मेचीकाली दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत

मेचीकाली संवाददाता

१६ मंसिर २०८२, सोमबार
217 shares

बुटवल । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७९/८० को पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको नतिजा सोमबार सार्वजनिक गरेको छ । उक्त नतिजाअनुसार रुपन्देहीको बुटवलबाट प्रकाशित हुँदै आएको मेचीकाली सन्देश राष्ट्रिय दैनिक निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुन सफल भएको छ ।

वि.सं. २०६२ सालदेखि हालसम्म निरन्तर राष्ट्रिय ‘क’ वर्गमा सूचीकृत हुँदै आएको मेचीकाली सन्देश राष्ट्रिय दैनिक काठमाडौं बाहिरबाट प्रकाशित हुने एक मात्र राष्ट्रिय स्तरको दैनिक पत्रिका रहेको छ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण मूल्याङ्कन प्रतिवेदनको आधारमा पत्रपत्रिका वर्गीकरण मूल्याङ्कनको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो ।

नतिजा उपर चित्त नबुझेको खण्डमा आधारप्रमाण सहित १५ दिनभित्र र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा पुनरावलोकनको लागि निवेदन दिन सकिने प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीले जानकारी दिए । आर्थिक वर्ष ०७९/०८० को वर्गीकरण मूल्याङ्कनका लागि देशभरबाट ८९४ पत्रपत्रिकाले आवेदन दिएका थिए ।