

–खोलामा फसेको कार एक्कासी बाढी आएर बगायो, बडिगाड खोलामा पुगेपछि उद्धार, मानवीय क्षति भएन
–डहरे, भार्से, गिद्दी र बादे खोलामा पुल बन्दै, भुक्तानी नभएपछि काम प्रभावित
अमृत गिरी
बुटवल। गुल्मीको उल्लीखोलामा रहेको डहरे खोला यस्तो ठाउँ हो जसले बेलाबेलामा तलको बडिगाड खोलालाई नै थुन्ने गर्छ । माथिको पहाडबाट पहिरो खसेर त्यहीँ मूल फुटेर बालुवा माटोसहित बग्ने यो डहरेमा माथि अर्थात् घुल्टुङ, जुनिया, भार्से, चित्पानी, कार्की टोलमा बेस्सरी पानी परेपछि यो लेदोले ढुंगा पनि बगाएर ल्याउँछ । त्यो ढुंगा र लेदोसहितको बाढी उर्लिएपछि त्यसमा पर्ने गाडीघोडाको त के कुरा तलको बडेमानको बडिगाड खोला नै थुनिदिन्छ । यस्ता घटना वर्षेनी भइरहेका छन् ।
मंगलबार बिहान माथिल्लो भेगमा ठूलो पानी परिरहेको थियो । तल भने खासै बाढी आइसकेको थिएन । त्यहीँ क्रममा त्यहाँ गाडीहरु ओहोरदोहोर गरिरहेका थिए । नजिकै पुल बन्न लागेकाले पनि र त्यहाँ वर्षात्मा जुनसुकै बेला आपत् पर्न सक्ने भएकाले डोजरहरु तयारीमै रहन्छन् ।

सोही क्रममा शान्तिपुरबाट बुटवलका लागि आइरहेको निजी कार खोला पार गर्नै लाग्दा छेउँमा सानो उकालोका तान्न सकेन र फस्यो । केहीबेर पछाडिबाट केही मान्छेले धकेले पनि कार निस्किएन र त्यहीँ अड्कियो । माथिबाट अविरल वर्षासँगै भेल आउँदै थियो । हेर्दाहेर्दै भेलले विस्तारै कारलाई तलतिर धकेल्यो र केही क्षणमा बडिगाड खोलामै हेल्यो । त्यहाँ रहेका लगभग सबैजसोले मोबाइलमा भिडियो खिच्नेबाहेक तान्न सक्ने उपाय थिएन । त्यहीँ क्रममा तल बडिगाडको किनारमा लामा लामा फलामे तार, रसी र टेक्टरसहित केही मान्छे तैनाथ भए र भेलले छेउँमा हुत्याएको कारलाई तानेर उद्धार गरे ।
कारभित्र मान्छे थिएनन् । यो मंगलबार बिहान ११ः३० बजेतिरको घटना हो । कारको पनि आंशिक भाग मात्रै क्षति भएको बताइएको छ । बीएए ००१७ नम्बर (इम्बोस्ड नम्बर) को कार बगाउँदा बगाउँदै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्ता घटना यो डहरेमा हरेक वर्ष भइरहेका छन् । सत्यवती गाउँपालिका वडा नम्बर–६ मा पर्ने यो खोला धेरै समयदेखि यस्तै नै छ । माथिको पहाडका बस्ती नै विस्थापित हुनेगरी पहिरो झरिरहन्छ । ‘डहरेमा पहिरो झर्न यो डाँडामा वर्षा हुनै पर्दैन, हिउँदमा पनि झर्छ, ठूलो गाउँ थियो त्यो नै विस्थापित हुनेगरि पहिरो गइरहेको छ,’ डहरेखोलाले बडिगाड थुन्दा माछा समात्न हेलिने र त्यसक्षेत्रमै हुर्केका स्थानीय श्याम श्रेष्ठले बताए ।

खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
रुद्रवेनी–वामी खण्डमा बन्दैछन् ४ पुल, भुक्तानी नभएपछि काम ठप्प
रिडी–रुद्रवेनी–उल्लीखोला–वामी खण्ड यसक्षेत्रको लाइफलाइन सडक हो । यो सडकले कैयौं गाउँका बस्तीलाई जोडेको छ । तराई झर्ने र जिल्लाकै अन्य भूभागमा आउजाउका लागि यो खण्ड प्रमुख माध्यम हो । वामिटक्सार र छिमेकी जिल्ला बाग्लुङबाट बुटवल छुट्ने सावरीसाधनहरू यहीँ सडक प्रयोग गर्छन् ।
तर, यो खण्डका सानासाना खोला र खोल्साहरुमा माथि सानो पानी परेपनि बाढी आइहाल्छ र आवागमन अबरुद्ध हुन्छ । वर्षातको समयमा खोला बढ्दा बाटोमै घण्टौं कुरेर यात्रा गर्नुपर्ने बाध्यता अहिलेपनि छ । तीमध्येको सबैभन्दा खतरनाक खोला डहरे हो ।

ती खोलाहरुमा अहिले पुल बनिरहेका छन् । डहरे खोला (उल्लीखोला), भार्से खोला (चोरकाटे) नादे खोला (साघाट नजिकैं), गिद्दी खोला (तल्लाफाँट) यी चार ठाउँमा गरेर १२० मिटरका (चारवटा पुलको कुल लम्बाइ) पुल बन्दैछन् । सडक डिभिजन कार्यालय पाल्पामार्फत सत्यवती गाउँपालिकाको नादेवा खोला शाहाघाट, सत्यवतीकै डहरे खोला, सत्यवती र चन्द्रकोट गाउँपालिकाको भार्से खोलाको चोरकाटेमा र चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको गिद्दी खोलामा पुल बनिरहेको छ । राजेश्वरी लुम्बिनी जेभी कम्पनीले पुलहरुको निर्माण गरिरहेको छ ।
डहरेमा बनिरहेको (४० मिटरको) पुल ९० प्रतिशत काम पूरा भएको अवस्थामा रोकिएको छ । कामअनुसारको करोडौं रकम भुक्तानी नपाएपछि निर्माण व्यवसायीले काम गर्न नसक्ने भन्दै सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको छ ।
तर, कम्पनीलाई कामअनुसारको भुक्तानी भएको छैन । भुक्तानी नभएपछि काम प्रभावित भइरहेको छ । काम प्रभावित भएपछि समयमै निर्माण सम्पन्न नहुने निश्चित छ । निर्माण व्यवसायी भागवत गिरीका अनुसार २२ करोड रुपैयाँ बराबरमा ठेक्का सम्झौता भएको हो । तर, अहिलेसम्म न्युन मात्रामा भुक्तानी भएकाले काम गर्नै अफ्ठेरो भइहेको उनको भनाइ छ ।

२२ करोडको ठेक्का, ५ करोड मात्रै भुक्तानी
२२ करोडमा एकमुष्ठ ठेक्का लागेका पुलहरुको काम डहरेमा ९० प्रतिशत र अन्यमा ६० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको छ । तर, हालसम्म ५ करोड मात्रै भुक्तानी भएको निर्माण व्यवसायीको गुनासो छ । यिनै पुलहरु बनाएको मध्येको ९ करोड रुपैयाँ त अघिल्लो आवकै पाउनुपर्ने छ । यो आवमा पनि बजेट प्रयाप्त विनियोजन भएको छैन । ६ करोड बजेट विनियोजन भएको छ जुन अघिल्लो आवको भुक्तानी दिन पनि पुग्दैन । ‘भुक्तानी नपाएसम्म काममा जानसक्ने अवस्थै छैन, करोडौं रुपैयाँको ब्याजसमेत तिरेर काम गर्न सकिँदैन,’निर्माण व्यवसायी गिर्रीको गुनासो छ ।