भूमि आयोग खारेजी सर्वोच्चद्वारा बदर

मेचीकाली संवाददाता

१६ मंसिर २०८२, सोमबार
13 shares

–सत्ता फेरिँदा आयोग खारेज हुने परम्परामा रोक लगाउँदै सर्वोच्च अदालतको सकारात्मक हस्तक्षेप, रिजाल नेतृत्वको आयोग पुनःसक्रिय हुने बाटो खुल्यो ।
–२०४७ देखि १९ आयोग बन्दै, खारेज हुँदैको चक्र, यसपटक न्यायालयको हस्तक्षेपले राजनीतिक अस्थिरताबाट मुक्त हुने अपेक्षा ।

अमृत गिरी
बुटवल। सर्वोच्च अदालतले सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय बदर गर्दै आयोग पुनः यथास्थितिमा रहने आदेश दिएको छ । यो आदेशसंगै सुकुम्बासी समस्या समाधानका लागि यसअघि भएको पहलले सार्थकता पाउने आशा पलाएको छ ।

न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिट जारी हुने प्रकारको ठहर गर्दै खारेजी निर्णय असंवैधानिक भएको निष्कर्ष निकालेको हो । यसलाई रिजालले जनताका पक्षमा सकारात्मक फैसला भन्दै स्वागत गरेका छन् । साथै उनले अब पहिलेको भन्दा पनि अरु धेरै उत्साह र जाँगरका साथ काम गरेर तोकिएको समयसीमा भित्रै काम सक्नेगरि लाग्ने बताएका छन् ।
सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले २३ असोजमा मन्त्रिपरिषद्को निर्णयमार्फत भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला संरचना खारेज गर्ने विवादास्पद निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अध्यक्ष रिजालले कात्तिक ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए भने खारेजीको निर्णयको चातर्फी विरोध पनि भएको थियो ।

रिट दायर भएपछि सर्वोच्चले प्रारम्भिक रूपमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो भने पछि पूर्ण अन्तरिम आदेशमार्फत आयोगको गतिविधि रोक्न नपाइने व्यवस्था मिलाएको थियो । सोमबार जारी भएको आदेशले सरकारले खारेज गर्ने गरेको निर्णयलाई नै बदर गरिदिएको छ ।
पछिल्लो पटक १३ कात्तिक २०८१ मा पुनर्गठित गरिएको आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी लाई जग्गा दर्ता र प्राप्तिको अन्तिम अवसर भन्दै देशव्यापी रूपमा काम अघि बढाइरहेको थियो भने कैयौं ठाउँमा पुर्जा समेत वितरण गरिसकेको थियो । तर सरकारको खारेजी निर्णयसँगै आयोगको काम रोकिएको थियो । सर्वोच्चको सोमबारको फैसलासँगै आयोग पुनः सक्रिय रूपमा अघि बढ्न मार्ग खुला भएको छ भने समस्याको दीर्घकालीन समाधान हुने आशा पलाएको छ ।

आयोगले १ लाख ३ हजार बढी भूमिहीन र सुकुम्बासीको निवेदन संकलन, ८ हजारभन्दा धेरै परिवारलाई लालपुर्जा वितरण, १ लाख लालपुर्जा वितरणका लागि अन्तिम तयारी गरिरहेका बेलामा आयोग खारेज गर्ने निर्णय गरेको रिजालले दाबी गरेका छन् ।
१९ वटा आयोग बन्दै खारेज हुँदै
भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नेपालले पटक–पटक आयोग र समिति गठन गर्दै आएको छ । तर विडम्बना—तीमध्ये १९ वटा आयोग तथा समितिहरू मध्ये कुनै पनि दीर्घकालीन समाधान दिन नपाई राजनीतिक परिवर्तनसँगै एकपछि अर्को खारेज भएका छन् । पछिल्लो समय समेत संवैधानिक आयोग नै सरकार फेरिएसँगै खारेजीमा परेपछि सुकुम्बासी समस्या पुनः अनिश्चिततामा धकेलिएको थियो । तर, सोमबार सर्वोच्च अदालतले गरेको फैसलाले उक्त अनिश्चिततालाईं कम गर्ने आशा पलाएको छ ।

