पाल्पाको माथागढी: होमस्टे, हिमशृंखला र इतिहासले भरिएको नयाँ पर्यटन गन्तव्य

मेचीकाली संवाददाता

३० आश्विन २०८२, बिहीबार
432 shares

मिलन गाहा

बुटवल। लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहहरूमा पर्यटनका प्रशस्त सम्भावना छन् । तर, प्रचारप्रसार र लगानीको अभावमा ती सम्भावनाहरू अझै उपयोग हुन सकेका छैनन् । सामान्य लगानी र स्थानीय पहलबाट समेत रोजगार, आम्दानी र विकासमा ठूलो टेवा पुग्न सक्ने सम्भावना छ । प्रकृतिले दिएको अनुपम उपहारको उपयोग गर्न नसक्नु अहिलेको मुख्य समस्या बनेको छ ।
पाल्पाका स्थानिय तहहरुमध्ये माथागढी गाउँपालिका, समृद्ध पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, जहाँ अहिले पर्यटन प्रवद्र्धनका लागि नयाँ अभियान सुरु भएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक महत्व बोकेको माथागढी, अब होमस्टे पर्यटन र आन्तरिक पर्यटनको लागि नयाँ गन्तव्यका रूपमा चिनिँदैछ ।

कौडेलेकः मगर संस्कृति र हिमशृंखलाको संगम
माथागढी गाउँपालिकाको दोस्रो उच्च भू–भाग कौडेलेक, समुद्री सतहबाट १,९३६ मिटरको उचाइमा अवस्थित छ । मगर भाषामा ‘हुवाकोट’ भनेर चिनिने यो स्थानमा ६५ घरधुरीको मगर बस्ती रहेको छ । यहाँ हालसालै मगर होमस्टे सञ्चालनमा ल्याइएको छ, जसलाई गाउँपालिकाले व्यवस्थापन, तालिम र दिगोपनाका लागि सहयोग पु¥याएको अध्यक्ष यम बहादुर चिदी बताउँछन् ।
कौडेलेकबाट बुटवलदेखि बिआइसिसी भवन, हिमालीशृंखला र पहाडी भू–भागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । बुटवलदेखि झण्डै ४२ किलोमिटरको दूरीमा रहेको यो स्थान विकेन्ड ट्रिपका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । ओलेस गाउँमा होमस्टेमा बास बसेपछि करिब ४५ मिनेटको पैदल यात्राबाट कौडेलेक पुग्न सकिन्छ ।

प्राकृतिक सम्पदा र कृषि उत्पादनको खानी
कौडेलेक क्षेत्र दुर्लभ जडीबुटी, जैविक उत्पादन र मौसमी फलफूलको लागि पनि प्रसिद्ध छ । यहाँ चिराइतो, पाखनबेत, चौतारो, टाकीबुकीजस्ता जडीबुटी पाइन्छन् भने फापर, कोदो, जौ, किबी, अलैची, टिमुर, काफलजस्ता नगदे बाली उत्पादन हुने गर्छन् ।
पशुपालन पनि आम्दानीको स्रोत बनेको छ । स्थानीय बासिन्दा बंगुर, बाख्रा, कुखुरा पालनमा संलग्न छन् । यसले वैदेशिक रोजगारको वैकल्पिक माध्यम तयार गर्न सक्ने सम्भावना बोकेको गाउँपालिका अध्यक्ष बताउँछन् ।

इतिहास बोकेको धरातल
माथागढी क्षेत्र ऐतिहासिक दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण छ । अंग्रेज–गोरखा युद्धका समयमा जितगढी किल्ला नजिकैको यो क्षेत्रमा नेपाली सेनाको टुकडी खटिएको इतिहास भेटिएको छ । आज पनि यहाँ पुराना हातहतियार र ऐतिहासिक अवशेषहरू छन्, जसको संरक्षणमा गाउँपालिकाले हेरालु नियुक्त गर्दै संरक्षित बनाएको छ ।

नेपाली सेनाले निर्माण गरेको पार्क र विभिन्न भ्यू टावरहरूले यहाँको पर्यटक आकर्षणमा थप आयाम थपेका छन् । मौलाकाली मन्दिर, झडेहवा दरबार, धैरेनी गुफा, सौहगडी मन्दिर र ढुंगेबगैँचा माथागढीका थप आकर्षक गन्तव्यहरू हुन् । माथागढी जानको लागि रुपन्देहीको खैरेनीबाट अफरोड बाटो तथा पैदल पनि जान सकीन्छ हाईकिङ्ग मन पराउनेहरुलाई पनी यो अवुर पनि हो ।

संस्कृति र चाडपर्वको विशेषता
माथागढीको मगर समुदायले संरक्षण गर्दै आएको कौडा, झाम्रे र सोरठी जस्ता मौलिक संस्कृतिहरू पर्यटकका लागि सांस्कृतिक आकर्षण हुन् । वडाहरूमा विशेष गरी दशैं, तिहार, चैते दशैंमा विशेष कार्यक्रमहरू आयोजना हुने गर्छन् ।

पूर्वाधार र सामाजिक सेवा
गाउँपालिकामा हालसम्म २५ किलोमिटर पक्की, ३८ किलोमिटर ग्राभेल र १३१ किलोमिटर कच्ची सडक सञ्जाल विस्तार भइसकेको छ । शिक्षा क्षेत्रमा १ स्नातक क्याम्पस, १३ माध्यमिक विद्यालय, २१ प्राथमिक विद्यालय र ४१ बाल विकास केन्द्रहरू छन् । स्वास्थ्य क्षेत्रमा ७ स्वास्थ्य चौकी, १ आयुर्वेद औषधालय, ७ बर्थिङ्ग सेन्टर र ७ स्वास्थ्य प्रयोगशालाहरू सञ्चालनमा छन् ।

भविष्यको योजना र आशा
माथागढी गाउँपालिकाले पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास र संस्कृति संरक्षणमार्फत स्थानीय विकास र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । अध्यक्ष चिदी भन्छन्, ‘पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै लैजाँदा माथागढी केवल पाल्पाको मात्र होइन, लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ ।’

यात्रा जानकारी
–स्थानः पाल्पा जिल्ला, माथागढी गाउँपालिका
–उचाइः १,९३६ मि
– दूरीः बुटवलबाट ४२ किमी
– यात्रा माध्यमः अफरोड/हाइकिङ्ग (खैरेनीबाट)
प्रमुख गन्तव्यहरूः कौडेलेक, मौलाकाली मन्दिर, ओलेस गाउँ, धैरेनी गुफा, झडेहवा, जितगढी किल्ला, ढुंगेबगैँचा आदि ।