किसानका समस्या सुनाउँदै कृषिमन्त्रीलाई ज्ञापन पत्र

मेचीकाली संवाददाता

१६ श्रावण २०८२, बिहीबार
191 shares

किसानका समस्या किन सुन्दैनौ ?: समाधानका लागि प्रदेश सरकारका कृषिमन्त्री दिनेश पन्थी र निर्देशनालयका प्रमुख डा.प्रवेशकुमार कुवँरलाई ज्ञापनपत्र बुझाउँदै अखिल नेपाल किसान महासंघको टोली ।

बुटवल। मुलुकको कृषि क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भइरहेका बेला किसानका प्रमुख समस्याहरू उठाउँदै अखिल नेपाल किसान महासंघ, लुम्बिनी प्रदेश समितिले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । महासंघले कृषिमा बजेटको न्यून विनियोजन, नीतिगत असंवेदनशीलता र सहुलियतको अभावले गर्दा उत्पादन, रोजगारी, खाद्य सुरक्षा र आर्थिक वृद्धिमा व्यापक असर परिरहेकोलगायतका संवेदनशील विषयहरु उठान गर्दै प्रदेश सरकारका विभागीय मन्त्रीलाई बिहिबार बुटवलमा ज्ञापन पत्र बुझाएको हो ।

उक्त मन्त्रालयले वार्षिक प्रगति समीक्षाका बारेमा तीन दिनदेखि बुटवलमा कार्यक्रम गरिरहेका बेला सूचना पाएर सोही कार्यक्रम हल बाहिर जुटेका किसानका अगुवाहरुले आफुहरुले भोगिरहेका समस्याको समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री दिनेश पन्थीलाई बुझाइएको ज्ञापनपत्रमा महासंघले कृषि क्षेत्रमा देखिएका मूल समस्या, नीति कार्यान्वयनको कमजोरी र समाधानका सम्भावनाहरूमा केन्द्रित रहेर देखिने गरी काम गर्न आग्रह गरेको छ । समयमै मल नपाएको, आएको मलको पनि सही वितरण नभएको, कतिपय ठाउँमा पहुँच र भनसुनका आधारमा मल दिने गरेको गुनासो किसानहरूको छ ।

‘प्रचारबाजीका कुरा होइन, देखिने र भोगिने गरि काम गर्नुपर्नेछ’ ज्ञापनपत्र बुझाएपछि महासंघका लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र गिरीले धान रोपाइँको बेलामा न सिंचाई छ, न मल छ, न उत्पादन हुने कृषि उपजको उचित मूल्य छ, न किसानमा प्रोत्साहन र हौसला छ भन्दै दुखेसो पोखे ।

ज्ञापनपत्र बुझाउने टोलीमा महासंघका केन्द्रीय सदस्य सीपी पौडेल, जिल्ला अध्यक्ष कृष्ण खरेल, अगुवा किसान पुष्करनाथ प्रन्थलगायतको सहभागिता रहेको थियो । उनीहरुले किसानहरु जहिल्यै मल नपाएर, पशुपालकहरु पशुमा अनेक रोगको संक्रमण भएर समस्यामा परिरहेको गुनासो गर्दै प्रदेश सरकारले अनुभूति हुनेगरी काम गर्न आग्रह गरेका थिए ।
जहिल्यै मलको अभाव, उत्पादकत्व वृद्धिका कार्यक्रम नहुनु, कृषिको असमान वितरण, सिँचाइको अभाव, परम्परागत प्रणालीको निर्भरता, श्रमप्रधान र घाटामा जाने कृषि प्रणाली तथा उत्पादन लागतको वृद्धिलगायतका समस्याबाट किसानहरु आक्रान्त छन् । ‘सहुलियतपूर्ण कृषि ऋण, गुणस्तरीय मलको अभाव, कृषि बालीको न्यून मूल्य र जैविक विविधताको संरक्षणमा राज्यका सम्बन्धित निकायले गम्भीरतापूर्वक चासो दिउन् भन्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको अध्यक्ष गिरीको भनाइ छ ।

फेरि लम्की स्कीनको चिन्ता
लुम्बिनी प्रदेशमा अहिले फेरि लम्की स्कीनको समस्या देखिएको भन्दै किसानहरुले चिन्ता व्यक्त गरेका छन् । कतिपय जिल्लाका धेरैजसो किसानले पालन गरिरहेका पशुधनका यस्तो रोगको प्रकोप देखिएको महासंघको भनाइ छ । यस्तो सरुवा रोगले पशुपालनमा ठूलो क्षति पु¥याउँदै आएको र किसानको आम्दानीमा प्रत्यक्ष असर गरिरहेको भन्दै बेलैमा नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आग्रह गरिएको छ । महासंघले केवल समस्या उजागर मात्र होइन, समाधानका उपायहरूसमेत प्रस्ताव गर्दै आएको उल्लेख गर्दै केन्द्रीय सदस्य पौडेलले–राज्यका निकायबाट किसानले हौसला र प्रोत्साहनको पनि खोजी गरिरहेको उल्लेख गरे ।

महासंघले सिँचाइ पूर्वाधारको विस्तार,गुणस्तरीय मल र बीउको समयमै आपूर्ति, कृषि ऋणको पहुँच,कृषि उत्पादनलाई बजारसम्म जोड्ने प्रणालीको विकास, कृषि अनुसन्धान र प्रविधिको उपयोग,जैविक कृषि तथा उत्पादन विविधीकरणमा राज्यको लगानी वृद्धि,किसानमैत्री नीति तथा कार्यान्वयनको प्रभावकारी अनुगमनको माग गर्दै आएको प्रदेश अध्यक्ष गिरीले बताए ।

के भन्छन् कृषि मन्त्री ?
प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले किसानका समस्या समाधानमा प्रदेशको एकल सामथ्र्य र क्षमता प्रयाप्त नभएको उल्लेख गरे । तीनै तहको समन्वय र निजी क्षेत्रका साथै आवश्यकताका आधारमा दातृ निकायको समेत सहकार्यको खोजी गरिएको मन्त्री पन्थीको भनाइ छ ।

उनले कृषि प्रणालीमा संरचनागत सुधारका प्रयास भइरहेको र परिणाम देखिन समय लाग्ने उल्लेख गरे । यसअघि भएका कतिपय नीतिगत कमजोरी, प्राकृतिक चुनौती, बजार असहजता र प्रविधि अभावका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ । पशुपन्छी तथा मत्स्य निर्देशनालयका प्रमुख डा.प्रवेश कुमार कुवँरले किसानका समस्या समाधानका लागि विषयगत विज्ञ र मातहतका निकायसंग समन्वय भइरहेको बताए । प्रदेश सरकारको उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै कृषिमा सुधार ल्याउने प्रयत्न भइरहेको डा. कुवँरको भनाइ छ ।