बुटवलमा एक महिने ‘स्वस्थ मुख महाअभियान’ सुरु

मेचीकाली संवाददाता

५ भाद्र २०८२, बिहीबार
725 shares

बुटवल । बुटवलमा एकमहिने स्वस्थ मुख महाअभियान सुरु गरिएको छ । अभियानको एक विशेष समारोहका बीच बुधबार लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा डिष्ट्रिक गभर्नर भट्टराईले सामाजिक क्रियाककलापहरु गर्दै आईएका क्लबहरूले अहिलेसम्म स्वास्थ्य सम्बन्धी कार्यक्रममा मुख स्वास्थ्यलाई बेवास्ता गरिएको हुँदा यसपटक यसलाई प्राथमिकतामा राखिएको बताए । समाजबाट केही पाएर नै हामी आज यो ठाउँमा पुगेको भन्दै उनले समाजका लागि पनि केही गर्नुपर्छ भन्ने मान्यताका साथ मुख स्वास्थ्य अभियान सञ्चालन गरिएको उल्लेख गरे ।

कार्यक्रममा मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल केयर प्रा.लि. बुटवलका अध्यक्ष अमृत भुसालले मुख स्वास्थ्यको महत्वसहितको सचेतना जगाउन र मुख रोगमा कमि ल्याउन स्वस्थ मुख महाअभियान सुरु गरिएको जानकारी गराए ।

‘स्वस्थ शरीरको लागि स्वस्थ मुख’ भन्ने मुल नारा र ‘पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस्’ भन्ने मर्मका साथ महाअभियान सञ्चालन गरिएको उनले बताए । महाअभियानमा मुखको निःशुल्क परीक्षण गर्ने, गिंजा र दाँत सफा गर्ने, ब्रस गर्ने सही तरिका सिकाइनेछ ।

आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोग एवम् लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा भएको महाअभियान भदौ ४ गतेदेखी असोज ५ गतेसम्म सञ्चालन हुने लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरेले जानकारी दिए ।

महाअभियान अन्तर्गत पहिलो चरणको १ महिनाको अवधिमा करिव ३० हजार जनाको निःशुल्क मुख स्वास्थ्य परिक्षणसँगै स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइने रोटरी क्लव अफ लुम्बिनी स्टार्सका चार्टर्ड प्रेसिडेन्ट यादव भण्डारीले बताए ।

बुटवल पुष्पलाल पार्क स्थित आधुनिक समाज डेन्टल केयर प्रा लि मा सञ्चालन हुने महाअभियानमा दैनिक १० जना चिकित्सकहरूबाट निःशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने अभियानकर्ता अमृत भुसालले बताए । चिकित्सकहरूका अनुसार मुख स्वास्थ्य उपचारले शरीरमा लाग्ने ५० प्रतिशत रोगलाई न्यूनीकरण गर्न सकिन्छ ।