कमल पन्थी
उमेरले नौ दशकमा प्रवेश गरेकी डाडाँ माथिको जुन जस्तै माता हाम्रो सामु हुनुहुन्छ । माता पहिला चरा हुनुहुन्थो अहिले गुँड बन्नु भएको छ । केही दिनअघि उहाँकै उपस्थितिमा पिताजीको श्राद्ध सम्पन्न गरियो । जहाँ राम त्यहाँ अयोध्या! पिताजीको श्राद्ध सकेर फर्कंदै गर्दा मनले भन्यो–आज मैले केवल आफ्ना पिताजीको सम्झना मात्र गरिनँ, आफूभन्दा अघिल्लो पुस्तासँगको आफ्नो सम्बन्धलाई पनि फेरि एकपटक अनुभूत गरेँ । मनमा अनेक प्रश्नहरू उब्जिए । मृत्यु के हो ? हामीले पितृलाई किन सम्झन्छौँ ? श्राद्ध गर्नुको वास्तविक अर्थ के हो ? अनि पुस्तौँदेखि चलिआएको सोह्रश्राद्धको हाम्रो जीवन र संस्कृतिसँगको सम्बन्ध के हो ? यही अनुभूतिले मलाई मृत्यु, पितृ र सोह्रश्राद्धका विषयमा केही लेख्न मन लाग्यो ।
‘जातस्यही ध्रुवो मृत्यु’ अर्थात् जसको जन्म भएको छ उसको मृत्यु निश्चित छ । आयु,भाग्य,सम्पती,विद्या र मृत्यु यी पाँच कुरा मानिसले आमाको गर्भवाट नै लिएर आएको हुन्छ भन्ने मान्यता छ । सबैले बुझेको कसैले पनि अनुभूति नगरेको रहस्य हो मृत्यु।मृत्यु अन्तिम सत्य हो । साश्वत सत्य हो।मृत्यु भनेको चेतनासून्य, हृदय सुन्य अनि अनुभुति सून्य हुनु हो । जन्मले भन्दा मृत्युले बढी महत्व राख्छ । मृत्यु असम्भावी र पीडादायी हुन्छ । फेरि मृत्यु अन्तिम सत्य पनि हो । हामीहरु यही अन्तिम सत्यलाई स्वीकार गर्दै आएका छौँ । स्वीकार गर्न वाध्य पनि छाँै किनभने विधाताले भाग्यका लिपीद्वारा समग्र जीवनको कार्यतालिका लेखी पनि त दिन्छन।हामीले गुमाएका सवै अभिभावकहरु पितृ हुनु भएको छ । उहाँहरु हामी बस्ने पृथ्वीमा हुनु हुन्न । उहाँहरु भुवर्लोकमा अर्थात पृथ्वीभन्दा माथिको लोकमा विराजमान हुनु हुन्छ भन्ने कुरा हाम्रा शास्त्रमा वर्णित छ । त्यहाँबाट नै आफ्ना सन्ततीहरुलाई आशीर्वाद दिइरहनुभएको छ ।
हामी हाम्रा अविष्मरणिय पूर्वजहरुप्रति कृतज्ञ छौँ । कृतज्ञ हुनु केवल धन्यवाद मात्र भन्नु होइन, यो त जीवनलाई बुझ्ने र सम्मान गर्ने तरिका पनि हो । यो सुन्दर धर्तिमा जीवन पाएर आउनु हाम्रा मातापिताको देन हो।जन्ममात्र होईन संस्कार, ज्ञान,विवेक समेत प्राप्त गरेका छौँ । जीवित होउन्जेल स्याहारसुसार, माया ममता, रेखदेख गर्नु असल सन्ततिको कर्तव्य हो भने मृत्युपश्चातको कर्तव्यको पालनालाई धार्मिकविधि अर्थात श्राद्धवाट अभिव्यक्त गर्दछौँ ।
मृत्युलाई हेर्ने दुई दृष्टिकोण
१) भौतिकवादी दृष्टिकोणःजीवात्मा मरेपछि पुरै जीरो हुन्छ । प्रकृतिमा हराउँछ । स्वर्ग नर्क केही हुँदैन । नपूर्वजन्म हुन्छ,नत परजन्म हुन्छ । ।जीवको अस्तित्व जन्मदेखि मृत्युसम्म मात्रै हुन्छ । मृत्युपछि जीवको अस्तित्व सदाकालागि समाप्त हुन्छ ।
