व्यक्तिमात्र ‘गुरू’ बन्नुहुन्छ भन्ने पनि छैन । ‘गुरू’ भनेको त अनुकरण गरिने अनुपम आकृति वा व्यक्तित्व पनि हुनसक्ने प्रमाण पूर्वीय दर्शनमा देखिन्छ । जस्तो कि ‘एकलव्यका लागि द्रोणाचार्य’ । पंक्तिकार आफैका कैयौं ‘गुरू’हरू हुनुहुन्छ । सिधै मन्त्र दिएका वा अध्यापन गरेकाबाहेकका भव्य व्यक्तित्वहरू जस्तैः पूर्व प्रधानन्यायधीश सुशीला कार्की देखि पूर्वमन्त्री अनुराधा कोइरालासम्म, वैज्ञानिक डा. सन्दुक रूइत एवम् डा.महावीर पुनदेखि नेपाल ऋषि प्राज्ञ डा.जगमान गुरूङ सम्मलाई कैयौंले ‘गुरू’ मानेको र अनुसरण गरेको पनि पाइन्छ ।

‘गुरू’का प्रकारहरू
जन्म ‘गुरू’–जननी पनि ‘गुरू’ नै हुन् यसर्थ आमा–बुवा ‘गुरूहरू’ हुनुहुन्छ । पालन ‘गुरू’ अर्थात् पालनकर्ता पनि ‘गुरू’ नै हुन् । कर्म ‘गुरू’–काम, वृत्ति वा पेशा दिने पनि ‘गुरू’ नै हुन् । शिक्षा वा मन्त्र ‘गुरू’–अर्थात् ज्ञान, बुद्धि, शिक्षा र उपदेश दिने पनि ‘गुरू’ नै हुन् । वास्तवमा प्रकृति र प्रकृतिका यावत् चराचर आफैमा एक किसिमका ‘गुरू’हरू हुन् ।

‘गुरू’ शब्दको उत्पत्ति र परिभाषा
‘गुरू’ शब्दको व्युत्पत्ति संस्कृत भाषाबाट भएको हो । यसको गहन आध्यात्मिक अर्थ छ । यसमा दुई व्यंजन वर्ण ‘गु’ र ‘रू’ को समायोजन रहेको छ । जसको अर्थ यस प्रकार रहेको छ ः ‘गु’ शब्दको अर्थ हो अज्ञान, जुन अधिकांश हरेक मनुष्यमा हुन्छ । ‘रू’ शब्दको अर्थ हुन्छ, आध्यात्मिक ज्ञानको तेज । जसले आध्यात्मिक अज्ञानलाई नाश गर्दछ । संक्षेपमा भन्नुपर्दा, ‘गुरू’ वहाँ हुनुहुन्छ जसले मानवतामा भएको अज्ञानताको अन्धकारलाई हटाउनुहुन्छ र उनीहरूलाई आध्यात्मिक अनुभव र आध्यात्मिक ज्ञान प्रदान गर्नु हुन्छ ।

अंग्रेजीको अक्सफोर्ड शब्दकोषले पहिलो र महत्वपूर्ण अर्थमा ‘गुरू’ शब्दलाई ‘अ हिन्दु स्पिरिचुअल टिचर’ भनेको छ जसको अर्थ पनि ‘एक हिन्दु आध्यात्मिक गुरू’ नै हो । तर दोस्रोमा भने पश्चिमा सभ्यतासँग मेल खाने गरी अथ्र्याइएको छ । यसरी अथ्र्याइएपछि पश्चिमेली मानिसलाई बुझ्नसमेत सहज हुने देखिन्छ । दोस्रो अर्थमा ‘एन इन्फ्लुएन्शिएल टिचर अर पपुलर एक्सपर्ट’ भनेको छ जसको अर्थ ‘एक प्रभावकारी शिक्षक वा लोकप्रिय विशेषज्ञ’ भन्ने बुझिन्छ । हाल पूर्वीय सभ्यताका हामी समेतले पहिलो भन्दा दोस्रो अर्थलाई बढी महत्व दिन लागेको पाइन्छ । यसर्थ पनि ‘गुरू’ शब्दको गरिमा वा गहिराई अंग्रेजीकरणतर्फ गाभिँदो देखिन्छ ।

