

रमेश पराजुली
बुटवल । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालले यही भदौ ६ देखि ९ गतेसम्म देशव्यापी रुपमा ‘विशाल रक्तदान महाअभियान’ सञ्चालन गर्ने भएको छ । एउटै अभियानमा नेपाल र भारतमा समेत गरी १ लाख यूनिट रगत संकलन गर्ने संस्थाको लक्ष्यका साथ महाअभियानको तयारी गरिएको छ ।
संस्थाका पूर्वअन्तर्राष्ट्रिय मुख्य प्रशासिका डा.दादी प्रकाशमणिको १८ औँ स्मृति दिवसको अवसर पारेर ‘विश्व बन्धुत्व दिवस’ मनाउने तयारी छ । सोही क्रममा ‘रक्तदान गरौँ जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने नाराका साथ रक्तदान महाअभियान सञ्चालन गरिन लागिएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रिय कार्यालय बुटवलले जनाएको छ ।
विश्वविद्यालयले बुधबार बुटवलस्थित शान्ति केन्द्रमा पत्रकार सम्मेलन गरी क्षेत्रीय कार्यालय बुटवलअन्तर्गत बुटवल, सैनामैना, गुल्मी र नवलपरासीलगायत विभिन्न स्थानमा विशाल रक्तदान महाअभियान सञ्चालन गरिनेलगायतका कार्यक्रमका बारेमा जानकारी गराएको छ ।
महाअभियानअन्तर्गत भदौ ६ गते शुक्रबारदेखि बुटवलस्थित क्षेत्रीय कार्यालयमा विशाल रक्तदान महाअभियान शुभारम्भ गरिने ब्रह्माकुमारीज नेपालका वरिष्ठ उपाध्यक्ष राजयोगिनी ब्रह्माकुमारी कमला दिदीले जानकारी दिइन् । भदौ ६ गते देखिनै अन्य शाखाहरूमा पनि रक्तदान महाअभियान सुरु हुने उनले बताइन् । रक्तदान गर्दा आफू पनि स्वस्थ भइने र अरूको ज्यान पनि बच्ने भएकोले रक्तदान महाअभियान सक्रिय रुपमा सहभागी हुन उनले आव्हान गरिन् ।
ब्रह्माकुमारीज नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव ब्रह्माकुमार नारायण भाइका अनुसार इलाका प्रहरी कार्यालय अगाडि रहेको संस्थाको क्षेत्रीय कार्यालयमा भदौ ६, ७ र ९ गते रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । यस्तैगरी भदौ ६ गते नै गुल्मीको तम्घासमा पनि एकसाथ रक्तदान कार्यक्रम आयोजना हुनेछ ।
यस्तै भदौ ७ गते कपिलवस्तुको ४ नम्बर जितपुर शाखामा, भदौ ८ गते बुटवल देविनगरस्थित दुर्गा मन्दिरको सभाहल र सैनामैना नगर अस्पताल मुर्गियामा रक्तदान कार्यक्रम आयोजना हुनेछ । भने भदौ ९ गते परासी शाखाको राजयोग सभाहलमा रक्तदान कार्यत्रलम आयोजना हुने क्षेत्रिय सचिव नारायण भाइले जानकारी दिए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सञ्चालन हुने रक्तदान कार्यक्रम बिहान साढे ७ बजेदेखि ३ बजेसम्म हुने आयोजक संस्थाले जानकारी दिएको छ । कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूपन्देहीका टेकबहादुर थापालगायतले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५५ वर्षदेखि मुलुकमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनःस्थापन गर्नमा महत्वपूर्ण सामाजिक–आध्यात्मिक कार्यहरू गर्दै आएको छ । नेपालमा एक लाखभन्दा बढी संख्याका जनसमुदायलाई धुम्रपान, मद्यपान, लागुपदार्थजस्ता कूलत र दुव्र्यसनबाट मुक्तिको कार्यमा सहयोग गर्दै आइरहेको छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तत्कालीन अखण्ड भारतको हैदराबाख सिन्धमा सन् १९३६ मा स्थापना भएको एक अन्तर्राष्ट्रिय आध्यात्मिक संस्था हो । हाल यसको मुख्यालय माउण्ट आबू (राजस्थान) मा रहेको छ । शान्ति, ध्यान, आध्यात्म, मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा विशेष अभियान गर्दै आएको यो संस्थाका १४० देशमा ८ हजार ५०० बढी सेवा केन्द्रहरु रहेका छन् ।