त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे लाइट बिग्रिँदा विमानहरु भैरहवा र पोखरातिर किन डाइभर्ट भएनन् ?

फ्लाइट सेडुअल नभएको र तत्कालीन जोखिम बहन गर्न सक्ने सुनिश्चितता नभएकाले भैरहवा र पोखराम विमान डाइभर्ट नभएका हुन्

मेचीकाली संवाददाता

२५ कार्तिक २०८२, सोमबार
43 shares

अमृत गिरी

बुटवल । भैरहवामा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको केही वर्ष भइसक्यो । तर, यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा सुनसान जस्तै छन् । अर्बौं लागतमा बनेका विमानस्थल सुनसान हुँदा यसक्षेत्रको समग्र पर्यटन उद्योग प्रभावित भइरहेको छ ।

यसैक्रममा शनिबार साँझ करिब ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा केही समस्या भयो । जसले ठुला विमानहरु आकासमै दुई घण्टासम्म होल्ड भएर थेग्न नसक्ने भएपछि छिमेकी मुलुक भारत र बंगलादेशका विमानस्थलतिर डाइभर्ट भए । रनवे/एरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक खराबी आएपछि घण्टौंसम्म उडान–अवतरण ठप्प हुँदा धेरैतिर एकसाथ असर प¥यो । रनवे एरियफिल्ड लाइटिङमा शार्ट सर्किट/इलेक्ट्रिकल फेल भएपछि उत्पन्न भएको समस्याले आधा दर्जनभन्दा धेरै अन्तर्राष्ट्रिय उडानका ठुला विमानहरू भारत र बंगलादेशका शहरतर्फ डाइभर्ट भए ।

दिल्ली, ढाका, लखनउलगायतका सहरका विमानस्थलमा विमानहरु डाइभर्ट गरिए । कतार एअर र नेपाल एअरलाइन्सका विमानहरु आकासमै झण्डै दुई घण्टा जति होल्ड भए । नेपाल एअरलाइन्स, कतार एअरवेज, गल्फ फ्लाइहरु, फ्लाई दुबईलगायतका आधा दर्जनभन्दा धेरै अन्तर्राष्ट्रिय उडानहरू डाइर्भट भएपछि यात्रुहरु मर्कामा परे ।

कोरियन एअरको एक उडान इन्धन कम भएपछि दिल्लीतर्फ डाइभर्ट भयो भने अरु कैयन् विमानहरु लखनउलगायतका सहरमा डाइभर्ट भए । केही घरेलु उडानहरू नजिकैका विमनस्थलमा पुगेपनि अरु कुनैपनि विमानहरु अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरामा भने डाइभर्ट भएनन् ।

धेरैले सामाजिक सञ्जालमा प्रश्न उठाए– भैरहवा र पोखरा विमानस्थलमा किन डाइभर्ट गरिएनन् ? एयरलाइन्सहरुका अपरेशनल निर्णय नै किन भैरहवा र पोखराका लागि भएनन् ? इन्धन/वेट, ग्राउण्ड–सपोर्ट, कस्टम/इमिग्रेशन सुविधाहरु, रात्री–ल्यान्डिङ्ग योग्यता, एसओपी र नजिकको ठुला अन्तर्राष्ट्रिय हबमा तत्काल पहुँच सहज हुने वातावरणको संयोजन के भैरहवा र पोखरामा हुन सक्तैन ? यस्ता प्रश्नहरु उठे ।

त्रिभुवन विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले सेडुअल फ्लाइट नभएका ठाउँमा अन्तर्राष्ट्रिय उडानहरु डाइभर्ट नभएको र यस्तो नियम उडानअगावै सम्बन्धित विमान कम्पनीले नै तय गर्ने गरेको बताए । उनले पोखरा र भैरहवा ती ठूला विमानको नियमित फ्लाइट सेडुअलमा नभएका कारण यस्तो भएको उल्लेख गरे ।

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि यन्त्र, उपकरण र इन्धनको प्रबन्ध छ तर सबै विमान कम्पनीका प्राविधिक र कर्मचारीहरु छैनन् । उनीहरुका सम्पर्क कार्यालय समेत यी विमानस्थलमा छैनन् । यसअघि यी विमानस्थलमा उडान अवतरण नै नगरेका विमानहरुमा अनुभवसमेत नहुने भएकाले यी दुवै विमानस्थल ठुला हबको विकल्प बनिसकेका छैनन् ।
विमानस्थलका प्राविधिकहरुका अनुसार ग्राउन्ड–ह्यान्डलिङ, इमिग्रेसन/कस्टम्स र एप्रन स्पेस, एयरलाइनको परिचय/रूट–रिजिम र इन्धन/क्रु नियम, छोटो समयमा समन्वय जोखिम, प्रभावित यात्रु र व्यवस्थापन सबै कुराको यकिन उडान अगावै नै गरेका हुन्छन् ।

