

अनामिका खतिवडा अर्याल
नेपालीहरुको घरघरमा बिहानको सुरुवात प्रायः घरको दृश्यघरकी महिलाले कुचो लगाउँदै सरसफाइ गरिरहेकी, भान्साको काममा व्यस्त देखिन्छिन् । घरका पुरुषचाहिँ बिहानै मर्निङ वाकमा गएका वा चियापानी खाँदै बसेको देखिन्छन् ।
घरको काम र बाहिरको काम दुवै गर्नुपर्ने अवस्था आउँदा कति कठिन हुन्छ भन्ने कुरा अब आफैं मनन गर्ने समय आएको छ । घरबाहिरको काम गर्दा थाक्ने, गल्ने पुरुष मात्र हुन त । सबै परिवारमा यो यथार्थ लागू नहुन सक्छ, तर अझै पनि धेरैजसो परिवारमा यस्तै अवस्थाहरू देखिन्छन्।
२१ औँ शताब्दीको यो आधुनिक युगमा जब हामी समानताको, स्वतन्त्रताको र समृद्धिको कुरा गरिरहेका छौं, त्यही समाजभित्र छोरीहरूको अस्तित्व र अधिकार अझै पनि संकटमा परेको धेरै उदाहरणहरू देखिन्छन् । परिवर्तनका धेरै रूप देखिए पनि मूल सोचमा जति परिवर्तन आउनुपर्ने थियो, त्यो देखिन सकेको छैन ।
अहिले समाजमा छोरीलाई शिक्षा दिनुपर्ने आवश्यकता बुझेको, छोरीहरू उच्च शिक्षा लिइरहेका पनि छन्, जागिर गर्दै आत्मनिर्भर बनेका छन् । अभिभावकहरू छोरीको उपलब्धिमा गर्व गर्छन् । यो सकारात्मक परिवर्तन हो तर यति परिवर्तनले मात्रै समाजमा समानता स्थापित भयो भन्नु, अधुरो मूल्याङ्कन हुनेछ ।
आज पनि धेरै स्थानहरूमा छोरी जन्मिनुअघि नै प्रविधिको दुरुपयोग गरेर भ्रुण परीक्षणमार्फत गर्भपतन गरिने घटनाहरू सुनिन्छन् । छोरी हुनु ‘पाप’ ठान्ने सोच अझै गहिरिएको छ । धर्म र संस्कृति भन्ने नाममा छाउपडीजस्ता कुप्रथाले गाउँका किशोरीहरूको ज्यान लिइरहेका छन् । विवाहपछि दाइजो नपुगेको भन्दै हुने हिंसा, बालिकावस्थामै विवाह गरिएकाले शिक्षाबाट वञ्चित किशोरीहरू, अनि आत्मनिर्भर हुन नपाएका कारण आजीवन शारीरिक र मानसिक हिंसा सहन विवश महिला–यी सबै घटनाहरू हाम्रो समाजमा आज पनि जिउँदै छन् ।
आज पनि एक शिक्षित व्यक्ति छोरी नहुनुलाई गर्वको विषय ठान्छन् । छोरी जन्मिएपछि अब चाहिँ छोरा नै जन्माउनुपर्छ भन्ने मानसिकता बोकेको समाज अझै पनि हाम्रो वरिपरि छ । शिक्षित र सभ्य देखिने मानिसहरूले नै यस्तो सोच राख्दा, हाम्रो चेतना कति पछि परेको छ भन्ने कुराको प्रमाण मिल्छ । यो अवस्था केवल अशिक्षाको परिणाम होइन, गहिरो संस्कारगत सोचको प्रभाव हो, जसले आजसम्म पनि छोरीलाई दोस्रो दर्जाको रूपमा हेर्ने परम्परा कायम राखेको छ ।
छोरा भए दाइजो आउँछ र छोरी भए दिनुपर्छ भन्ने सोच हाम्रो समाजमा गहिरो रूपमा गढिएको छ । यो सोचले न केवल छोरीलाई दोस्रो दर्जाको हैसियतमा राख्छ, बरु सम्पूर्ण सामाजिक संरचनालाई नै असमान, अन्यायपूर्ण र हिंसात्मक बनाउँछ ।
तर प्रश्न उठ्छ के मान्छेको मूल्य दाइजोले तोकिन्छ ? छोरा भएकै कारण दाइजो पाउने हकदार र छोरी भएकै कारण दाइजो दिने बाध्यता हुनु कति न्यायोचित छ ? यो सोचलाई परिवर्तन नगरेसम्म न त महिलामाथिको हिंसा अन्त्य हुन्छ, न त समानता स्थापित हुन्छ । समाजमा साँच्चिकै समानता ल्याउन छोरी र छोरालाई बराबरीको दृष्टिकोण बाट हेर्न सिक्नुपर्छ— उनीहरूको लिङ्ग होइन, व्यक्तित्व, सीप र व्यवहार नै मूल्याङ्कनको आधार हुनुपर्छ ।