अब अधुरो नहोस् समाधान
विसं.२०४७ सालदेखि २०८२ असोज २३ गतेसम्म नेपालमा भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका नाममा १९ पटक आयोग तथा समिति गठन र पुनर्गठन गरिएको छ । तर, कुनै पनि आयोगले आफ्नो काम पूरा गर्न नपाई खारेजीको चक्र चलिरहेको छ । अन्तरिम सरकारले २०८२ असोज २३ गते रिजाल नेतृत्वको संवैधानिक आयोग खारेज गरेको थियो जसलाई सोमबार अदालतले बदर गरिदियो । यसअघि पनि देवीप्रसाद ज्ञवाली र केशव निरौला नेतृत्वका संवैधानिक आयोगहरू सरकार परिवर्तनसँगै खारेजीमा पर्न बाध्य भएका थिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी युवराज अर्यालका अनुसार नेपालको पहिलो सुकुम्बासी समस्या समाधान समिति २०४७ चैत १८ गते तत्कालीन मन्त्री द्रोणप्रसाद आचार्यको अध्यक्षतामा बनेको थियो । त्यसपछिः २०४९ मा शैलजा आचार्य नेतृत्वमा समिति, २०५१ मा ऋषिराम लुम्साली, २०५२ मा मन्त्री नेतृत्वको समितिलगायत दर्जनौँ पुनर्गठन र खारेजी प्रक्रिया निरन्तर चलिरहेका छन् । तर, समस्या भने उस्तै छ । अनौपचारिक तथ्यांकअनुसार हालसम्म बनेका आयोगहरूले ४४ हजार बिघाभन्दा बढी जमिनको लालपुर्जा वितरण गरे पनि सुकुम्बासी समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन ।

अदालतले जनताको पक्षमा फैसला गरेको छ
न्यायलयले संवैधानिक विषयको मूल्य मान्यतालाई आत्मसात गर्दै जनताको पक्षमा आदेश गरेको छ । यसले आयोगलाई मात्रै होइन समस्त भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका जनताका पक्षमा न्याय भएको हामीले ठहर गरेका छौं । यो जरुरी पनि थियो ।

हरि रिजाल
अध्यक्ष, भूमि समस्या समाधान आयोग

अब न्यायलयको आदेशलाई कार्यान्वयन गर्ने दायित्व आयोगको मात्रै होइन, तीन तहका सरकार, सरकारका अंगहरु र नागरिक अगुवा समेतको हो । यसका लागि आयोगले स्पष्ट दिशानिर्देशका साथ काम गर्नेछ, अभ, उत्साहित र सक्रिय भएर काम गर्नेछ । जनताको हक अधिकारको संरक्षण र संवैधानिक व्यवस्थालाई न्यायालयले जसरी स्थापित गरिदिएको छ । अदालतको यो फैसलाले सकारात्मक नजिर बसाउने छ । अब आयोगले सबै जिल्लामा पहिले भन्दा अझ उत्साहित भएर काम गर्नेछ, सबैसंग समन्वय गर्नेछ र आगामी दुई वर्ष सम्ममा काम सक्नेग।रि लाग्नेछ ।

सरकारले सहयोग नगरे के गर्नुहुन्छ ? भन्ने मेचीकालीको प्रश्नमा अध्यक्ष रिजालले भने–सरकारले खारेज गर्ने जुन आवेगकको निर्णय गरेको थियो त्यसलाई अदालतले सच्याइदिएको छ र अब पनि सरकारले फेरि पूर्वाग्रह राख्छ भनेर कल्पना गर्न सकिन्न र यस्तो हुँदैन पनि । जनताको पक्षमा बरु अझ बढि सक्रिय र पारदर्शी भएर काम गर्नेछ भन्ने अपेक्षा छ । (आयोगका अध्यक्ष रिजालसँग टेलिफोनमा गरिएको कुराकानीका आधारमा)