शब्दको उत्पत्तिका आधारमा ‘गुरू’ र ‘शिक्षक’बीचको अन्तरः
यसका आधारमा शिक्षक र गुरूमा धेरै फरक देखिन्छ । शिक्षकले एउटा निश्चित समय–सम्मको लागि मात्र पढाउनु हुन्छ । तर गुरूले दिनभरि वा २४ सै घण्टा ज्ञान दिनुहुन्छ । शिक्षकले प्रायः शब्दको माध्यमद्वारा पढाउनुहुन्छ । तर गुरूले शब्दद्वारा तथा शब्दभन्दा पर शब्दातीत ज्ञान दिनुहुन्छ । शिक्षकलाई विद्यार्थीको व्यक्तिगत जीवनसँग केही लेन–देन नहुन सक्छ तर गुरूले शिष्यको जीवनको प्रत्येक क्षण ध्यानमा राख्नुहुन्छ । शिक्षकले केही निश्चित विषय मात्रै पढाउनुहुन्छ तर, गुरूले आध्यात्मशास्त्रको ज्ञान दिनुहुन्छ जसमा सबै विषय समाहित हुन्छ ।
यद्यपि प्राध्यापक, अध्यापक वा शिक्षकलाई गुरू भन्नु नै हुँदैन भन्ने पनि होइन । पंक्तिकार आफै पनि प्राध्यापन पेशाकर्मी भएको र ‘गुरू’ शब्दको सम्बोधनमा गर्व नै महसुस गर्ने हुँदा, सम्बोधनको गरिमा बढेको छ । तर, यसले वास्तविक ‘गुरू’का गरिमामा क्षयीकरण त भैरहेको छैन ?

‘गुरू’ शब्दका प्रयोग
हामीहरू सार्वजनिक सवारी बस चढ्दा सहचालकले ‘चालक’ लाई ‘गुरू’ भनेको पाएका छौं । नेपालका राष्ट्रगुरू योगी नरहरिनाथलाई पनि ‘गुरू’ नै भनेको पाएका छौं । अंग्रेजी माध्यममा अध्यापन गराउने संस्थामा अन्य विषयका शिक्षिका–शिक्षकलाई म्याडम–सर भन्ने तर नेपाली विषय अध्यापन गराउनेलाई ‘गुरू’, ‘गुरूआमा’ भन्ने गरेको पनि पाइन्छ । राजनीतिमा आफ्नो नेतालाई ‘राजनीतिक गुरू’ भनेको पाइन्छ । अर्थतन्त्रमा आफूलाई उदीयमान हुन सिकाउने÷सघाउने उद्यमी वा व्यवसायीलाई पछ्याउनेले ‘उन्नतिका गुरू’ मानेको पाइन्छ । पत्रकारिता वा लेखन सिकाउने अग्रजलाई सिकारू वा पछ्याउनेले ‘पत्रकारिताका गुरू’ मानेको पाइन्छ । जापानतिरबाट आएका मार्शल आर्टस्का खेल सिकाउने प्रशिक्षकलाई प्रशिक्षार्थीले ‘गुरू’ मानेको पाइन्छ । रंगमञ्च वा कलाकारिता सिकाउने व्यक्तिहरूलाई सुप्रसिद्ध कलाकारले ‘गुरू’ मानेको पाइन्छ । खाना पकाउन सिकाउने उस्ताद होस् वा नाच्न सिकाउने उस्ताद, हरेक क्षेत्रमा सिक्नेले सिकाउनेलाई र अनुकरण गर्नेले प्रभावित पार्ने व्यक्तित्वलाई ‘गुरू’ मानेको पाइन्छ ।

