

अमृत गिरी
बुटवल । नेपालमा जापानीज इन्सेफ्लाइटिस (जेई) को संक्रमण तीव्र रूपमा फैलिएको छ । बुधबारसम्म यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । यसको संक्रमण भएको चार देखि १४ दिनसम्ममा लक्षणहरु देखिन थाल्छन् । ज्वरो आउने, केहीदिनसम्म ज्वरो नबस्ने, टाउको बेस्सरी दुख्ने, उल्टी हुने, बेहोसी हुने, मानसिक स्थिति गडबड हुनेजस्ता यसका प्रमुख लक्षण हुन् ।
कहिले कोरोना, कहिले हैजा, कहिले डेंगू त कहिले जेईको संक्रमणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । एकपछि अर्को गर्दै फैलिएका अनेक नामका संक्रमणले जनस्वास्थ्यको क्षेत्रमा चुनौति थपिएको थपिई छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखले जारी गरेको तथ्यांकमा अहिले यो जेई संक्रमण मुलुकभरीजसो नै फैलिएको छ । मुलुकभर ४० लाखभन्दा धेरै प्रभावित भएको र ४३ जिल्ला उच्च जोखिममा रहेको सरकारी तथ्यांक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले प्रकाशित गरेको सिचुएसन रिपोर्ट अनुसार, सन् २०२५ को अक्टोबर ७ सम्म १६४ जनामा प्रयोगशालामार्फत् जापानीज इन्सेफ्लाइटिस पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भइसकेको छ । जसमा १५ महिला र १६ जना पुरुष छन् । प्रदेश स्तरमा हेर्दा यो वर्ष जेईबाट सबैभन्दा धेरै मृत्यु लुम्बिनी प्रदेशमा भएको छ । लुम्बिनी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा ४ जना, मधेसमा ३ जना, बाग्मती र गण्डकीमा ५/५ जना, कर्णालीमा १ जना र सुदुरपश्चिममा २ जनाको मृत्यु भएको छ ।
यस वर्ष अहिलेसम्म १४०८ वटा ‘तीव्र इन्सेफलाइटिस सिन्ड्रोम’ केसहरू रिपोर्ट भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । तीमध्ये १६४ केस जापानीज इन्सेफ्लाइटिसका रूपमा पुष्टि भएका हुन् । पछिल्लो सातामा पनि संक्रमण रोकिएको छैन–एक नयाँ केस थपिएको महाशाखाको विवरणमा उल्लेख छ ।
पूर्वबाट सुरु, पश्चिमसम्म फैलियो
महाशाखाले दिएको जानकारी अनुसार संक्रमण सुरुमा पूर्वी नेपालमा देखिएर क्रमशः पश्चिमतर्फ फैलिएको हो । हालसम्म ५ वटा प्रदेशका ८ वटा जिल्लाका १२ वटा पालिकामा १४ दिनको अवधिभित्र प्रकोप बढ्दो क्रममा देखिएको छ । यो वर्ष अहिलेसम्म ११० पालिकामा जेई केसहरू पुष्टि भएका छन् । सबै १२ वटा प्रकोप क्षेत्रमा स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहकार्यमा तत्काल रेस्पोन्स गरिएको प्रवक्ता डा.बुढाथोकीले बताए । चितवनमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु दरमा विश्व स्वास्थ्य संगठनको चिन्ता
सन् २०२३ मा १०७ जनामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि हुनुका साथै सात जनाको मृत्यु भएको थियो । सन् २०२२ मा ६६, सन् २०२१ २८ जना र सन् २०२० मा २२ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो । नेपालमा जापनिज इन्सेफलाइटिसका बिरामीहरू प्रत्येक वर्ष अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुने गरेका छन् । वर्ष २०२५ मा अहिलेसम्म ११८ जना संक्रमित भएका छन् र ३१ जनाको मृत्यु भइसकेको छ । सन् १९७८ मा पहिलोपटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ ।
नेपालमा भएको जेईको संक्रमण र यसको मृत्यु दरप्रति विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । यो वर्ष हालसम्म भएका ३१ जेई सम्बन्धित मृत्युहरूमा ७४ प्रतिशत मृतकहरू ४० वर्षभन्दा माथिका रहेका छन् । अत्यधिक संक्रमित उमेर समूहहरूमा १५ वर्षमाथिका व्यक्तिहरू बढी प्रभावित देखिएको उक्त रिपोर्टमा उल्लेख छ । ७१ प्रतिशत केस यही उमेर समूहमा रहेको विवरण छ ।
कस्ता व्यक्तिमा भइरहेको छ संक्रमण ?
महाशाखाले जारी गरेको विस्तृत प्रतिवेदनमा संक्रमितहरू मध्ये ५० प्रतिशत कृषिमा संलग्न रहेका व्यक्तिहरु छन् । धेरैजसो केसहरू खेतबारी नजिक बसोबास गर्ने बस्तीहरूबाट रिपोर्ट भएको विवरणमा उल्लेख छ । यसको संक्रमण ३ महिनादेखि ८९ वर्ष उमेरसम्मका मानिसहरूमा देखिएको छ । बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूह जोखिममा रहेको यो विवरणले देखाएको छ । यो रोगले स्नायुमा असर पु¥याइ जीवभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने गर्छ । सङ्क्रमित हाँस, कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुरबंगुरजस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे सङ्क्रमित भई सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा सर्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
के गरिरहेको छ स्वास्थ्य मन्त्रालयले ?
स्वास्थ्य मन्त्रालयले तत्काल प्रतिक्रिया स्वरूप सचेतनासहितका कार्यक्रम सुरु गरेको छ । हालसम्म यस्तो केसमा खटिने गरी ३ हजार ४ सय ४७ जना स्वास्थ्यकर्मीहरूलाई तालिम दिएको, १ हजार ८ सय ७१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई संक्रमण पहिचान र रिपोर्टिङमा परिचालन गरिएको मन्त्रालयको उक्त प्रतिवेदनमा छ । सबै संक्रमित क्षेत्रहरूमा स्थानीय द्रुत प्रतिक्रिया टोली समेत परिचालित गरिएको महाशाखाले जनाएको छ ।
रोगबाट जोगिन के गर्ने ?
जापानीज इन्सेफ्लाइटिसको जोखिम पुनः बढ्दै गएको छ । संक्रमण नियन्त्रणका लागि सजगता, सतर्कता र खोपको व्यापकता अत्यावश्यक भएको विज्ञहरूको भनाइ छ । जापानीज इन्सेफ्लाइटिस लामखुट्टे (क्युलेक्स) बाट सर्ने गम्भीर भाइरल रोग हो । यस रोगको रोकथामका लागि मुख्य उपाय भनेकै लामखुट्टेको टोकाइँबाट जोगिनु हो । जुन असम्भव जस्तै छ किनकी जुनसुकै समयमा जसरी पनि लामखुट्टेले टोक्ने जोखिम छँदैछ । प्रभावकारी उपाय भनेको यसका विरुद्धमा बनेको खोप लगाउनु नै रहेको विज्ञहरु बताउँछन् । सरकारले १२ महिनाको उमेरमा अनिवार्य खोप दिने व्यवस्था समेत गरेको छ । छुट भएकाहरूलाई ५ वर्षसम्म पनि खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।