नेपाल केरामा आत्मनिर्भर बन्दै

चाडपर्व लक्षित गरेर उत्पादन गरेको लाखौं मेट्रिक टन केरा खेतमा तयार, स्वदेशीले पुग्दापुग्दै विदेशबाट आयात नगर्न माग गर्दै किसानहरु समूह बनाएर सिंहदरबार र भन्सार विभागसम्म डेलिगेशनमा

मेचीकाली संवाददाता

२ आश्विन २०८२, बिहीबार
18 shares

अमृत गिरी

बुटवल । नेपालमा उत्पादन हुने केराले आन्तरिक बजार धान्न सक्ने क्षमता छ । केरामा लगभग नेपाल आत्मनिर्भर बनिसकेको छ । अहिले चाडपर्व सुरु भएको छ र अब केराको माग पनि बढ्ने छ । दसैं, तिहार र छठसम्म मनग्य पुग्नेगरी नेपाली किसानले नै लाखौं मेट्रिक टन केरा उत्पादन गरेका छन् ।

यिनै चडपर्वलाई लक्षित गरेर उत्पादन भएको लाखौं मेट्रिक टन केराले बजार नपाउने तर भारतबाट अस्वभाविक रुपमा आयात भइरहेपछि किसानहरु गुनासा लिएर आ–आफ्ना पालिका, प्रदेश हुँदै सिंहदरबारसम्म पुगेर त्यसो नगर्न आग्रह गरिरहेका छन् ।
केरा उत्पादक किसानका अगुवाहरु विष्णुहरि पन्त, चितवनका अगुवा किसान घननाथ महतो, कैलालीका दीपेन्द्र थारू, कञ्चनपुरका सुरेन्द्र चौधरी, बर्दियाका टोपलाल थारू, नवलपरासीका लक्खु विक, चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, कैलालीका टेकेन्द्र धामी र केरा जोन समन्वय समिति नवलपरासीका संयोजक युवराज मौर्यसहितको अगुवा किसानको टोली अहिले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा राज्यका निकायको सहयोग माग्दै हिँडेको छ ।

उनीहरुले भन्सार विभाग, क्वारेन्टाइन हेर्ने माथिका सबै कार्यालयमा पुगेर आफूहरुको उत्पादनको विवरण, बजारको सर्भे र आयातको अवस्थासमेत केलाएर मागपत्र बुझाएका हुन् । किसानका अगुवाहरुले अहिले नेपाल केरामा आत्मनिर्भर रहेको उल्लेख गर्दै आयात प्रतिस्थापनको नीति बनाउन माग गरेका छन् ।

चाडपर्वमा २ लाख ५० हजार मेट्रिक टन चाहिन्छ तर किसानसंगै खेतमा तयार छ २ लाख ६० हजार मेट्रिक टन केरा
नेपाल केरा उत्पादक संघ तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले नेपालमा वार्षिक ६ लाख मेट्रिक टन केरा उत्पादन हुँदै आएको र चाडपर्वका बेलामा हुने अधिक मागलाई समेत थेग्नेगरी उत्पादन बढिरहेको बताए । उनले आउँदो छठसम्मका लागि नेपालमा अधिकतम २ लाख ५० हजार मेट्रिक टन केराको माग रहेको तथ्यगत आँकलन गरिएको जानकारी दिए । तर, किसानसंगै खेतमा तयार छ २ लाख ६० हजार मेट्रिक टन केरा ।

यो तथ्य उनले विगतका वर्षहरुमा भारतबाट आयात भएको, नेपाली बजारमा खपत भएको र अहिलेको जनशंख्या समेतलाई मध्यनजर गरेर तथ्यांक निकालिएको बताए ।

१८,२५० विघामा व्यावसायिक खेती
देशभरिका बगैंचाहरूमा गरी १८,२५० विघा क्षेत्रफलमा किसानहरुले व्यावसायिक रुपमै केरा खेती गर्दै आएका छन् । ससना क्षेत्रफलमा गर्ने खेतीको विवरण यसमा समावेश छैन । मालभोग, जी नाइन, विलियम हाइब्रिड र चिनिचम्पालगायत जातका केराको व्यावसायिक रुपमै खेती भइरहेको छ । यो क्षेत्रफल अझ बढ्ने आँकलन गरिएको छ । किनकी धेरैतिरका किसानहरुले अहिले धान र ऊखुको खेती छाडेर केरा लगाउन थालेका छन् ।

केरा उत्पादक संघ चितवनका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदीले पहिले ऊखु रोप्ने किसानले अहिले केरा खेती गर्न थालेको बताए । उनले खेती गर्ने क्षेत्र र किसान बढेपनि लागत उठ्ने गरी मूल्य भने नपाएको गुनासो गरे ।

किसान भन्छन्,‘लागत नै नउठ्ने मूल्यमा कसरी बेच्नु ?’
केरा उत्पादक महासंघका अध्यक्ष पन्तले मुलुकभरका ४ हजार ८ सय ३५ किसानहरुले अहिले व्यवसायिक रुपमा केरा खेती गर्दै आएको जानकारी दिए । किसानहरुले आयात नियन्त्रण मात्र नभई मूल्य समायोजन, परीक्षण प्रणाली, बजार व्यवस्थापनदेखि भन्सार सुधारसम्मका विषयमा अर्थ मन्त्रालय, कृषि मन्त्रालय, भन्सार विभाग हुँदै कृषिसँग सम्बन्धित सबै संघीय कार्यालयहरुमा माग प्रस्तुत गरेको अध्यक्ष पन्तले मेचीकालीलाई बताए ।