अब समय आएको छ कि हामी खुलेर भन्न सकौं न छोरी भार हुन न छोरा सम्पत्ति । दाइजोको चलन समाप्त गर्नु, समानताको पहिलो पाइला हो । यो सोचले यस्तो सन्देश दिन्छ कि छोरा लाभ हो र छोरी भार जुन सोचले अनेकौं छोरीहरू जन्मिनुअघि नै मारिन्छन्न्, शिक्षा र अवसरबाट वञ्चित हुन्छन् र विवाहपछिको जीवनमा दाइजो नपुगेको निहुँमा हिंसा सहन बाध्य हुन्छन् । यस्ता घटनाहरू प्रायः दबाउने प्रयास गरिन्छ । जब बाहिर आउँछ पनि, न्याय पाउने साटो पीडितमाथि नै प्रश्न उठाइन्छ । अझ पीडन गर्ने कतिपय समाजमा ‘प्रतिष्ठित’ भनिने व्यक्ति वा परिवारका सदस्य हुने हुँदा पीडितलाई आवाज उठाउन झन् मुस्किल हुन्छ ।
यी समस्याहरूले एउटा गम्भीर प्रश्न खडा गर्छन्–के हामीले खोजेको परिवर्तन यही हो ? के छोरीलाई पढाएर मात्र हाम्रो कर्तव्य सकिन्छ ? के उनीहरूले सुरक्षित, सम्मानजनक र स्वतन्त्र जीवन जिउन पाउने सुनिश्चितता हामीले दिन सकेका छौँ ? आजको परिवर्तन केवल बाह्य रूपमा देखिएको छ–आधुनिक लुगा, प्रविधिमा पहुँच, जागिर, आत्मनिर्भरता तर चेतना, व्यवहार र सोचमा आवश्यक परिवर्तन आएको छैन । जबसम्म हामी सोच बदल्न सक्दैनौं, तबसम्म छोरीका लागि यो समाज साँच्चिकै सुरक्षित बन्न सक्दैन ।
परिवर्तनका लागि घरमै सुरुवात गर्न आवश्यक
समाजमा वास्तविक परिवर्तन ल्याउन, कानुन र अभियान मात्र होइन, घरभित्रको सोच र व्यवहारमा परिवर्तन अपरिहार्य छ । आज पनि धेरै घरहरूमा छोरीलाई गृहकार्य, भान्साको काम सिकाइन्छ तर छोरालाई त्यस्ता जिम्मेवारीबाट टाढा राखिन्छ । यस्तो व्यवहारले नै भविष्यमा महिला–पुरुषबिचको भेदभावलाई बल दिन्छ ।
छोरी मात्र होइन, छोरालाई पनि आफ्ना काम आफैं गर्न सिकाउने बानी विकास गराउने । जब छोरा घरका काम, जिम्मेवारी र भावनात्मक श्रमको सम्मान गर्न सिक्छन्, तब मात्र बराबरी व्यवहारको संस्कार समाजमा फैलन्छ ।
बिबाहपछि परिवारमा आउने बुहारीलाई ुआफ्नै छोरीसरह व्यवहार गर्न सक्ने संस्कार पनि घरबाटै सुरु हुनुपर्छ । यो त अर्काको छोरी भन्ने सोचले उसलाई सधैं पराई बनाइरहन्छ, जसले मानसिक तथा भावनात्मक हिंसा जन्माउँछ । यस्ता सूक्ष्म भेदभावलाई अन्त्य गर्न घरको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
हिंसाविरुद्ध कानुनी कारबाही र सामाजिक सन्देश पनि जरुरी
महिलामाथि हुने घरेलु हिंसा, दाइजोसम्बन्धी यातना, यौनजन्य हिंसा र मानसिक पीडाका घटनामा कानुनी कारबाही मात्र कागजमा सीमित नहोस् । दोषीमाथि स्पष्ट र कडा सजाय लागू हुनु आवश्यक छ । यसले अन्यलाई पनि चेतावनी दिनेछ कि यस्तो व्यवहार सामाजिक रूपमा स्वीकार्य छैन ।
अन्याय गर्नेहरूलाई कानुनी सजाय मात्र होइन, सामाजिक रूपमा पनि जवाफदेही बनाउनु आवश्यक छ । जब अपराधी सार्वजनिक रूपमा चिनिन्छन्, तब त्यस्ता सोच राख्नेले आफैं सिक्न थाल्छन्–कि अब यस्ता गल्ती सजिलै माफ हुँदैनन् ।
निष्कर्षमा: समानताको शिक्षा विद्यालयले दिन सक्छ, कानुनले अधिकार सुनिश्चित गरिदिन सक्छ, तर मानवता र व्यवहारको संस्कार घरबाटै सुरु हुन्छ । जब हरेक घरले छोरीछोरालाई समान व्यवहार गर्न थाल्छ, जब बुहारीलाई आफ्नै छोरी जस्तो माया दिन थाल्छ र जब हिंसा गर्नेलाई सजाय दिने संस्कार विकास हुन्छ–तब मात्र हामीले समान र सुरक्षित समाज निर्माण गर्न सक्नेछौं ।