२)अध्यात्मवादी दृष्टिकोणःमृत्यु जीवनको अन्तिम टुंगो होइन,देहत्याग पछि पनि जीवन रहिरहन्छ । जीवले मृत्युपछि जीवनभरि गरेका कर्मको संस्कार अर्थात् जीवनको नक्सा Blue Print of life लिएर जाने गर्छन् । जन्म–मरणको चक्र निरन्तर चल्ने मान्यता राख्छ । पञ्चभौतिक पदार्थ र शरीर सबै मिथ्या र परिवर्तनशील छन् । जुन आत्मा छ त्यो मात्र नित्य अपरिवर्तनशील र शाश्वत छ । मृत्यु केवल भौतिक शरीरको अन्त्य हो, अस्तित्वको अन्त्य होइन ।
पितृ र पितृतर्पण
दिवंगत भएका आफ्ना पुर्खाहरु पितृ हुन् । पितृ आफ्ना मूल स्रोत हुन् जसरी जराविना रुखको अस्तित्व रहँदैन त्यस्तै पितापूर्खा विना हाम्रो अस्तित्व रहँदनै । आफ्नो वंशका पिता,पितामह र प्रपितामहसहित तिनका पत्नीहरु,मातृवंशका मातामह, प्रमातामह र वृद्ध प्रमातासहित तिनका पत्निहरुलाई पितृ भनिएको छ । तर्पण भनेको तृप्त पार्ने काम हो । पितृहरुका निम्ति अर्पण गरिने कुशसहितको जलाञ्जली वा पितृहरुका निमित्त दिइने तर्पण नै पितृतर्पण हो ।
अर्पण, तर्पण र समर्पण हाम्रो संस्कृति हो । परमात्मामा आफू भित्रका कलुषित भावलाई अर्पण गर्ने र पितृहरुलाई सामग्रीसहित श्रद्धा र विश्वासको तर्पण दिने सवैलाई ईश्वरको अंश सम्झिएर समर्पण गर्ने हाम्रा नियम हुन् । ’देवताले दिए पनि पितृले हर्छन्’ भन्ने लोकोक्तिदेखि समाज निकै सचेत छ । पितृहरु रिसाए विध्न हुन्छ,परिवारमा अशुभ हुन्छ भनेर सवै संवेदनशील रहेको पाइन्छ ।
जन्मजात तीन ऋणहरु: समय सापेक्ष परिभाषा
पितृ ऋण,ऋषि ऋण र देव ऋण गरी तीन ऋणहरु जन्मजात लाग्ने ऋणहरु हुन भनेर हाम्रो हिन्दू सनातनी धर्मशास्त्रमा उल्लेख गरिएकोछ । यी तीन ऋणहरु जीवनमा अनिवार्य गर्नुपर्ने दायित्वहरु पनि हुन।हामीले हाम्रो जीवनमा यी ऋणहरुबाट मुक्त हुनुपर्छ । पितामाताको स्याहारसंभार गरेर पितृ ऋणबाट, रुची अनुसारको शिक्षा प्राप्त गरी शिक्षित भई असल नागरिक बनेर ऋषि ऋण र देवताका लागि गरिने जप, तप, यज्ञ, व्रत पूजा ,पाठ आदि गरेर अर्थात अध्यात्मिक ज्ञान, दानी, सहयोगी, समाज सेवी बनेर देव ऋण मोचन गरी मोक्ष प्राप्त गर्न सकिन्छ ।
श्राद्धः पितृको आदर,सम्मान र स्मरण नै श्राद्ध हो । श्राद्धको अर्थ श्रद्धा हो । आफ्ना पितृहरु प्रतिको श्रद्धा हो । जो श्रद्धापूर्वक दिइन्छ, सम्पन्न गरिन्छ वा अनुष्ठान गरिन्छ त्यो श्राद्ध हो । श्रद्धापूर्वक नगरिएको कर्म कदापी श्राद्ध हुँदैन । श्राद्धमा श्रद्धा र पवित्रता हुनुपर्छ । पितृहरु शुद्ध वचन,देवताहरु शुद्ध भाव चाहन्छन।