

बुटवल । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले भदौ ११ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशनगर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात् १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । सो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ ।
आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले नवील बैंकको तानसेन, पाल्पा र फर्साटिकर शाखा, रुपन्देही, एनएमबि बैंक तानसेन, पाल्पा र फर्साटिकर शाखा तथा ग्लोबल आइएमई बैंकका तानसेन, पाल्पा शाखाबाट आवेदन दिन सक्नेछन् । उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सिआस्बा प्रणालीमार्फत आवेदनदिन सकिनेछ ।