किसानको लागत प्रति कोसा दुई रुपैयाँ देखि अढाई रुपैयाँ जति पर्ने बताउँछन् । तर, व्यापारीले भने लागत मूल्यमा पनि किन्न तयार नभएको किसानको गुनासो छ । किसाले ३ रुपैयाँ प्रति कोसामै बेच्नेगरी समन्वय गर्न राज्यसँग आग्रह गरेका छन् भने व्यापारीले सकभर सस्तोमै किन्न चाहिरहेका छन् । अध्यक्ष पन्तले केराको आयात रोकेर स्वदेशी उत्पादनको मूल्य बढाउन नखोजेको, आयातलाई पूरै रोक्न पनि नभनेको तर, स्वदेशमा फालाफाल उत्पादन हुँदा पहिले ति किसानको उत्पादनलाई प्राथमिकता दिन माग गरिएको स्पष्ट पारे ।

स्वदेशी उत्पादनलाई नै प्राथमिकता दिने व्यापारी
बुटवलको मण्डीमा मात्रै थोकमा केराको कारोबार गर्ने २१ जना जति व्यापारी छन् । किसानको खेतबाट सिधैँ किनेर बुटवलमा ल्याउने र यहाँबाट अन्य व्यापारी र उपभोक्तालाई विक्रीवितरण गर्नेगरेका छन् । यहाँका पुराना व्यापारी नेत्रप्रसाद अधिकारी (विष्णु) ले पहिलो प्राथिमकता स्वदेशी उत्पादनलाई नै दिने गरेको बताए । अधिकारीले आफ्ना साडू कृष्णमणी खनालसँग सहकार्य गर्दै बुटवलमा केराको कारोबार गर्दै आएका छन् ।

उनको भनाइअनुसार कहिलेकाँही स्वदेशी उत्पादनले मात्रै नथेग्ने अवस्थामा मात्रै भारतबाट केरा आउने गरेको छ । अग्रज व्यापारी अधिकारीले भने आफूहरुले सकेसम्म स्वदेशी उत्पादन नै विक्रीवितरण गर्ने गरेको र प्राथिमकता पनि नेपाली किसानलाई नै दिनेगरेको स्पष्ट पारे ।

अधिकारीले २०५३ सालदेखि बुटवलमा सानो ठेलाबाट केरा बिक्री गर्दै आएका थिए । अहिले मण्डीको सटरबाट सहयात्री कृष्णमणी खनालसँगै केराको विक्रीवितरण गर्दै आएका छन् । स्वदेशी उत्पादन कम हुँदा मात्रै भारतबाट परीक्षण गरी ल्याएको केरा विक्रीवितरण गर्ने गरेको अगुवा व्यापारी अधिकारीको भनाइ छ । जाडो याममा स्वदेशी उत्पादन कम हुनेभएकाले मात्रै भारतबाट केराको आयात हुने गरेको व्यापारीहरु बताउँछन् ।

पुराना, पाका, सालिन र अनुशासित व्यापारिका रुपमा लिइने व्यवसायी अधिकारी र खनालको सटर नं. २६ बाट मात्रै दैनिक ६० देखि ७० हजारसम्मको केराको कारोबार हुँदै आएको छ । केरा सहित अन्य फलफुलको कारोबार गर्नेहरु मात्रै यो मण्डीमा ५० जना जति व्यवसायी छन् । सबैको व्यापारको औसत यहीँ हो । यहाँ दैनिक ४० देखि ५० टनको हाराहारीमा केराको कारोबार हुँदै आएको छ । मण्डीमा नवलपरासी, चितवन, बारा, निजगढलगायतका ठाउँबाट केरा आउने गरेको छ ।

केरा खानुका ११ फाइदा
–डिप्रेसन घटाउँछ, मूड सुधार्छ ।
–रक्तअल्पता रोक्छ, प्रेसर नियन्त्रण गर्छ ।
–स्मरणशक्ति र सक्रियता बढाउँछ ।
–पाचन सुधार्छ, कब्जियत कम गर्छ ।
–ह्याङओभर हटाउँछ ।
–छाति पोल्ने समस्या कम गर्छ ।
–गर्भावस्थाको वाकवाकी घटाउँछ ।
–लामखुट्टे टोकेको दुखाइ घटाउँछ ।
–स्नायु स्वास्थ्य बलियो बनाउँछ ।
–अल्सरमा फाइदा पु¥याउँछ ।
–जिउ शीत्तल राख्छ, तापक्रम नियन्त्रण गर्छ ।

केरा सस्तो, स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि बहुउपयोगी फल हो, जसले ऊर्जा, प्रतिरक्षा र दीर्घ स्वास्थ्यमा ठूलो लाभ पु¥याउँछ । केरामा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ । मोटो मानिस, हाइपरकलेमियाबाट पीडित भएकाहरु र धेरै समयदेखि कब्जियतबाट पीडित भएकाहरु र रुघाखोकीबाट पीडित भएकाहरुले भने केराको सेवन नगर्न चिकित्सकहरु सुझाउँछन् । (पोषणविद्हरुको सहयोगमा)