श्राद्धमा शुद्ध् वचन हुनुपर्छ । श्राद्ध कर्म सुपठित र संस्कृत भाषा अध्ययन गरेकोपरो हित अपेक्षतः इति पुरोहितः अर्थात् जसले अरुको हित सम्झेर ज्ञान दिन्छ, कर्म सिकाउँछ र आवश्यकताअनुसारको धार्मिक अनुष्ठान विधिपुर्वक र शास्त्रसम्मत गराउदछ ऊ नै पुरोहित हो । पितृपूजाले कूल र मूललाई सुरक्षा गर्छ । श्राद्धका दिन मुख्य गरेर पितृ तृप्तिका लागि जल दान(तर्पण)आमान्न (सिधा दान),पिण्डदान र ब्राह्मण तथा इष्टमित्रसहितको भोजन हो।मध्यान्हकाल,खड्गपात्र (खगौतो),नेपाली उनवाट बनेको राडी,चाँदी,कुश,तिल,गाई र नाति (छोरीको छोरो) श्राद्धमा आवश्यक आठ कुराहरु भनिएको छ। फलाम र फलाम जन्य भाडावर्तन वर्जित गरिएको छ ।
पुर्खा दिवसः चीन
मृत व्यक्तिको सम्झना गरी उसको पुण्यतिथीमा केही न केही शुभकर्म गर्ने चलन प्रायः सर्बत्र पाइन्छ । चीनमा मृत्युवरण गरिसकेका व्यक्तिहरूलाई परिवार तथा आफन्तले वर्षको दुईपटक सम्झिन्छन् । एकपटक सम्बन्धित व्यक्ति मरेको तिथिको दिन, अर्कोपटक अप्रिलको पहिलो सातामा पर्ने पुर्खा दिवसका दिन । यो दिन चिनियाँहरू दिवंगत भइसकेका आफ्ना पूर्वज तथा आफन्तहरूको स्मृतिमा बनाइएको चिहानमा जान्छन् । चिहान वरिपरि झार उखेलेर सफा गर्छन् र चिहानमाथि नयाँ माटो थपेर श्रद्धाञ्जली दिन्छन् ।
त्यति मात्र होइन,दिवंगत मानिसलाई मनपर्ने परिकारहरू पनि राखिदिन्छन् । मौसम अनुसारका फलफूल, घरमै बनाइएका खानेकुरा, जुस लगायत चिहान माथि राखेर’भोक र तिर्खा लागेमा खानू है’ भनेर प्रार्थना गर्छन् । दिवंगत मान्छेको रूचि ध्यान दिएर खानेकुराहरू चिहानमाथि राखिन्छ । त्यो व्यक्ति जिउँदो हुँदा चुरोट खान्थ्यो भने केही प्याकेट चुरोट राखिन्छ । रक्सी खान्थ्यो भने रक्सीका बोतल राखिन्छ । महिला तथा पुरूषका रोजाइ अनुसार सामानहरू राखिदिने चलन छ । यही भएर त चिनियाँ नेता अध्यक्ष माओको स्मृतिमा चुरोटका थाक राखिन्छ । माओ चुरोटका अम्मली भएकाले उनीप्रतिको श्रद्धास्वरूप चुरोट चढाइएको हो । (चेतनाथ आचार्य बेइजिङ डायरी)
धर्मशास्त्रमा वर्णित प्रचलित श्राद्धका प्रकारहरुः
वैदिक धर्मावलम्वी समुदायमा पुराण तथा ऋषिमहर्षिका मतअनुसार श्राद्धका प्रकार पृथक पृथक पाइन्छ । यहाँ केही प्रचलित श्राद्धको वारेमा चर्चा गर्ने प्रयास गरिएको छ । जुन व्यक्ति,समय,स्थान, विशेषअनुसार गर्ने गरिन्छ ।
-सपिण्डीकरण श्राद्धःमरेको बाह्रौ दिनमा मृतकलाई पिण्डदान दिदा पिण्डलाई तीन पुस्ताका सपिण्डिसंग मिलाउने वा जोड्ने श्राद्ध कर्म ।
-नैमित्तिक श्राद्धःमातापिता आदिमध्ये कसैको मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध
-पार्वण श्राद्धः अमावश्यमा गरिने अथवा पर्वहरुमा गरिने श्राद्ध हो । मृतकको रोकिएको तिथि अमावश्य तिथि र पितृपक्ष जस्तो पर्व विशेषमा गरिने श्राद्ध पार्वण श्राद्ध हो । यसमा तीनवटा पितृहरु खासगरी पिता पितामह र प्रपितामहलाई लक्ष्यित गरि श्राद्ध गरिन्छ । यो अपरान्ह अर्थात दिउसोको समयमा गर्नु उत्तम भनिएको छ ।
