

डा.एम.एल.शर्मा
मानव सभ्यताको इतिहासमा यदकदा अति नै दुःखदायी घटनाहरू घट्ने गरेका छन् । दिन, महिना र वर्ष हुँदै समय दौडिरहेको हुन्छ । समयसँगै दुरीहरू पार हुदै गर्दछन् तर तितामिठा सम्झनाहरू आइ नै रहन्छन् । यहाँ भन्न खोजेको कुरा चाहिँ तितो र अत्यन्तै अत्यास लाग्दो आठ दशक पुग्न लागेको प्रलयकारी घटनाको हो । प्रत्येक वर्ष अगस्ट महिनाको पहिलो सप्ताह सुरू हुनैलाग्दा अति नै दर्दनाक घटनाको सम्झना आउँछ र यो सम्झनाले मानव मष्तिस्कमा आजपर्यन्त ठूलो चोट दिइरहेको छ ।
जापानको हिरोसिमा र नागासाकी सहरमा परमाणु बमले ध्वंश मच्चाएको पनि ८० वर्ष पुग्दैछ । जापानमा भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म राम्ररी स्थिर बत्र नसकेको महसुस हुन्छ । त्यो वीभत्स घटनाको घाउ सदा बल्झिरहेको महसुस हुन्छ । ज्ञान–विज्ञानका रचनात्मक उत्पादनलाई विध्वंसको औजार बनाइएका घटना इतिहासमा अनेकौँ छन् । तिनीहरूमा सबैभन्दा खतरनाक र दीर्घकालीन प्रभाव पार्ने घटना जापानका दुई सहरहरूमाथि भएको परमाणु बमको प्रहार नै हो । मानव सभ्यतालाई नै चुनौती दिने गरी मानवले मावनता माथि त्र्रmूरतम् हमला गरेको घटनाका रूपमा यसलाई बुझ्न सकिन्छ ।

विश्वव्यापी रूपमा विज्ञान र प्रविधिको पहुँच बढी नै राखेको छ । भूमण्डलका सवै जातजाति, राष्ट्र र समुदायहरू एक अर्कामा निर्भर एवम् एक अर्काबाट प्रभावित छन् । तर पनि अन्याय र शोषण विद्यमान छ । बलिया र कमजोरबिच, सम्पत्र र विपन्नबिच राष्ट्र राष्ट्रबिच प्रभुत्वको द्वन्द छ । यसैगरी राष्ट्रिय अहङ्कार तथा अन्तर्राष्ट्रिय प्रभुत्व कायम गर्ने र प्राकृतिक स्रोत साधन उपभोगका लागि द्वन्द्वको प्रवृति बढ्दो छ । यी द्वन्द्वहरूबाट निर्दोष जनताहरू नै मारमा पर्दछन् । सत्तामा बस्नेहरूको लागि आम जिन्दगीहरूको वास्ता कुन तहसम्मको हुनसक्ने रहेछ र कसरी शासकहरूले आफ्नो राग–द्वेष साट्न अगाडि बढ्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरणहरूमध्येको एउटा प्रतिनिधि वीभत्स घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको ताण्डव हो भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा बिसौं शताब्दीमा चमत्कारपूर्ण आविष्कार र नवप्रवर्तनहरू भएका हुन् तर भयावह हुनेगरी विज्ञान र प्रविधिको चरम दुरूपयोग गरिएको उदाहरण हो । जापानमा घटाइएको परमाणु बमकोे विष्फोटन ।
दोस्रो विश्वयुद्धको सुरूवाती वर्षमा संयुक्त राज्य अमेरिका आन्तरिक सशक्तीकरणमा लागेको हुनाले युद्धमा प्रत्यक्ष सामेल भएको थिएन । दोस्रो विश्वयुद्ध अगाडि बढ्दै जाँदा युरोपमा हिटलर नेतृत्वको नाजी जर्मनी केन्द्रविन्दुमा रहन पुग्दा जर्मनीद्वारा अष्ट्रिया, तत्कालीन चेकोस्लोभाकिया, बेल्जियम, डेनमार्क र नर्वे आदि देशहरूमा कब्जा तथा आक्रमणका प्रयासहरू भए । त्यसैगरी एसिया महादेशमा ‘एसिया एसियालीहरूको’ भन्ने भावना जागृत भइरहेको