उडान भर्नुअघि नै विमानका कम्पनी र एअरलाइन्सहरुले प्लान गरेका हुन्छन् । उडानमा समस्या भएमा के गर्ने, गन्तव्यमा पुग्नुअघि समस्या आएमा कुन विमानस्थलमा आकस्मिक अवतरण गर्ने, कहाँ प्राविधिक चेकजाँचको प्रबन्ध राम्रो र इन्धनको सहज सुभल प्रबन्ध छ त्यो यकीन विमान कम्पनीहरुले उडाउने पाइलटसँगै प्लान गरेका हुन्छन् र क्याप्टेनले सोहीअनुसारको उडान भर्ने हो । ठुला र प्राविधिक हिसाबले सक्षम विमानस्थलहरु जहाँ छन् र प्राविधिक समस्या भएमा तत्काल उपलव्ध हुने जहाँ प्रबन्ध छ त्यहीँ डाइभर्ट हुनु सामान्य मानिन्छ ।

यसो भनिरहँदा के भैरहवा र पोखरामा त्यस्तो प्राविधिक प्रबन्ध छैन् त भन्ने प्रश्न उठ्छ । हो, यी विमानस्थलमा पनि प्रबन्ध त छ तर ती ठुला देशका ठुला सहरका ठुला विमानस्थलमा जस्तो सहज र सुलभ छैन । यहाँ ती सबै विमान कम्पनीका कर्मचारी र प्राविधिक छैनन् र अक्कल झुक्कल आउने विमानका पनि न्यून मात्रामा प्राविधिक र कर्मचारी छन् । विमानस्थलका अनुसार अहिले भैरहवामा दुईवटा अन्तर्राष्ट्रिय विमान कम्पनीका केही कर्मचारीहरु मात्रै रहेका छन् ।

हालसम्म ५६२ उडान, एक वर्षमा १२ हजार ७८७ यात्रु आगमन, ११ हजार १११ प्रस्थान
सन् २०२४ नोभेम्बर ३ देखि भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो । विमानस्थलमा हालसम्म कुल पाँच सय ६२ वटा उडान र अवतरण भएका छन् । यो सन् २०२४ जुलाई १६ देखि सन् २०२५ जुलाई १६ सम्मको तथ्यांक हो । हालसम्म यहाँबाट १२ हजार ७ सय ८७ यात्रुको आगमन भएको छ भने ११ हजार एक सय ११ यात्रु प्रस्थान गरेको सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । यो तथ्यांक आव २०८१/८२ को हो ।

उडान सुरु भएको चार महिनामै उडान रोकियो तर केही चार्टर्ड उडान भने भएका थिए । १४ अप्रिल २०२५ देखि १४ मे २०२५ सम्म भैरहवाबाट १२ वटा उडान अवतरण भएका छन् । मे महिनामा सबैभन्दा धेरै उडान र अवतरण भए । त्यो महिनामा ६ वडा चाटर्ड उडान भएका थिए । यस्तै जुन महिनामा ४, जुलाई महिनामा ४ वटा चाटडै उडान र अवतरण भएको विमानस्थलका सूचना अधिकारी रावतले जानकारी दिए ।

भैरहवामा ल्याण्डिङ, पार्किङ, नेभिगेशन पूर्ण रुपमा छुट दिइएको छ । यात्रु सेवा शुल्कमा पनि पूर्ण छुट दिइएको छ । ग्राउण्ड हेण्डलिङमा नेपाल वायु सेवा निगममलाई ७५ प्रतिशत छुट, इन्धनमा सबै विमानलाई १ किलो लिटर (१०० डलर) छुटको व्यवस्था गरिएको छ । अहिले भैरहवाबाट थाइ एअर एसियाले साताको दुईवटा मात्रै उडान गरिरहेको छ । हरेक साताको आइतबार र बुधबार यो विमानले यहाँबाट उडान भर्दै आएको छ । हालसम्म यसका उडान पाँच वटा मात्रै भएको र अब पर्यटक आगमनको सिजन सुरु भएकाले पनि यसको उडान उपयोगी हुने दाबी विमानस्थलको छ ।

‘भैरहवाले डाइभर्ट होइन, नियमित उडान खोजेको हो’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा प्रवक्ता श्यामकिशोर साहले भैरहवाले डाइभर्ट नभई नियमित उडान खोजेको बताए । ‘हामीलाई डाइभर्ट होइन नियमति उडान चाहिएको हो । यहाँ एकैछिन डाइभर्ट भएर के हुने हो र ? केही हुँदैन बरु हामीलाई त नियमित उडान नै हुनुपर्छ नि’ प्रवक्ता साहको भनाइ छ ।

प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्रावल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन । काठमाडौँ केन्द्रित ठुला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने उनको बुझाइ छ । यसका लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ ।