बुटवल । चलचित्र विकास बोर्डले चलचित्रकर्मी तथा फोटो पत्रकार मनिष पन्थलाई विशिष्ट चलचित्र परिचयपत्र प्रदान गरेको छ । चलचित्र क्षेत्रका बहुआयामिक सर्जकका रूपमा परिचित पन्थलाई छायांकन, निर्देशन, सम्पादन, कथा तथा पटकथा लेखन, संवाद लेखन र गीत लेखनमा पु¥याएको योगदानका आधारमा उक्त परिचयपत्र प्रदान गरिएको बोर्डले जनाएको छ ।
सानो उमेरमै चलचित्र क्षेत्रमा प्रवेश गरेका पन्थले १६ वर्षको उमेरदेखि छायांकन, निर्देशन र सम्पादनमार्फत आफ्नो पेशागत यात्रा सुरु गरेका थिए । उनले नारायणहिटी दरबार परिसरमा पहिलो पटक चलचित्र छायांकन गरेर चर्चामा आएका थिए । पन्थले चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो तथा टेलिभिजन सिरियल क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनका प्रमुख चलचित्रहरूमा वास्तविकता, औंठाछाप, यो कस्तो मायाँ, के नाता होला, मेरो साथी, आफन्तको मायाँ, रिक्सा वाला न्यायदाता, जिन्दगानी दर्पणछायाँ, हाम्री चेली, उर्वशी, डिभोर्श, वल्र्ड कप इन नेपाल र गुल्मेली दाइ रहेका छन् ।
त्यसैगरी उनले भोजपुरी चलचित्र दहेज चाहिँ दहेज तथा वृत्तचित्रहरू अन्टार्कटिकामा नेपाली माटो र नरसिंह निर्माण तथा छायांकन गरेका छन् । टेलिभिजन क्षेत्रमा पनि सक्रिय पन्थले कथा चेलीको र हास्य सिरियल देखियोनी मार्फत लेखनदेखि निर्देशनसम्मको जिम्मेवारी सम्हालेका थिए ।
उनले कवि दलबहादुर गुरुङको रेक्सा कवितालाई दृश्य–कविताका रूपमा रूपान्तरण गरी नयाँ प्रयोगसमेत गरेका थिए । फोटो पत्रकारितामा समेत सक्रिय पन्थ विभिन्न संस्थागत जिम्मेवारीमा समेत संलग्न छन् । उनी लुम्बिनी फोटोग्राफर संघका पूर्व अध्यक्ष, नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सदस्य, नेपाल उद्यान महासंघका केन्द्रीय प्रेस सल्लाहकार, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका सल्लाहकार तथा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार रहेका छन् ।
विगत ३० वर्षदेखि बुटवलमा श्रीनगर फोटो स्टुडियोसमेत सञ्चालन गर्दै आएका पन्थले एनालगदेखि डिजिटल युगसम्म आफूलाई निरन्तर अद्यावधिक गर्दै फोटोग्राफी र भिडियोग्राफीको तालिम समेत प्रदान गर्दै आएका छन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । पछिल्लो समय बाल मनोविज्ञानमा आधारित नयाँ चलचित्र लेखन तथा निर्देशनको तयारीमा रहेको उनले बताए । यस चलचित्रले समाजमा सकारात्मक सन्देश र बाल मनोविज्ञानको गहिरो पक्ष उजागर गर्ने अपेक्षा गरिएको छ ।