अवस्था थियो भने त्यस समयमा जापान एसियाको महाशक्ति राष्ट्रको रूपमा रहेको थियो । आफ्नो साम्राज्य र सैन्यशक्ति बढाउँदै लगेको प्रतीत भइरहेको अवस्थामा दोस्रो विश्वयुद्धमा प्रत्यक्ष संलग्न नदेखिएको अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा एक्कासी र कल्पनै नगरिएको जापानी आक्रमणपछि दोस्रो विश्वयुद्धमा नयाँ र खतरनाक मोड आएको हो । अमेरिकाको शक्तिशाली जल तथा वायुसेनालाई ध्वस्त पारेर एसिया प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व विस्तार गर्ने हेतुले जापानले अमेरिकाको हवाइ राज्यको पर्लहार्बरमा सेनाको सैन्य अखाडामा अप्रत्याशित र निर्मम आक्रमण गरेको थियो । पर्लहार्बर हवाइ राज्यको होनुलुलु सहरको नजिकैको ठाउँ हो । यहाँ अमेरिकी सेनाका ठूलाठूला जङ्गी युद्ध पोतहरू राखिएका थिए । लाखौं ग्यालन तेल भरिएका जङ्गी जहाजहरू पनि राखिएका थिए र त्यहाँको आक्रमणमा ती तेलबाहक जङ्गी जहाज डुबाइएका थिए जसबाट आजसम्म पनि तेल रसाइरहेको पनि देख्न सकिन्छ ।

पर्लहार्बर आक्रमणको समयमा उल्ल्ोख्य सङ्ख्यामा सैनिकहरू होनुलुलु सहरका रात्रिकालीन मनोरञ्जन केन्द्रमा गएको मौका पारी अपेक्षाकृत कम सैनिक रहेको र कल्पनै नगरिएको अवस्था परेको हुँदा पर्लहार्बरमा ठूलो सङ्यामा पानी जहाज, हवाई जहाज र युद्धपोतहरूको क्षति गराइएको थियो । उक्त आक्रमणबाट लगभग दुई हजार चारसयको मृत्यु र एकहजार जना घाइते भएका थिए । त्यसको लगत्तै एकदिन पछि संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति फ्रेङ्कलिनरू जवेल्टले पनि जापानका विरूद्ध युद्धको घोषणा गरे । विश्लेषक र इतिहासकारहरूले पर्लहार्बर घटना नै परमाणु बमको ध्वंशात्मक प्रयोगको कारक र सुरुवात रहेको बताएका छन् । पर्लहार्बर आक्रमणपछि राष्ट्रपति रूजवेल्टको निर्देशनमा अमेरिकाले बम बनाउने कामका लागि अति गोप्य रूपमा म्यानहाटन परियोजना सुरु ग¥यो । वास्तबमा म्यानहटन परियोजना भनेको दोस्रो विश्व युद्धमा प्रयोग गर्नका लागि चाहिने परमाणु बमको विकास र निर्माणको साङ्केतिक नाम थियो । त्यस महात्वाकाङ्क्षी परियोजनाका लागि तमाम वैज्ञानिकहरू र सैन्य अधिकृतहरूलाई परमाणुबम बनाउने काममा खटाइएको थियो ।
यो यति गोप्य परियोजना थियो कि राष्ट्रपति रूजबेल्टले आफ्ना उप राष्ट्रपति ह्यारी ट्रुम्यानसम्मलाई पनि थाहा दिइएका थिएनन् । यस परियोजनामा युरेनियम–२३५ र प्लुटोनियम–२३९ प्रयोग गरिएका बमहरू बनाउन सफलता प्राप्त गरिसकेपछि तिनको सफल परीक्षण पनि न्युमेक्सिको राज्यको दूरदराजको मरूभूमि जस्तो विरान ठाउँमा गरिएको थियो । युरोपतिर १९४५ को अप्रिल महिनातिरै युद्घ मत्थर भइसकेको थियो भने एसिया प्रशान्त क्षेत्रमा जापान र अमेरिका बिचमा युद्ध चर्किरहेको अवस्था थियो । १२ अप्रिल, १९४५ मा अमेरिकी राष्ट्रपति रूजबेल्टको निधनपछि राष्ट्रपति बनेका ट्रुमेनले जापानलाई आत्मसमर्पण