एमाले केपी ओलीकै नेतृत्वमा अघि बढ्छ: इन्चार्ज न्यौपाने

मेचीकाली संवाददाता

३० श्रावण २०८२, बिहीबार
107 shares

कपिलवस्तु । नेकपा (एमाले) केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज गिरधारिलाल न्यौपानेले आगामी कार्यकालमा पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्ने र अझ सुदृढ संगठन बन्ने बताएका छन् ।

आगामी विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीमा दोस्रो कार्यकाल र उमेर हदलगायतका प्रावधान हटाउने बारेमा बहस र टिप्प्णीहरु आइरहेका बेला नेता न्यौपानेले आगामी कार्यकाल पनि ओलीकै नेतृत्वमा एमाले एकताबद्ध हुने स्पष्ट पारेका हुन् । लुम्बिनी प्रदेश सभामा एमालेका सांसद तथा विशेषाधिकार समितिका सभापति समेत रहेका नेता न्यौपानेले पार्टीमा बोल्ड र स्पष्ट लिडरसिपका लागि फेरि पनि ओलीको विकल्प नभएको उल्लेख गरे ।

शिवराज नगर कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले हालसालै केही वृत्तमा आएको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको कार्यकारी पदमा ल्याउने चर्चा अस्वस्थ राजनीतिक अभ्यास भएको र भण्डारी स्वयम्ले पनि अब एमालेको अध्यक्ष नै हुन्छु भनेर आधिकारिक कुरा नगरेको टिप्पणी गरे ।

‘संविधानको प्रमुख पद सम्हालेको व्यक्तिले पुनः पार्टी नेतृत्वमा आएर सक्रिय राजनीतिमा प्रवेश गर्ने भन्ने कुरा अहिलेको व्यवस्थामा त्यति उचित नहुने र समग्रमा सन्देश पनि राम्रो प्रवाह नहुने नेता न्यौपानेको भनाइ थियो । ‘यो उचित अभ्यास होइन भन्ने एमालेको स्पष्ट धारणा हो,’ न्यौपानेले भने ।

उनका अनुसार, एमालेले पूर्व राष्ट्रपति भण्डारीलाई राष्ट्रकै अभिभावकको हैसियतमा रहन जिम्मेवारी दिएको छ । ‘उहाँको भूमिका प्रत्यक्ष पार्टीगत गतिविधिभन्दा बाहिर रहँदा नै निष्पक्ष र सम्मानित हुन्छ,’उनले जोड दिए । न्यौपानेले अध्यक्ष ओलीको नेतृत्वमा एमाले अझ सुदृढ हुँदै मुलुकलाई स्थिरता र विकासको बाटोमा अघि बढाउने लक्ष्यका साथ अघि बढिरहेको बताए ।

बैठक कपिलवस्तु व्यापार संघको सभा हलमा, शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य साधुराम खनाल, प्रदेश सदस्यहरू नेत्रराज अधिकारी, अर्जुनकुमार केसी, लंक हमाल, डम्बर शर्मा, शिवकुमारी चौधरी, जिल्ला अध्यक्ष बाबुराम खनाललगायतका नेताहरूले समेत आफ्ना धारणा राखेका थिए ।

२० जना एमालेमा प्रवेश
सो अवसरमा नेपाली कांग्रेस परित्याग गरेर २० जनाभन्दा धेरै एमालेमा प्रवेश गरेका थिए । शिवराज नगरपालिका वडा नं. १ का नेपाली कांग्रेसका जिल्लाका सक्रिय कार्यकर्ता हिम केसी र सोही वडाकी सक्रिय कार्यकर्ता बसन्ता पाण्डेले अरु त्यसक्षेत्रका २० जनासहित कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।