सामूहिक सहकारीका सीइओलाई सुपर सिईओको अवार्ड

मेचीकाली संवाददाता

१ भाद्र २०८२, आईतवार
388 shares

बुटवल । यसक्षेत्रको अब्बल र ठूलोमध्येको तिलोत्तमा शंकरनगरमा मुख्य कार्यालय रहेको सामूहिक विकास तथा वचत ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई सुपर सीइओको अवार्ड प्राप्त भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को साउन ३१ गते शनिबार सम्पन्न भएको ३८ औं स्थापना दिवसको अवसरमा सहकारीका सीइओहरुमध्येबाट सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमूख कार्यकारी अधिकृत देवराज ज्ञवालीलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

देशैभरीबाट उत्कृष्ट सिईओहरुमध्येबाट सुपर सिईओको रुपमा ज्ञवालीलाई पुरस्कृत गरेको हो । सामूहिक विकास साकोसमा सिईओको रुपमा २०७७ सालमा प्रवेश गरेका ज्ञवाली सो भन्दा अगाडि सोहि संस्थाको लेखा सुपरीवेक्षण समिति हुँदै सञ्चालक समिति सदस्यको जिम्मेवारीमा पनि रहेको सहकारीका सूचना अधिकारी तथा वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले जानकारी दिए ।

३२ वर्षअघि विसं.२०५० साल माघ १७ गते २६ जना शेयर सदस्य र कुल २ हजार ६ सय शेयर पुँजीबाट शुरु भएको यो सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड यसक्षेत्रको अब्बल सहकारी मानिन्छ । हाल संस्थाको शेयर सदस्य १२३५० र कुल पुँजी रु ३ अर्व ५९ करोड रहेको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको यो सहकारी संस्थाले स्थानीय स्तरमा धेरै सदस्यहरुको आवश्यकता पुरा गरेको सूचना अधिकारी मरासिनीको दाबी छ ।

सहकारीले बचत संकलन गर्ने र ऋण प्रवाह गर्नेमात्र नभई सहकारीमा जोडिएका सदस्यहरुलाई व्यावसायिकीकरण मार्फत उद्यमशिलतामा जोड्ने कार्यमा अगाडि बढेको सहकारीका अध्यक्ष सुरेन्द्रकुमार बर्माको भनाइ छ ।

सिप हुनेका लागि, व्यावसाय गर्नका लागि, उद्यमी बन्न चाहनेका निम्ति सस्तो र सुलभ वित्तीय समाधानको विकल्प सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था बनेको अध्यक्ष बर्मा बताउँछन् । दिनहुँजसो सहकारीका बारेमा बेथितिका कुरा सुनेको बेलामा तिलोत्तमा नगरपालिका वडा नं. ३ मा अवस्थित यो सहकारीमा सुशासनको मामिलामा कठोर देख्न पाइने अध्यक्ष बर्माको दाबी छ ।

सुपर सीइओको सम्मानले सहकारीलाई अझ स्तरीय र सहकारीको सिद्दान्त पालनामा प्रतिवद्ध रहन प्रेरणा मिलेको सीइओ ज्ञवालीको भनाइ छ । उनले सञ्चालक समिति, सहकर्मी र सबै सेयर सदस्यहरुको सहकार्यले नै यसप्रकारको सफलता पाएको बताए ।

कैयौं पटक अब्बल सहकारीको पुरस्कार
यो संस्था विभिन्न निकायहरुले पटक पटक उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत गरेका छन् । वि.सं.२०६४ सालमा डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट उत्कृष्ट संस्थाको रुपमा, २०६७ सालमा राष्ट्रिय सहकारी वैंकबाट पश्चिमाञ्चल क्षेत्रमा उत्कृष्ट बचत तथा ऋण सहकारीको रुपमा, २०७० सालमा राष्ट्रिय सहकारी महासंघबाट नेपालमै उत्कृष्ट सहकारी व्यावसाय पुरस्कारबाट, २०७३ सालमा राष्ट्रिय सहकारी वैंकबाट लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी संस्था, २०७६ सालमा राष्ट्रिय सहकारी महासंघबाट लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको रुपमा, २०७६ सालमा नै नेफ्स्कुनबाट लुम्विनी प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा र २०८१ सालमा राष्ट्रिय सहकारी बैंकबाट नेपालकै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत भइसकेको सहकारीका सूचना अधिकारी मरासिनीले जानकारी दिए ।

संस्थाले प्रदान गरेको विभिन्न सीपमूलक तालिमहरुलाई व्यवहारमा उतार्नका लागि सदस्यहरुलाई उत्प्रेरीत गराउने कार्य पनि संस्थाले गर्ने गरेको छ । संस्थाको उत्प्रेरणाको माध्यम र वित्तीय सहयोगबाट धेरै सदस्यहरुले अहिले त्यसै क्षेत्रमा अचार, स्थानीय सामग्रीको उत्पादन, प्रशिक्षक तथा उद्यमीहरु भएका थुप्रै दृष्टान्तहरु रहेका छन् ।