बुटवल । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नहुने निर्वाचनको पार्टीले पैरवी नगर्ने बताएका छन् । सरकारका क्रियाकलाप निर्वाचन गर्नतर्फ नभएको बताउँदै निर्वाचन आयोगले भन्दैमा आउँदो फागुन २१ गते गर्ने भनिएको चुनाव नहुने दावी गरे । प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले चुनावबाट नभाग्ने बताउँदै अहिले चुनौतीपूर्ण क्षणको निकास प्रतिनिधिसभा पुनस्थापना भएको स्पष्ट पारे ।
‘केही राजनीतिक दलले जेनजी रिसाउलान भनेर चुनाव भनेका छन्,’ लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले भने, ‘एमालेको स्पष्ट अडान छ । यो सरकार चुनावका लागि होइन, निर्वाचन गराउँदा पनि गराउँदैन । २०५९ जस्तो वैधता नपाउने चुनावको अर्थ छैन ।’ चुनावको महत्वपूर्ण शक्ति प्रहरीको हतियार खोसिएका छन् । ‘कैदीबन्दी र प्रहरीका लुटिएका हटियारले समाज त्रसित छ । जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ । प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव हुन सम्भव देखिँदैन ।’
अहिलेको सरकारले राजनीतिक दलसँग संवाद र छलफल गर्न नचाहनुले चुनाव गराउन अहिलको सरकार चाहदैन भन्ने स्पष्ट रहेको पोखरेलको भनाइ थियो । देशलाई संवैधानिक बाटोमा हिडाउनको लागि प्रतिनिधिसभा पुनसंस्थापना, संविधान संशोधन गरेर युवाका माग संवोधन गरी अर्ली चुनावमा जान सकिने पोखरेलको धारणा छ । उनले संसद् पुनस्थापना सडक र अदालत दुवैले गर्न सक्ने इतिहास रहेको पोखरेलको भनाइ छ ।
संसद् पुनस्थापनाको माग लिएर एमाले आन्दोलनमा गएपछि पार्टीमा उत्साह देखिएको उनको दावी छ । उनले जेनजीका नाममा गएको भदौ २३ र २४ गते भएको हिंसात्मक घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । २३ र २४ गतेको घटना फरक फरक व्याख्या गरिएको बताउँदै त्यो सही नभएको उनको भनाइ छ । दुई दिनको हिंसात्मक आन्दोलनले मुलुक दशकौ पछाडि फर्किएको बताउँदै पोखरेलले आन्दोलनमा अराजकताबादी र बाह्य शक्तिले भडकाएको बताए । ‘डिप स्टेट फर्मुलाबाट देशमा सो घटना घटाइएको छ । डिप स्टेटका हर्ताकता आन्दोलनको अगुवाई गरेर यसबाट प्रष्ट हुन्छ आन्दोलन कहा र कोबाट परिचालित थियो भन्ने ।’ उनले भने ।
पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देश अस्थित रहिरहने बताए । ‘देशमा दुई शक्तिको धुव्रीकरण हुन जरुरी छ । देशमा धेरै दल होइन बलिया दलको खाचो छ । पछिल्लो समय दल दर्ता गर्ने जुन लहर छ । यसले पनि देशलाई अस्थिरतातर्फ लैजान्छन् । वास्तविकता यहीँ हो ।’
