

बुटवल । गुल्मीको वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाजको पहिलो अधिवेशन, पाँचौँ साधारणसभा, सहयोग हस्तान्तरण तथा तीज मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको भैरहवा भन्सार एजेन्ट संघका अध्यक्ष तथा समाजका सल्लाहकार मधुप्रसाद पन्थीले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले समाजले स्थापनाको छोटो समयमै नामअनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा समाजलाई अझ उचाइमा पु¥याउने गरी एकजुट भएर लाग्नुपर्ने बताए । तीज पर्व केवल महिलाको मात्र पर्व नभई सम्पूर्ण नेपाली समाजको साझा चाडका रूपमा विस्तार भएको उल्लेख गर्दै यस पर्वलाई सामाजिक विभेदविरुद्ध, अधिकार, समानता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने उनले बताए । साथै उनले समाजले अगाडि बढाउने कार्यक्रम र अभियानहरु फरक र प्रभावकारी हुनुपर्नेमा जोड दिदै आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा समाजका कार्यबाहक अध्यक्ष कमल पन्थीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । उनले समाजका अध्यक्ष बाबुराम पन्थी र सदस्य कृष्णप्रसाद पन्थी बिरामी परेर अस्पतालमा उपचाररत रहेको जानकारी गराउँदै शिघ्र स्वास्थ्यलाभको कामना गरे । धुर्कोट गाउँपालिका–७ वाग्ला लाहाँटाबाट अध्ययन, पेशा व्यवसाय र बसाइसराइको शिलशिलामा रुपन्देहीमा आएर बसोबास गर्दै आएकाहरुलाई एकतावद्ध गरी एकै ठाउँमा जोड्ने उद्देश्यले समाज स्थापना भएको उनले स्मरण गरे । कार्यक्रममा समाजका अभिभावक यमलाल पन्थी, बुटवल उपमहानगरपालिकाका अधिकृत रामप्रसाद पन्थीलगायते बोल्दै सदस्यहरुको सुखदुःख र समस्या समाधानमा समाज सधैँ अभिभावकीय भूमिकामा रहनुपर्ने बताए ।

यस्तै कोषाध्यक्ष अनिल पन्थीले समाजको आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा रुखबाट लडेर गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका वाग्लाको जाउनेका रामु नेपालीलाई आर्थिक सहयोग गरीएको थियो । समाजका कोषाध्यक्ष पन्थीको नेतृत्वमा सुरु गरीएको ‘रामु नेपाली बचाऔँ अभियान’बाट संकलन भएको ४० हजार ७२८ रुपैयाँ बराबरको चेक उनकी श्रीमती सरिता नेपालीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा समाजलाई आर्थिक सहयोग गर्ने सहयोगिदाताहरु तथा समाजका ज्येष्ठ नागरिक बुबाआमाहरुलाई सम्मान गरिएको थियो भने साधारण तथा आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

यस्तैगरी पहिलो अधिवेशनले पुनः बाबुराम पन्थीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा कमल पन्थी, सचिवमा नारायण पोखरेल, सहसचिवमा भिष्मराज पन्थी, कोषाध्यक्षमा अनिल पन्थी रहेका छन् । यस्तैगरी सदस्यहरुमा शुवासचन्द्र पन्थी, विष्णुप्रसाद पन्थी, गोविन्दप्रसाद पन्थी, जीवन पन्थी, टिकाराम पन्थी र सरस्वता पोखरेल पन्थी रहेका छन् । समाजमा हाल ६७ जना सदस्य रहेका छन् ।
कार्यक्रममा सहभागि भएका महिला दिदीबहिनीहरुले पुरानो मौलिकता र संस्कृति झल्किने तीज गीत आफैँ गाएर नाचेर मनोरञ्जन गरेका थिए । कार्यक्रम समाजका आजिवन सदस्य चिरञ्जीवी पन्थीको स्वागत तथा सचिव नारायण पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।