

बुटवल । क्यानन सेकेन्डरी स्कुलका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका बिद्यार्थीलाई सम्मान गरेको छ ।
विज्ञान संकायबाट उत्कृष्ट नतिजा ल्याउने राजेशलाई विद्यालयले नेपाल प्रथम भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । कपिलवस्तु घर भएका राजेश कक्षा ११ र १२ बुटवलको क्याननमा अध्ययन गरेका हुन । सम्मान कार्यक्रममा राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले निजी क्षेत्रको पहलमा सन् २०५३ सालमा स्थापना गरिएको क्यानन सेकेन्डरी स्कुलले शिक्षाको गुणस्तरमा निरन्तर ध्यान दिँदै आएको बताए। विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीका अनुसार विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धति अपनाउँदै आएको छ । ‘प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड र क्याबिनेटसहितको पूर्वाधार छ । गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ,’ उनले बताए ।
उनका अनुसार कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकाय गरी कुल १९९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विज्ञानतर्फ २९ जना सबै उत्तीर्ण, व्यवस्थापनतर्फ १२० जनामध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन् ।