-नान्दीमुख श्राद्धःशुभकार्यको प्रारम्भमा गरिने मांगलिक श्राद्ध । यो श्राद्ध गरे पछि आयोजना गरेको विवाह व्रतवन्धलगायतका धार्मिक अनुष्ठानहरु जति अवधिका भएपनि विचमा जुठो (आशौच), सूतक परे पनि नलाग्ने भन्ने सामाजिक प्रचलन रहेको छ । यो बिहानको समयमा गर्नु उत्तम भनिएको छ ।
-गोष्ठी श्राद्धःसामाजिकरुपमा अनेक विद्वान्हरुले एकसाथ मिलेर सुख सम्पती र पितृहरुको तृप्तीका लागी सामूहिक रुपमा गरिने श्राद्धतर यसको आधिकारिक निकायवाट विरोध भइरहेको छ । यसरी श्राद्ध गर्दा पितृहरुको उद्धार नहुने भनिन्छ ।
-नित्य श्राद्धः दिनदिनै गरिने श्राद्ध नित्य श्राद्ध हो । आजको व्यस्त जीवनमा अधिकांश गृहस्थीलाई संभवना निकै कम हुन्छ ।
-काम्य श्राद्धःअभीष्ट (इच्छा वा अभिलाषा) सिकालागी गरिने श्राद्ध ।
– तीर्थश्राद्ध एवं गयाश्रद्ध ।
सोह्र श्राद्ध
आश्विनकृष्ण प्रतिपदा देखि औसीसम्मको अवधिलाई पितृपक्ष मानिएको छ । पितृपक्ष जस्तो पर्व विशेषमा गरिने पार्वण श्राद्ध हो । यसको समापनलगत्तै महत्वपूर्ण पर्व एवं साधनाको चरण शुरु हुन्छ । बडादशै, शुभदिपावली, छट, श्रीपञ्चमी जस्ता महत्वपूर्ण पर्वको आगमन हुन्छ । हामीहरु कुनै महत्वपूर्ण अनुष्ठान गर्नुभन्दा पहिला पितृहरुलाई स्मरण गर्न श्राद्ध गर्ने गर्छौँ ।
सोह्र श्राद्धको कथा महाभारतका एक प्रमुख पात्र दानवीर कर्णसँग सम्बन्धित छ । कर्णको मृत्युपश्चात उनको आत्मा स्वर्गमा पुग्छ । स्वर्गमा ठुलो सम्मान हुन्छ तर खाना खाने बेलामा भोकाएका कर्णलाइ सुनको थालमा राखेर सुन नै खानका लागि दिइन्छ । सुन खाने कुरा भएन,अति भोक लागेपछि कर्णले स्वर्गका राजा इन्द्रसँग आफूलाई खानाको साटो किन सुन दिइयो भनेर सोध्छन् । कर्णले सधै सुन मात्रै दान गरेकाले खानाको रूपमा सुन पाएको जवाफ पाउँछन् । दानी भनेर कहलिएका कर्णले कहिल्यै कसैलाई खाना,बस्त्र जस्ता कुरा दान गरेका हुँदैनन् । अब के गर्ने?इन्द्रसँगको सल्लाहमा कर्ण स्वर्गबाट १६ दिनका लागि पृथ्वीमा आएर भोजन र पानी दान गर्छन् ।
यसरी जीवित रहदा अन्न पानीको शरीर भनिएझै पितृहरुलाइ पनि भोजन र जल चढाउने गरिन्छ । जीवित रहँदा व्यक्तिका अवगुण र कमजोरी भए पनि सबै बिर्सेर गुणमात्रै सम्झने जुन नेपाली समाजको चरित्र छ त्यो श्राद्धको प्रभावसंग सम्वन्धित हो जस्तो देखिन्छ । विधिपूर्वक र आफ्नो शक्ति अनुसार श्रद्धाद्वारा प्रशन्न तुल्याइएका पितृहरुले आफ्ना सन्ततीहरुलाई आयु, सन्तान, धन, विद्या, सुख, स्वर्ग र मोक्ष प्रदान गर्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । ॐ पितृदेवताभ्योनमः (सन्दर्भ सामग्रीः निर्णयसिन्धु र शिवलिंगभित्रको विज्ञान लगायत विभन्न आलेखहरु)
