जूनतारा सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

६ आश्विन २०८२, सोमबार
80 shares

बुटवल । जूनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको १३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारणसभाको संस्थाका ज्येष्ठ सदस्य केशवराज खनालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले संस्थालाई थप उचाइमा पु¥याउन सबै सदस्यहरु एकजुट भएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारी संस्थालाई बचत गर्ने र ऋण दिने थलो मात्र नबनाएर उत्पादनमूलक क्षेत्रमा पनि चलायमान बनाउनुपर्ने धारणा राखे । उनले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्तअनुसार सञ्चालन भएका जोखिममा पर्ने खतरा न्यून हुने बताउँदै सहकारीसम्बन्धी ऐन कानुनबारे जानकारी गराएका थिए । बुटवलमा २ सय बढी सहकारी सञ्चालनमा रहेपनि १३२ वटा सहकारी संस्था मात्रै स्थानीय तहमा दर्ता भएको उनले बताए । प्रदेश र संघमा सहकारी दर्ता गरी यहाँ सञ्चालन गरीरहेका केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएकोले शेयर सदस्य बचतकर्ताहरुले संस्थाबारे बुझ्न जरुरी रहेको अर्यालले बताए ।

संस्थाका अध्यक्ष यमप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अघि सारेका आगामी योजनाहरुबारे जानकारी गराए । उनले केही सहकारीहरु जोखिममा पर्दै गएकाले त्यो अवस्थाबाट जूनतारालाई सुरक्षित बनाउनका लागि विशेष गरी उत्पादनमूलक कार्यक्रममा लगानी गरीएको बताउँदै संस्थाको कुनैपनि खराब ऋण नरहेको जानकारी गराए । शेयर सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संस्थाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगेकोसमेत अध्यक्ष पोखरेलले बताए । सदस्यलाई जटिल प्रकारका प्राणघातक रोग लागेमा राहत रकम उपलब्ध गराउने र सबै शेयर सदस्यको दुर्घटना बिमा गरिएको उनले जनाकारी दिए । यस्तै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष रक्तदान, सरसफाई, आर्थिक सहयोगलगायतका कामहरु गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ थियो ।

यस्तै कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष चेतनारायण खनाल, निवर्तमान अध्यक्ष रघुनाथ पोखरेल, सल्लाहकार दण्डपाणी पोखरेल, राजिव गौतम, माधवप्रसाद खनाल, गोपालप्रसाद खनाललगायतले आआफ्नो भनाइ राखेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष बाबुलाल खनालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक लेखनाथ खनालले प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।

संस्थामा हाल १ हजार १५ जना शेयर सदस्य रहेका छन् । शेयर पुँजी १ करोड १४ लाख ५९ हजार रुपैयाँ, निक्षेप ९ करोड ३६ लाख ९४ हजार २२८ रुपैयाँ, बैंक मौजाद २ करोड २१ लाख ७१ हजार ४२० रुपैयाँ र संस्थाले ८ करोड ६७ लाख २४ हजार ७७४ रुपैयाँ ऋण लगानी गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ । सोही अबसरमा संस्थामा शेयर सदस्य बढाउन सहयोग गर्ने सदस्य, एसईई, स्नातक, स्नाकोत्तर तहमा सर्वोकृष्ट नतिजा ल्याउन सफल भएका शेयर सदस्यका छोराछोरीहरु र विद्यावारिधी गरेका सदस्यहरुलाई सम्मानसमेत गरिएको थियो । संस्थका उपाध्यक्ष खुमानन्द खनालको स्वागत तथा सचिव विष्णुबहादुर चुदालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।