बुटवल । रुपन्देही उद्योग संघले आगामी पुस ३ गतेदेखि बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरी यसको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ लुम्बिनी प्रदेशको उद्योग तथा व्यापार प्रवद्र्धन र सांस्कृतिक तथा सामाजिक विकास गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको प्रदर्शनी मूल समिति संयोजक तथा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए । ‘संघको पहलमा वि.सं.२०४५ सालदेखि थालनी गरेको प्रदर्शनीको अभियानले पछिल्ला दिनहरुका नयां रुप धारण गर्दै आएको छ ।’ अध्यक्ष पराजुलीले भने ।
बुटवल मण्डपमा निर्माणाधिन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनी पुस १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, आइटीलगायतका करिव ५०० स्टल राखिने छ । प्रदर्शनीको करिब ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको कारोबार हुने अनुमान गरिएको छ । प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार सिर्जजना, गोष्ठी र अन्तक्र्रिया पनि पनि सञ्चालन हुनेछन् ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन् । निर्माणाधीन आधुनिक प्रदर्शनी स्थलमा आधुनिक स्तरकै स्टल निर्माण गर्न लागिएको अध्यक्ष पराजुलीले बताए । प्रदर्शनी औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम हुनेछन् ।
मेलालाई अहिलेसम्म भएका मेलाभन्दा धेरै फरक र उत्कृष्ट बनाउने गरी तयारी गरिएको र त्यसको लागि उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिने संघका महासचिव सुमन बश्यालले जानकारी दिए ।
प्रदर्शनी अवधिभर लोकदोहोरी प्रतियोगिता, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेजस्तरीय अन्तरकलेज वक्तृत्वकला प्रतियोगिता, लोकभजन प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक प्रमोसन प्रतिस्पर्धाहरु रहने छन् ।