वा कुनै ठूलो क्षति बेहोर्नका लागि धम्कीपूर्ण चेतावनी दिएका थिए, जसलाई पोस्टड्याम घोषणाको नामले जानिन्छ । २६, जूलाई, १९४५ का दिन यो घोषणामा जापानलाई बिना सर्त आत्मसर्मपण गर्न चेतावनी दिइएको थियो । यो घोषणामा संयुक्त राज्य अमेरिका, बेलायत र चीनले सर्मथन जनाएका थिए । जापानले यदि आत्मसमर्पण गरेन भने ध्वंसात्मक हतियार जापान माथि प्रयोग गरिने छ भनेर भनेको कुरा विश्व युद्धको इतिहासमा उल्लेख गरेको पाइन्छ । यसको अर्थ अमेरिकाले बनाएको ध्वंशात्मक हतियार परमाणु बम रहेछ भन्ने बुझ्न सकिन्छ ।
युद्ध विराम नभएपछि विश्व इतिहासमा भयानक कालो दिन र समय पनि आयो त्यो हो ६ अगस्ट, १९४५ बिहानको समय जापानको भयानक दिनको रूपमा आयो । त्यति नै बेला अमेरिकी बमवर्षक बिमानबाट बम खसालियो र पुरै सहर आगाको लपेटामा आएसरी ताप र विकिरणमा जकडियो । जसमा लगभग ९०५ हिरोसिमा सहर पुछियो र तत्कालै करिब असी हजार भन्दा बढी मानिसले ज्यान गुमाउन पुगे । जापानलगायत विश्वभरि कोलाहल मच्चियो । स्वयम् जापानीहरू अप्रत्याशित र कल्पना बाहिरको घटना मानिरहेका थिए । यसै बीचमा तीन दिनपछि ९ अगस्तका दिन नागासाकीमा अर्को बम खसालियो । बम दुई पहाडको बिचमा खस्न पुगेकोले तुलनात्मक रूपमा कम क्षति भएको थियो । नागासाकीको त्यो विपत्मा चालिस हजार जनसङ्ख्याको तत्कालै मृत्यु भएको थियो । मानव इतिहासकै सबैभन्दा भयङ्कर त्रासदीपूर्ण नयाँ तथा क्रूर घटनाले जापानी सम्राट हिरोहितोले १५ अगस्तका दिन रेडियो सन्देशबाट आत्मसमर्पण गरेको घोषणा गर्नुप¥यो । पछिल्ला प्रभावहरू तापको राप र रेडियो विकीरणको कारणले गर्दा हिरोसिमामा १,५०,००० र नागासाकीमा ७५,००० जनाको मृत्यु भएको थियो ।
रूस र युक्रेन, प्यालेस्टाइन इजरायल, इरान, लेवनान, सिरियालगायतका देशहरूमा अहिले पनि ध्वंसात्मक हतियारको विगविगी छँदैछ । कतै परमाणु हतियारको प्रयोग हुने पो हो कि भन्ने त्रास छ । केही समय पहिले भारत र पाकिस्तानको बिचमा पनि द्वन्द्व भएको थियो । भोक र गरिबीबाट मुक्त हुन एउटा ठूलो हिस्सा सङ्घर्ष गरिरहेको छ भने हतियारको होडबाजीमा ठूलो धनराशी खर्च भइराखेको छ । परमाणु हतियार शक्ति सम्पन्न राष्ट्रहरूले नै भण्डारण गरेको हुनाले र यस्तै हतियारहरूको विकास र तिनका परीक्षणहरूले पनि मानव सभ्यतामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएका छन् । संयुक्त राष्ट्र संघ शक्ति राष्ट्रहरूका सन्दर्भमा कठोर बन्न नसकेको हो कि जस्तो पनि लाग्छ । आणविक शक्ति सञ्चयका कारणले नागरिकको ख्याल नगरी सनकको भरमा निर्णय गर्दा कसरी ठूलो क्षति पुग्न जाँदो रहेछ भन्ने उदाहरण पर्लहार्बर, हिरोसिमा र नागासाकी जस्ता प्रतिनिधि घटनाले स्पष्ट पार्दछन् । हिरोसिमा र नागासाकीको त्यो प्रलयकारी र मानवता विरोधी घटना र त्यसबाट मानव जातिले चुकाउनु परेको पीडा कति गहिरो बनेर मानव मनमस्तिष्कमा रहेको छ भन्ने कुराको अनुमान मात्र पनि लगाउन गाह्रो हुन्छ ।
जापानी सम्राट हिरोहितो त्यस वीभत्स घटनापछिका दिनहरूमा जीवनभर दुःखी रहनुप¥यो र विश्वयुद्ध ताकाका जापानी प्रधानमन्त्री तोजो हिडेकीलाई आत्महत्याको प्रयास गर्नुपर्ने तहसम्म पु¥यायो र जापानको हारको कारक ठान्दै पछि उनलाई मृत्युदण्डको सजाय दिइएको थियो । जापानमा घटेको त्यो वीभत्स घटनाले जापानसँगै युरोपको पनि हार भयो । बिसौँ शताब्दीको मध्यतिर अब्बल रहेको युरोपको विज्ञान तथा प्रविधि अमेरिकातिर सर्न पुग्यो र आर्थिक रूपमा पनि अमेरिका एक महाशक्ति राष्ट्र बन्न पुग्यो । साथसाथै विश्वमा रहेका विभिन्न क्षेत्रका बौद्घिक केन्द्र (थिङ्क ट्याङ्क) पनि अमेरिका सरेको मान्न सकिन्छ । दोस्रो विश्व युद्धपछि मध्यम विश्वशक्ति ठानिएको अमेरिका विश्वको नेतृत्व गर्ने शक्तिशाली देशको रूपमा उभिन पुग्यो । तीव्र रूपमा शक्ति र प्रभावमा भएको बढोत्तरीका कारण अमेरिकाका थप जिम्मेवारीहरू विश्वमाझ बढेर गए जसलाई अमेरीकी युग भनेर पनि बुझ्न थालियो र बेलायतको विश्वमा रहेको हैकम बिस्तारै कम हुँदै गयो । अक्टोबर १९४५ मा संयुक्त राष्ट्र संघको गठनमा पनि संयुक्त राज्य अमेरिकाको नेतृत्वदायी भूमिका रह्यो । द्वितीय विश्व युद्धपछि विश्व खासगरि दुई धु्रवीय बन्दै गर्दा लामो समयसम्म शीत युद्धको चपेटामा विश्व परे तापनि हिरोसिमा र नागासाकी जस्ता अप्रिय घटना हुन पाएनन् ।
परमाणु बम विस्फोटको घटना बेहोरिसकेको विश्वले अर्को त्यस्तो घटना बेहोर्न नपरोस् भन्ने कुरामा संयुक्त राष्ट्र सङ्घलगायत सम्बन्धित सवै पक्षहरू थप जिम्मेवार बन्न आवश्यक देखिन्छ । वर्तमान विश्वमा ऊर्जाको बढ्दो माग पूरा गर्न परमाणु शक्तिको शान्तिपूर्ण उपयोग अपरिहार्य बन्दै गइरहेको छ । नेपालका छिमेकी भारत, चीन र पाकिस्तान पनि परमाणु शक्ति सपन्न राष्ट्रहरू भएका हुनाले त्रिकोणात्मक द्वन्द्वमा जानी नजानी हुनसक्ने सम्भावित दुर्घटनाद्वारा बाँच्न नेपालले अँगाल्नु पर्ने नीति तथा कार्यक्रमका बारेमा पनि सचेतनता अपनाउनु आवश्यक छ ।
विश्वको विभिन्न भागमा भइरहेको द्वन्द्वले गर्दा विश्वले भयावह खालको आर्थिक मन्दी खेपिरहेको छ । यसै बीचमा कहिँ कतै परमाणु हतियारको प्रयोग हुने पो हो कि भनेर सन्त्रास उत्पन्न भएको अवस्था छ । हिरोसिमा र नागासाकीमा घटाइएका परमाणु बमका घटनाहरूले दोस्रो विश्व युद्धको अन्त्यको कारण बने तापनि अध्यधिक मानवीय पीडा र दीर्घकलीन असरहरू उत्पन्न गरे । केवल एकीकृत विश्व नीतिले नै संसारलाई विनाशबाट बचाउँन सक्छ । अनि मात्र संसारले आफूले चाहेको शान्ति प्राप्त गर्न सक्छ । यस विषयमा संयुक्त राष्ट्र संघ देशहरू र आम जनता पनि सचेत हुन आवश्यक छ । हिरोसिमा नागासाकी घटनाको स्मृति वार्षिकीको यस घडीमा सम्पूर्ण दिवंगत जनमा हार्दिक शब्द श्रद्धाञ्जली ! (डा.शर्मा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।)