यो प्रवृत्तिलाई नकार्न सकिँदैन र नकार्न हुँदैन पनि । किनकि, यसैमा सम्मान समाहित छ । यसैमा सिकाई सबल भएको छ । यसैमा जगत जमेको छ । यसैमा अर्थ अडिएको छ । पूर्वीय वा आध्यात्मिक दर्शन बमोजिमकै मात्र ‘गुरू’ अथ्र्याउन खोज्दा असान्दर्भिक देखिने अवस्था आएको छ । अंग्रेजी साहित्यका प्राध्यापनकर्मी पंक्तिकार देखि अलौकिक स्वामी प्रपन्नाचार्यसम्म, गुरू रिम्पोछे (गुरू पद्मसम्भव), मत्स्येन्द्रनाथ देखि गोरखनाथसम्म, क्रकुछन्द बुद्ध, कपिलमुनि बुद्ध देखि सिद्धार्थ गौतम बुद्ध (भगवान् गौतम बुद्ध) सम्म सबै ‘गुरू’मै समाहित हुनुमै समय–सान्दर्भिक लाग्ने परिस्थिति बनेको छ ।

वर्तमान परिस्थितिमा ‘गुरू’हरूप्रति सम्मान
डटहरूको डिजिटल युग वा भनौं जेन–जि र अल्फा जेनेरेशनको समयमा सबै परम्परा कायम रहने परिस्थिति गाह्रो छ । तसर्थ, हरेक क्षेत्रमा सिकाउनेहरू ‘गुरू’ र सिक्नेहरू ‘शिष्य’ मान्नु नै पर्ने भएको छ । आज आषाढ २६ गते गुरूबार (बिहीबार) का दिन परेको २०८२ सालको ‘गुरूपूर्णिमा’ को दिनमा कैयौं शिक्षण संस्थामा विद्यार्थीले आफ्नो शिक्षक, अध्यापक वा प्राध्यापकलाई ‘गुरू’ मानेर सम्मानित गर्ने गर्दछन् । ‘गुरू’को गरिमा र गहनता प्राप्त गर्ने सम्पूर्ण पेशाका ‘प्रशिक्षक’ वर्गमा हृदयतः शुभकामना व्यक्त गर्दछु ।

साथै, ‘गुरू आदेश’, ‘गुरू मन्त्र’, ‘गुरू सल्लाह’को गहिराई आजका अल्फा जेनेरेशनले बुझ्ने कोशिस गरून् । ‘गुरू’ सदैव आफ्ना शिष्यको निकतम् मित्र हो भन्ने नभूलौं । किनकि, ‘शिष्यहरू’को सर्वोत्तम हितमा चिन्तन गर्ने ‘जननी’ पछिका ‘गुरू वर्ग’ नै हुन् । तसर्थ, पंक्तिकार आफैँले ‘गुरू’लाई ‘बेस्ट फ्रेण्ड’ समेतको रूपमा लिनुपर्दछ भन्ने दावी समेत प्रस्तुत गर्दै आएको छ । सबै विद्यार्थीले वा शिष्यले ‘गुरू’लाई सदैव सम्मान गर्न, निर्देशन पालना गर्न, अनुग्रहित रहन, कृतज्ञ बन्न सक्ने क्षमता प्राप्त होस्, सबैमा सहृदयी शुभकामना । तिथिका हिसाबले आजभन्दा ठिक एक महिनाअघि दिवंगत हुनुभएका मेरा गायत्री ‘गुरू’ हिमलाल तिवारी (विष्णुप्रसाद) सहित सम्पूर्ण दिवंगत ‘गुरू’हरूमा श्रद्धाञ्जली अर्पण गर्दछु । मेरो जीवनको ज्योतिर्गमय पथ अनावरण गरिदिने सम्पूर्ण ‘गुरू’हरूमा सदैव श्रद्धाभाव समेत समर्पण गर्दछु । (लेखक राममणि बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा विभिन्न विषयका प्रशिक्षक समेत हुनुहुन्छ ।)