बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु

मेचीकाली संवाददाता

१६ कार्तिक २०८२, शनिबार
30 shares

बुटवल । रुपन्देहीको बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ । एक महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षका सतिशकुमार क्षेत्रीको रहस्यमय मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका–९ स्थित होटलमा शनिबार दिउँसो एक जोडी दुई बच्चासहित बसेका थिए । प्रहरीका अनुसार क्षेत्रीले होटलको दोस्रो र तेस्रो तलामा दुई वटा कोठा बुकिङ गरेका थिए । क्षेत्री बेहोस भएको भन्दै उनीसँगै होटल पुगेकी महिलाले जानकारी गराएकी थिइन् । उनलाई तत्काल एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरीले जनाएको छ ।

बाहिरी चोटपटक केही नभएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए । ‘दुई बच्चासहित बुटवल–२ पाखापानीकी ३० वर्षकी सुनार थरकी महिला र ति पुरुष होटलमा बसेको खुलेको छ,’ उनले भने, ‘बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न सकेको छैन ।’ माथिल्लो तलाको कोठामा सँगै बसेर मासु र मदिरा सेवन गरेपछि उनीहरूको तल्लो तलाको कोठामा बसेको खुलेको छ । होटलमा हरेक दिनजसो अनैतिक क्रियाकलाप हुदै आएको स्थानीयले बताउदै आएका छन् ।

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर हुन् । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले घटनाबारे जानकारी पाएपछि आफू होटलमा पुगेको भए पनि मृत्युको कारण नखुलेको बताए ।