अब्बल वित्तीय संस्थामा स्थापित सामूहिक विकास सहकारी

मेचीकाली संवाददाता

६ पुष २०८२, आईतवार
21 shares

बुटवल । सहकारी क्षेत्रमा बचत अपचलन र अनियमितता बढिरहेका बेला रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारीले राम्रो मुनाफा आर्जन गर्दै सदस्यहरूको मन जितेर आफूलाई देशकै अब्बल सहकारीको रूपमा दर्ज गरेको छ । जसले सहकारी स्थापनाको मूल मर्मलाई आत्मसात् गर्दै ठुला बैंक तथा वित्तीय संस्थासम्म सरल पँहुच नभएका तर आर्थिक अवस्था सुधारमा प्रयास गरिरहने समुदायबाट स–साना रकम संकलन गर्दै सामुहिक पूँजी निर्माण गरी विभिन्न पेशा–व्यवसायमा आबद्ध भएका तथा पेशा–व्यवसाय गरी आत्मनिर्भर हुन चाहने व्यक्ति तथा समुदायलाई ऐक्यवद्ध गर्दै सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न सफल भएको छ ।

वि.सं. २०५० सालमा २६ जना शेयर सदस्यको अगुवाइमा शंकरनगरमा २ हजार ६ सय शेयर पुँजी जम्मा गरेर सहकारी संस्था सुरु भएको थियो । बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रूपन्देहीको पहिलो सहकारी थियो । मासिक २ सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो शेयर पुँजी र कारोबार हुने सहकारी बन्न पुगेको छ । सहकारीमा करिब १२ हजार ३५० शेयर सदस्य पुगेका छन् । रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीको शंकरनगरमा आफ्नै सुविधासम्पन्न मुख्य कार्यालय भवन रहेको छ । यस्तै सहकारीले तिलोत्तमा नगरपालिका–७ भलबारी, शुद्धोधन गाउँपालिका–४ फर्साटिकर र बुटवल उपमहानगरपालिका–८ शुक्रपथमा सेवा केन्द्र सञ्चालन गरी सहज सेवा दिँदै आएको छ । सहकारीले हरेक वर्ष आफ्नो कारोबार र नाफा बढाउँदै लगेको छ ।

सामूहिक विकास सहकारीको ३१ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । अधिकांश कर्जा व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए । कृषिजन्य उद्यम, व्यवसायका अतिरिक्त सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको उनको भनाइ थियो । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने उनको भनाइ थियो । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरी सदस्यहरुबिच विभिन्न वित्तीय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधियुक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने कुरालाई उनले जोड दिए ।

साधारणसभामा संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक रघुनाथ ढकालले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष पार्थमणि आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला र प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा पटक–पटक पुरस्कार र सम्मान पाएको सहकारीका वरिष्ठ व्यवस्थापक ईश्वरी मरासिनीले बताए । आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ । आधुनिक बैंकिङ्ग सेवाअन्तर्गत एटिएम, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग क्यूआर कोड, कनेक्ट आइपिएसलगायतका सेवाहरू सञ्चालनमा ल्याएको छ ।

कार्यक्रममा सहकारीका उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, ज्येष्ठ नागरिक शेयर सदस्य, उद्यमी सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । साथै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरी लगायतलाई पनि सम्मान गरिएको थियो ।
रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा हाल १२ हजार ३५० जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ३२ करोड २८ लाख ४० हजार ८ सय रुपैयाँ रहेको छ भने २ अर्ब ५५ करोड ८१ लाख ६६ हजार ७८९ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले बताए । संस्थामा शेयरधनीहरुको जम्मा निक्षेप २ अर्ब ७० करोड १३ लाख ६८ हजार ६४४ रुपैयाँ रहेको छ । राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी संस्थालाई साधारण सभा सञ्चालनका लागि दिएको निर्देशन अरुसार छोटो स्वागत मन्तव्यपश्चात एजेण्डामा प्रवेश गरीएको संस्थाका सचिव मिनप्रसाद पोख्रेलले बताए ।

अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्णः लिला गिरी
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले मुलुककोे अर्थतन्त्र चलायमान बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । सहकारीले बचत संकलन सँगसँगै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने उनले बताए । ‘सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरेर समग्र मुलुकको विकास गर्नुपर्छ । उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुन्छ । यसले हाम्रो परनिर्भरता घट्छ ।’ पूर्व मुख्यमन्त्री गिरीले भने ।

कृषिबाटै आयात घटाउने, निर्यात बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको उनले बताए । कैयन् सहकारी तथा वित्तीय संस्थाहरुमा अपचलन भएका, सञ्चालकहरु भागेका, कालो सूचीमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै नेता गिरीले सामूहिक सहकारी भने अलग पहिचानका साथ सुरक्षित र स्तरीय वित्तीय संस्थाका रुपमा स्थापित भएको उल्लेख गरे ।