

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै तिलोत्तमा–२ का वडाध्यक्ष डिलबहादुर भट्टराईले सहकारी संस्थालाई बचत गर्ने र ऋण दिने थलो मात्र नबनाएर उत्पादनमूलक क्षेत्रमा पनि चलायमान बनाउनुपर्ने धारणा राखे । उनले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्तअनुसार सञ्चालन भएका जोखिममा पर्ने खतरा न्यून हुने बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष लोकनाथ पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले अघि सारेका आगामी योजनाहरुबारे जानकारी गराए । उनले केही सहकारीहरु जोखिममा पर्दै गएकाले त्यो अवस्थाबाट हाम्रो जागृति सगरमाथालाई सुरक्षित बनाउनका लागि विशेष गरी उत्पादनमूलक कार्यक्रममा लगानी गर्दै खराब कर्जा घटाउने नीति लिएको बताए । शेयर सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संस्थाको सेवालाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगेकोसमेत अध्यक्ष पाण्डेले बताए । यस्तै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष रक्तदान, ज्येष्ठ नागरीक सम्मान, सरसफाइ, आर्थिक सहयोगलगायतका कामहरु गर्दै आएको उनको भनाइ थियो । संस्थालाई थप उचाइमा पु¥याउन सबै सदस्यहरु एकजुट भएर अघि बढ्न अध्यक्ष पाण्डेले आग्रह गरे ।
यस्तै कार्यक्रममा संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद शर्मा पौडेलले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मण अर्यालले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । ती सबै प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
संस्थामा हाल १ हजार ५७१ जना शेयर सदस्य रहेका छन् । शेयर पुँजी ३ करोड १३ लाख ११ हजार रुपैयाँ, निक्षेप २३ करोड १२ लाख ८१ हजार ४८१ रुपैयाँ रहेको छ भने संस्थाले २६ करोड ३२ लाख ८४ हजार ११२ रुपैयाँ ऋण लगानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सोही अवसरमा निवर्तमान पदाधिकारी, सदस्य, निर्वाचन उपसमिति, असल ऋणी, कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउन सफल शेयर सदस्यका छोराछोरी, विद्यावारिधी गरेका सदस्यहरुलगायतलाई सम्मानसमेत गरिएको थियो । संस्थाका सञ्चालक समिति सदस्य सिर्जना आचार्यको स्वागत तथा सचिव रामप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।